arrow

आठ महिनामा ९८ अर्ब जीवन बीमा शुल्क, तीन कम्पनीको व्यापार घट्यो, स्याचुरेसनको दिशामा नेपाल लाइफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
nepal-beema-pradhikaran.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आठ महिनामा बीमा कम्पनीहरुले ९८ अर्ब रुपैयाँ बीमा शुल्क उठाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म सञ्चालनमा रहेका १४ जीवनबीमा कम्पनीहरुले सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । 

अघिल्लो वर्षको सोही अवधिमा ती कम्पनीहरुले ९२ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । अहिलेको यो शुल्क अघिल्लो वर्षको तुलनामा ६.८८ प्रतिशत बढी हो । 

यो अवधिमा संकलित बीमा शुल्कमध्ये तीन वटा आईएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क सर्वाधिक बढेको छ । उक्त कम्पनीको बीमाशुल्क ३१.८२ प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको हो । 

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क २८.४५ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुग्दा प्रभु लाइफ इन्स्योरेन्सको बीमाशुल्कमा २०.३५ प्रतिशत वृद्धि भइ २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै, एसियन लाइफको बीमाशुल्क १३.५५ प्रतिशतले बढेर ५ अर्ब १५ करोड पुग्दा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पनि यो अवधिको बीमाशुल्कमा दोहोरो अंकको वृद्धि हासिल गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले भने यो वर्ष बीमा शुल्कमा दोहोरो अंकको वृद्धि गर्न सकेन । कम्पनीको बीमाशुल्क ९.९० प्रतिशतले बढ्दा यो अवधिमा नेपाल लाइफले २६ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको जनाएको छ । 

यो अवधिमा २ अर्ब ३६ करोडको व्यवसाय गरेको नेपाल लाइफलाई पहिलोपल्ट व्यवसाय वृद्धिमा नेशनल लाइफले जितेको छ । 

नेशनल लाइफले यो अवधिमा २ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार बढाएको छ । 

त्यस्तै जीवन बीमा कम्पनीमध्ये विदेशी ज्वाइन्ट भेञ्चर भएको एलआईसी नेपालको बीमाशुल्क ४ प्रतिशतले बढेर ११ अर्ब ५७ करोड पुगेको छ । 

मर्जरमा गएको सूर्य ज्योति लाइफले अघिल्लो वर्ष छुट्टाछुट्टै कम्पनीले गरेको कुल शुल्कको तुलनामा अहिले २.५१ प्रतिशतले बीमा शुल्क संकलन बढाएर ५ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । 

त्यस्तै, अर्को ज्वाइन्ट भेञ्चर जीवन बीमा कम्पनी मेटलाइफको आम्दानी १.७ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड हुँदा तीनवटा बीमा कम्पनीहरु मिलेर बनेको हिमालयन लाइफले ०.७५ प्रतिशत मात्रै बीमाशुल्क वृद्धि गर्न सकेको छ । 

सो कम्पनीले यो अवधिमा ११ अर्ब १८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो ।

तीन कम्पनीको बिजनेस नकारात्मक

यो अवधिमा रिलायबल लाइफ, सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । राष्ट्रिय बीमा संस्थानबाट केही समयअघि मात्रै बीमा कम्पनीमा रुपान्तरण भएको यो कम्पनीको बीमा शुल्कमा २१.७४ प्रतिशतको गिरावट आएर बीमाशुल्क ५ अर्ब २३ करोडमा झरेको छ । 

त्यस्तै, सन नेपाल लाइफको बीमाशुल्क ९.२९ प्रतिशतले घटेर २ अर्ब ४७ करोड तथा रिलायबल लाइफ इन्स्योरेन्सको बीमाशुल्क १.२९ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।

दोस्रो हुने प्रतिस्पर्धामा तीन कम्पनी

बीमा शुल्कका आधारमा दोस्रो हुने प्रतिस्पर्धामा अहिले तीनवटा कम्पनी रहेका छन् । एलआईसी नेपाल, नेशनल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स ११ अर्ब भन्दा माथि चुक्ता पुँजीसहित सो स्थानको प्रतिस्पर्धामा रहेका हुन् । 

अहिले एलआईसी नेपाल दोस्रो स्थानमा रहे पनि बीमा शुल्क वृद्धिका आधारमा नेशनल लाइफ आगामी दिनमा दोस्रो स्थानमा पुग्ने देखिन्छ । पहिलो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । 

उक्त कम्पनी दोस्रोका लागि प्रतिस्पर्धा गरिरहेका अन्य कम्पनीभन्दा अहिले पनि दोब्बर भन्दा बढी व्यवसायको अवस्थामा छ ।  

यद्यपि घट्दो बोनस दर र बढ्दो सरेन्डरका कारण यतिबेला नेपाल लाइफको व्यवसायको वृद्धि निकै घटेको देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ