arrow

भन्सार र आन्तरिक राजश्वमा नयाँ महानिर्देशक, बजेट लेख्ने कमाण्ड शाक्यलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
tiwari-baral-shakya.jpg

काठमाडौँ । देशको राजश्व उठाउने प्रमुख जम्मेवारी रहेका आन्तरिक राजश्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक बनेका छन् । अर्थमन्त्री वर्षमान पुनले महत्वपूर्ण दुई विभागमा नयाँ जिम्मेवारी तोकेका हुन् । 

यस अनुसार आन्तरिक राजश्व विभागको महानिर्देशकमा शिवलाल तिवारी नियुक्त भएका छन् । यसअघि उनी वातावरण विभागका महानिर्देशक थिए । मंगलबार तिवारीलाई मन्त्रालयमा तानेर आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बराललाई वातावरण विभागमा पठाइएको थियो । बराल करिब २ महिनाअघि मात्रै राजश्वमा सुरुवा भएर गएका थिए । 

त्यस्तै भन्सार विभागको महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई तोकिएको छ । उनी यसअघि नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानमा प्रमुख थिए । सो स्थानमा शोभाकान्त पौडेल थिए, उनलाई अहिले मन्त्रालयमा तानिएको छ । अहिले उनको जिम्मेवारी तोकिएको छैन । 

बजेट लेख्ने कमाण्ड रितेश शाक्यलाई 
आर्थिक वर्ष २०८१–८२ को बजेट लेख्ने जिम्मेवारी रितेश शाक्यले पाएका छन् । हाल राजश्व व्यवस्थापन महाशाखाका प्रमुख रहेका शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा सरुवा गरिएको हो । बजेट महाशाखामा हाल रहेका उत्तरकुमार खत्रीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ । 

उता योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका धनीराम शर्मा राजश्व व्यवस्थापन महाशाखामा पुगेका छन् । मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायणप्रसाद सापकोटालाई अर्थ मन्त्रालयमा तानिएको छ । उनलाई जिम्मेवारी दिन बाँकी छ । 

त्यस्तै सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्य मन्त्रालयमा तानिएका छन् । उता भन्सारबाट तानिएका पौडेललाई जिम्मेवारी दिन बाँकी छ । अब अर्थ मन्त्रालय रहेकामध्ये ३ जना सहसचिव बाहिरिने छन् । त्यसमध्ये एकजना तालिम केन्द्रमा र बाँकी २ जना अर्कै मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयमा सरुवा हुनेछन् । 

अहिले मन्त्रालय अन्तर्गत ९ वटा महाशाखा, तीनवटा विभाग र महालेखा नियन्त्रकको कार्यालय तथा सार्वजनिक वित्त व्यवस्थापन कार्यालय रहेका छन् ।

महालेखा नियन्त्रक सचिव स्तरका कर्मचारीको नेतृत्वमा हुन्छ भने सार्वजनिक वित्त व्यवस्थापन कार्यालय सहसचिवको नेतृत्वमा हुने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ