गुल्मी।गुल्मीको मुसिकोट र वामी आवत जावत गर्न स्थानीय बासिन्दाहरुले बढिघाट खोलामा अस्थायी रुपमा फड्के निर्माण गरेका छन् । गत साउन महिनामा बढिघाट खोलामा अविरल बर्षा सँगै आएको बाढीले झोलुङ्ग पुल बगाएपछि वामीटक्सारका झण्डै आधा दर्जन विद्यालयमा अध्ययन गर्ने मुसिकोट र बडागाँउ गरि २ गाविसका विद्यार्थीहरुको पढाईमा थप समस्या भएपछि स्थानीय बासिन्दाहरुले मुसिकोट र वामी जोड्ने सुदीघाटमा स्थानीय काठ र बाँसको प्रयोग गरि करिव ७ दिन लगाएर ५ सय भन्दा बढि मानिसहरुको जनश्रमदानबाट बढिघाट खोलामा झण्डै २५ मिटर लामो अस्थायी फड्के निर्माण गरिएको समाजसेवी विष्णु बहादुर खत्रीले जानकारी दिए ।
यसरी मुसिकोट ६ का स्थानीयबासीहरुको सक्रितामा अस्थायी फड्के निर्माण गरेपछि विद्यार्थीहरुलाई मात्र नभएर आम सर्वसाधरण व्यापारी,खेती किसानी,मजदुरी गर्ने आम सर्वसाधरणहरु र आफ्नो स्थानीय वामीटक्सार बजारमा गई दैनिकी घरायासी सर सामानहरु किनबेच तथा वित्तिय कारोवार लगायतमा सहजता भएको समाजसेवी खत्रीले जानकारी दिए ।
यस्तै विगत ५ महिनादेखि झोलुङ्गे पुल बगाएपछि अन्य पुलमा पुगेर घुमाउँरो र लामो बाटो भएर घण्टौ समय लगाएर आफ्ना बालबच्चाहरुलाई हातमा डोर्याउदै दैनिक विद्यालय सम्म लैजान र ल्याउन जादा अभिभावकहरुलाई निकै समस्या भइरहेका बेला स्थानीयबासीहरु तत्काल झोलुङ्गे पुल निर्माण हुन केही महिना लाग्ने भएपछि आफ्ना बालबच्चाहरु पढाईमा सहजता ल्याउन र अन्य बजार व्यवसाय गर्न र घरायासी कामकाजको लागि पनि जोखिम मोलेर बडो दुःख र मिहेनतका साथ अस्थायी फड्के निर्माण गरेका छन् ।
उक्क्त फड्के निर्माणमा वामी १ का वासिन्दाहरु तथा वामी भयरथुम बेश क्याम्पका नेपाली सेनाहरु लगायतले समेत सहयोग पुर्याएका थिए । यस्तै सुदीघाटमा खोलो तर्ने फड्के निर्माण भएपछि मुसिकोट र वामी गाविसको सम्वन्ध थप नजिक बनेको छ ।
साथै सोहि फड्केको बाटो भएर गुल्मी तथा बाग्लुङ्गका झण्डै १ दर्जन गाविसबासीहरुलाई आ–आफ्ना गन्तव्यमा पुग्न समेत सहजता थपेको छ । फड्के निर्माणसँगै दैनिक सयौ मानिसहरु सोहि फड्के हुदै आवत जावत गर्ने गरेका छन् ।