arrow

निलम्बित सांसद साह पुर्पक्षको लागि कारागार पठाइए

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
sanjaya-kumar-saha.jpeg
काठमाडौं । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगमा आरोपी धनुषा क्षेत्रनम्बर ४ का निलम्बित सांसद सञ्जयकुमार साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश सुनाएको छ । गत तीन दिनदेखि जारी दुईपक्षीय बहसपछि, ६ नम्बर इजलासका न्यायधीश दीपककुमार दाहालको इजलासले मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भनि भन्न नसकिने हुँदा पछि ठहरे बमोजिम हुने गरी’ हाललाई मुद्दा पुर्पक्षको निमित्त कारागार पठाउने आदेश सुनाएका हुन् ।
 
मृतका छोरा राहुल सिंघानियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त कर्तव्य ज्यान मुद्दामा जाहेरवालाको तर्फबाट अधिवक्ता विपिनकुमार झा, हेमबहादुर कार्की तथा सरकारी वकिल अजित कर्णले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिवक्ता श्यामकुमार मिश्र, मंसूर राईन, प्रकाश घिमिरे, दीपेन्द्र साह तथा स्वयं सञ्जयकुमार साहलसमेतले बहस गरेका थिए ।
 
२०६६ फाल्गुन १७ गते फागु पूर्णिमाको दिन उद्योगी नवल मुरारकाको घरमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भई फिर्ता जाँदै गरेको बेला शिवचोकमा सिंघानियाको टाउकोमा गोली प्रहार गरि हत्या गरिएको थियो ।
 
जिल्ला प्रहरी कार्यालय धनुषाले सरकारी वकिल कार्यालय मार्फत दर्ता गरेको अभियोगगपत्रमा ११ जनालाई आरोपी ठहर गरेको छ । 
 
आरोपीहरुमध्ये निलम्बित सभासद सञ्जयकुमार साह, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, अंशी राईन, ओमप्रकाश यादव, रामकरण यादव, मनक लामा र रामविनोद यादवसहित ८ जना पक्राउ परिसकेका छन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ