arrow

तेस्रो पक्ष बीमा पुलबाट शिखर इन्स्योरेन्स बाहिरियो, पुलको अस्तित्वमै संकट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
nia-shikhar-insurance.jpg

काठमाडौँ । बीमकहरू बीचको आन्तरिक मतभेदका कारण तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) पुलको अस्तित्व संकटमा परेको छ । निर्जीवन बीमा कम्पनीहरूको छाता संस्था नेपाल बीमक संघभित्रको विवादले चार वर्षदेखि सञ्चालन हुँदै आएको बीमा पुल खारेज हुने अवस्थामा पुगेको हो । 

योसँगै तेस्रो पक्ष बीमाको नाममा हुने अस्वस्थ्य प्रतिस्पर्धा शुरु हुने देखिएको छ । निर्जीवन बीमा कम्पनीमध्येकै सबैभन्दा ठूलो बजार हिस्सा रहेको शिखर इन्स्योरेन्स उक्त पुलबाट बाहिरिएको छ । 

शिखरले चैतदेखि आफ्नो कम्पनीमार्फत् बिक्री गरेको तेस्रो पक्ष बीमालेखको हिसाबकिताब पुललाई बुझाउन छाडेको कम्पनी स्रोतले जनाएको छ । अब शिखर इन्स्योरेन्समार्फत् भएका तेस्रो पक्ष बीमाको लाभ र जोखिम शिखर आफैँले व्यहोर्नेछ । 

संघले २०७६ माघदेखि तेस्रो पक्ष बीमा पुल सञ्चालनमा ल्याएको थियो । उक्त पुल अन्तर्गत नेपालभर हुुँदै आएका सबै तेस्रो पक्ष बीमाको व्यवस्थापन हुँदै आएको थियो । 

खासगरी सबै यातायात व्यवस्था कार्यालय बाहिर सबै बीमा कम्पनीको काउन्टर राख्ने प्रवृत्ति हटाउन पुल उपयोगी थियो । कम्पनीहरूले सहमति अनुसार काउन्टर राख्दै आएका थिए । 

अहिले देशभर ३० वटा यातायात कार्यालय छन् । ती कार्यालयमा कोटा अनुसार ग्राहकलाई विकल्प दिन बढीमा ३–४ वटा बीमा कम्पनीका मात्रै काउन्टर हुने गरेका छन् । त्यस्तो बीमाको लाभ वा हानि भने कम्पनीहरूले सामूहिक रुपमा व्यहोर्दै आएका थिए । 

पुलको प्रारम्भिक सहमति अनुसार बीमालेख बिक्री गर्ने बीमकले बीमा शुल्कको ५ प्रतिशत रकम कट्टा गरेर बाँकी ९५ प्रतिशत पुलमा पठाउने गरेका थिए । 

उक्त रकम मध्येबाट २० प्रतिशत पुनर्बीमाका लागि पठाइन्छ । बाँकी रकम भने पुलले राख्दै आएको छ । उक्त रकमबाट बीमा दाबी भुक्तानी दिएपछि बाँकी रहेको रकम कम्पनीहरूले बाँडेर लिँदै आएका थिए । 

यसरी प्राप्त हुने नाफाको रकममध्ये ३५ प्रतिशत रकम पुलमा आवद्ध कम्पनीहलाई दामासाहीमा बाँडिदै आएको थियो । 

बाँकी ६५ प्रतिशत रकम पुलमा आवद्ध सबै बीमा कम्पनीलाई सम्बन्धित कम्पनीको बजारहिस्साको आधारमा बाँडफाँट गरिन्थ्यो । यसरी पुलमार्फत् बीमा गर्दा अस्वस्थ्य प्रतिस्पर्धा हट्ने र दाबी भुक्तानीमासमेत केही हदसम्म एकरुपता विश्वास गरिएको थियो । 

किन छाड्यो शिखरले पुल ?
२०७६ साल माघमा तेस्रो पक्ष बीमा पुल सञ्चालन गर्दा नेपाल बीमक संघको अध्यक्षमा दीपप्रकाश पाण्डे थिए । उनकै पहलमा तेस्रो पक्ष बीमाको अस्वस्थ्य प्रतिस्पर्धा हटाउन बीमा पुलको व्यवस्था गरिएको थियो । 

त्यतिबेला पुलको व्यवस्थापक कम्पनी शिखर इन्स्योरेन्स रहेको थियो । २०७८ सालमा भएको अधिवेशनमा बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भए । 

उनले कोष व्यवस्थापकको जिम्मा शिखरबाट हटाएर सगरमाथा कम्पनीमा सारे । अहिले सगरमाथा इन्स्योरेन्स लुम्बिनी जनरल इन्स्योरेन्सँग मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बनेको छ । सोही कम्पनीले अहिले कोष व्यवस्थापकको काम गर्दै आएको छ । 

त्यसरी कोष व्यवस्थापक फेरिएपछि संघका केही पदाधिकारीले पुलमा एकलौटी गरेको र निवर्तमान अध्यक्षसँग सामान्य शिष्टाचारपूर्ण व्यवहारसमेत नगरेको भन्दै शिखरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाण्डे असन्तुष्ट रहँदै आएका थिए । यद्यपि उनले पुल छाडेका भने थिएनन् । 

पुस अन्तिममा संघको कार्यसमितिको दुई वर्षे कार्यकाल सकिएको छ । यद्यपि नयाँ अधिवेशन भएको छैन । 

राजनीतिक संगठनमा जस्तो अधिवेशन लम्ब्याएर नेतृत्वमा बसिराख्ने प्रवृत्ति देखिएको र पुलको सञ्चालनमासमेत एकलौटी हुँदै आएको तथा पुलमा असमान व्यवहार हुन थालेको भन्दै सीईओ पाण्डेले पुलबाट बाहिरिने निर्णय गरेका हुन् । 

‘पुल व्यवस्थापक परिवर्तन भएपछि नै हामीलाई अप्ठ्यारो महसुस भएको थियो । कुनै कम्पनीको दाबी भुक्तानी छिटो हुने तर कसैको ढिला गर्ने, भुक्तानी पाउनै अप्ठेरो हुने जस्तो समस्या पनि थियो’, शिखर इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘अहिले बीमक संघमा अधिवेशन पनि नभएको र पुलको गतिविधि पनि निष्पक्ष नभएको जस्तो देखिएकोले आफैँ गर्ने भन्ने कुरा भएको हो । केही समयदेखि यहाँको बिजिनेस पुलमा पठाइएको छैन ।’ 

शिखर इन्स्योरेन्सकी सूचना अधिकारी सविता मास्केले भने बीमा पुलबाट बाहिरिने आधिकारिक निर्णय भएकोबारे आफूलाई थाहा नभएको बताइन् । ‘अहिले पनि पुलबाट नै काम भइरहेको जस्तो लाग्छ, अहिलेसम्म मलाई आधिकारिक रुपमा सूचना आएको छैन’, उनले भनिन् । 

यसबारे सीईओ पाण्डेसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । उनी अहिले व्यक्तिगत कामका लागि बिदामा रहेको सूचना अधिकारी मास्केले बताइन् । 

कम्पनीले आधिकारिक रुपमा बाहिरिएको स्वीकार नगर्नुले व्यवस्थापकको कार्यशैली सुधार्ने तथा संघमा नयाँ अधिवेशनका लागि दबाब बढाउने उद्देश्य रहेको बुझ्न सकिन्छ ।

के हुन्छ पुल परित्यागको असर ? 
बीमा पुलबाट बाहिरिएसँगै अब उक्त कम्पनीले पुलमा बाँकी रहेका बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ । योसँगै अहिले काउन्टर नभएका यातायात कार्यालय वरपर शिखरले काउन्टर विस्तार गर्नेछ । यसले तेस्रो बीमाको अस्वस्थ्य प्रतिस्पर्धा बढाउँछ । 

नियामक निकाय बीमा प्राधिकरण भने बीमा पुलमा रहने वा नरहने विषयमा कम्पनीहरू स्वतन्त्र रहेकोले यसमा केही हस्तक्षेप नगर्ने बताउँछ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तेस्रो पक्ष पुल बीमा कम्पनीहरूले नै मिलेर बनाएको भन्दै आवश्यकताका आधारमा यसमा रहन वा बाहिरिन उनीहरू स्वतन्त्र रहेको बताउँछन् । 

‘तेस्रो पक्ष बीमा पुलबाट बाहिरिएको कुरा आधिकारिक रुपमा हामी कहाँ आउँदैन, आएको पनि छैन । उहाँहरूले आवश्यकता हुँदा पुल बनाएर काम गर्नुभएको थियो । अहिले आवश्यक छैन छुट्टै प्रतिस्पर्धा गर्छु भनेर कसैलाई लाग्छ भने हामीले केही भन्ने कुरा हुँदैन’, अध्यक्ष सिलवालले भने, ‘यो आवश्यकताको आधारमा हुने हो । पहिले पनि हामीले वैदेशिक रोजगार पुल बनाएका थियौँ । पछि औचित्य सकिएकोले त्यो खारेज गर्यौं । तेस्रो पक्ष बीमा पुल यस्तै हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ