arrow

पश्चिम नेपाल आन्दोलन : 'शीर र शरीर'को विच्छेददेखि बुद्धभूमि हत्याउनेसम्मको भय !

टुक्रिँदाको फाइदा र घाटा के ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ मंसिर २० सोमबार
prades-FIVE.jpeg
काठमाडौं । प्रस्तावित ५ नं प्रदेशका तराईका जिल्लालाई पहाडबाट छुट्टाउने सरकारी प्रस्तावसँगै अहिले पश्चिम नेपालमा एक सातादेखि तनावग्रस्त छ । संविधानमा उल्लेख भएको उक्त सिमाङ्कनलाई संविधान संशोधनमार्फत् सच्याउन खोजिएपछि ५ नं प्रदेशका सर्वसाधारणहरु आन्दोलनमा उत्रिएका हुन् । 
सरकारले मंगलबार बेलुका संविधान संशोधनका लागि संसद सचिवालयमा दर्ता गरेको मस्यौदामा प्रदेश नम्बर ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमलाई प्रदेश नं ४ मा राख्न गरेको प्रस्ताव प्रति पाल्पाका सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । अहिलेको संविधानमा ५ नं प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया रहने उल्लेख गरेको छ । 
 
यसरी विरोधमा उत्रिनेहरुको एउटै भनाई छ ‘आर्थिक सुदृढीकरणका लागि पहाडलाई तराई र तराईलाई पहाडको आवश्यकता रहेको छ ।’ पक्कै पनि पहाडको पर्यटकीय स्थल र तराईको कृषि उब्जाउ भूमि भएको प्रदेश आफैंमा समृद्ध बन्न सक्छ । आन्दोलनमा उत्रिएका निजी क्षेत्रका प्रतिनिधिहरुसँग कुुरा गर्दा उनीहरु कुनैपनि हालतमा प्रदेश टुक्रिन नदिने अडानमा देखिन्छन् । विद्यार्थीहरु विद्यालय जान छाडेर आन्दोलनमा गएका छन् । किसानहरु काममा जान छाडेर आन्दोलनमा गएका छन् त उद्योग व्यवसायीहरु समेत सम्पूर्ण काम छाडेर आन्दोलनमा मसाल समाउन पुगेका छन् । किन हो त ? 
 
निजीक्षेत्रका प्रतिनिधिहरु भन्छन् रुपन्देही र कपिलबस्तु आर्थिक रुपमा एकदमै महत्वपूर्ण जिल्लाहरु हुन् । बुद्धको जन्मभूमि समेत रहेको कपिलबस्तु जिल्ला पर्यटकीय मात्रै नभएर कृषि उत्पादनका दृष्टिले पनि एकदमै महत्वपूर्ण जिल्ला हो । अरु केही नभएको खण्डमा यो क्षेत्रलाई राम्रोसँग प्रचारप्रसार गर्ने हो भने बुद्ध भूमिबाट नै प्रदेशले आफूलाई चाहिने खर्च धान्न सक्ने उनीहरु बताउँछन् । त्यससँगै कपिलबस्तु र रुपन्देही जिल्लामा रहेका विभिन्न पर्यटकीय नगरीहरु पनि आर्थिक स्रोतका अनुपम धरोहरहरु हुन् । त्यसैले यस्तो भूमि अर्कै प्रदेशमा गाभ्ने सरकारको प्रस्ताव विरूद्ध त्यहाँ आन्दोलन सुरु गरिएको हो ।  
 
त्यस्तैगरी, औद्योगिक दृष्टिले रुपन्देही जिल्लाले पनि छुट्टै महत्व बोकेको छ । रुपन्देही जिल्लामा रहेको एक दर्जन भन्दा बढी ठूला उद्योगहरु पनि अहिलेको जारी आन्दोलनको कारण हो । त्यहाँ एसआर स्टील्स, अग्नी सिमेन्ट, अम्बे स्टील्स, पञ्चकन्या स्टील्स,  रिलायन्स सिमेन्ट, एसआर फुड्स, लुम्बिनी पीएसी इन्डस्टिज, जगदम्बा सिमेन्ट, एस के उद्योग, विशाल सिमेन्ट, मायोज चाउचाउ, एशियन फर्मास्यूटिकल्स, सिद्धार्थ फर्मास्यूटिकल्स, ग्रेस फर्मास्यूटिकल्स, एप्पल इन्टरनेशनल फर्मास्यूटिकल्स लगायतका उद्योगहरु रहेका छन् । 
 
त्यस्तैगरी, पर्यटकीय दृष्टिले पनि रुपन्देही र कपिलबस्तु जिल्ला एकदमै महत्वपूर्ण मानिन्छ । लुम्वनी बुद्धको जन्मभूमि हो ।  सन् १९९७ सालमा विश्व सम्पदा सूचीमा परेको उक्त क्षेत्र बुद्ध धर्मालम्बीहरुको उद्गमविन्दू हो ।  हजारौं पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा रहेको लुम्बिनी क्षेत्रलाई पश्चिम नेपालका पाल्पा गुल्मी र अर्घाखाँचीहरुले छाड्नै नसक्ने जनाउ दिएका छन् । 
 
त्यस्तै, सिद्धबाबा मन्दिर रुपन्देही र पाल्पाको बीचमा पर्दछ । पाल्पा र रुपन्देहीमामा दुईवटा शिव मन्दिर रहेको रहेका छन् । यी दुबै मन्दिरहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छ । यहाँपनि पर्यटकहरुको घुँईचोे लाग्ने गरेको छ । यसबाहेक पनि सतिया माई मन्दिर, मणि मुकुन्द सेन पार्क, पारोह बोलबम धाम लगायतका क्षेत्र रुपन्देही जिल्लाको लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । 
 
त्यस्तैगरी, कृषि उत्पादनको लागि पनि कपिलबस्तु लगायतका तराईका जिल्लाहरु अत्यन्तै उर्भरा भूमि रहेको छ । यी र यस्तै सम्भावनाहरुका दृष्टिले अहिले जतिपनि आन्दोलन चर्किरहेको छ । त्यसको अन्य कारणहरु भन्दा महत्वपूर्ण कारण रुपन्देही र कपिलबस्तु मोहले हो भन्ने स्वतन्त्र बुझाई रहेको छ । 
 
आन्दोलनमा संलग्न एक उद्यमीसँग कुरा गर्दा उनले सीधै भने कि ‘भारतले सधैं बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै आएको छ । अझ तराईमात्रैको प्रदेशमा लुम्बिनी छाडियो भने त्यसपछिको अवस्था के होला ? आफैं सोच्नुस् न’ उनको बुझाईमा यो लुम्बिनीलाई दुई पक्षले तानातान गरिरहेको आरोप लगाए । 
 
उता, उद्योग वाणिज्य संघका अध्यक्षहरु भने यस्तो कुुरा सीधा नभनेपनि शीर र शरीर छुट्टाउन नहुने प्रतिक्रिया दिन्छन् । हाम्राकुरासँग कुराकानी गर्दै उनीहरुले ५ नं प्रदेशको शीर पहाड रहेको र तराई शरीर रहेको भन्दै शीर र शरीरको क्षेदन गराउने हो भने न शीरको काम लाग्छ न त शरीरको नै त्यसैले टाउको र शरीरसँगै राख्नको लागि आन्दोलन गरिएको बताउँछन् । 
 
अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो आन्दोलन हिममाल र पहाडबीचको दूरी टाढा बनाउने खेल रहेको भन्दै यसको विरोधमा लाग्नु परेको बताएका छन् । यो कुनैपनि राष्ट्रवादी सरकारले गर्नै नसक्ने कुरा भन्दै एउटै शीरलाई बीचमा काटेर शरीर चल्न नसक्ने धारणा व्यक्त गरे । उनले आर्थिक रुपमा पनि प्रदेश छुट्टाउँदा मुलुक र विशेषगरी अहिलेका ४ र ५ प्रदेशलाई घाटाा लाग्ने भएकोले विरोध गरेकोे उनले स्पष्ट पारे । 
 
उता, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले यो रोटीबेटीको सम्बन्ध रहेको र एक विना अर्काै बाँच्नै नसक्ने तराई र पहाडलाई छुट्टाएर सरकारले के गर्न खोजेको भन्दै प्रतिप्रश्न गरे । उनले स्थानीयको सहमति विनाको काम सफल हुँदैन भनेर प्रमाणित गराउन पनि यो आन्दोलन गरिएको उनले जानकारी दिए ।  
 
त्यस्तै, गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दूर्गा प्रसाद पाण्डेले हरेक दृष्टिले तराई छुटएको पहाड बलियो हुन नसक्ने भन्दै आफूहरुको आन्दोलन, आफ्नो समेद्धिको लागि नै रहेको स्पष्ट पारे । पहाड र तराई टुट्टिएर न त पहाडलाई फाइदा छ न त तराईलाई नै । तराईमा उब्जनी भएको कुरा पहाडमा नलैजाने र पहाडले तराईको सामान प्रयोग नगर्ने हो भने आफैँ स्वायत्त पाराले बाँच्न कोही पनि नसक्ने धारणा व्यक्त गरे । उनले भने हामीसँग भएको पहाडको चट्टानमा धान रोपेर खाने ? हामीकहाँ आएको पर्यटनले हामी धनी बनेर हामी अर्काे प्रदेशबाट खाद्यान्न किन्नै पर्ने ? अहिलेको प्रदेश कसका लागि साघुरो भयो ? 
 
यसरी विरोधमा उपस्थितहरुको एउटै राय के थियो भने ५ नं प्रदेश टुक्र्याउँदा न त टुक्रिएर जानेलाई फाईदा छ न त त्यही बस्नेलाई नै । त्यसैले यो आन्दोलन दुबैपक्षको हितमा रहेको उनीहरुको बुझाई  छ । यही बुझाईलाई सावित गर्न विभिन्न पेशागत संगठनका प्रतिनिधिहरु रुपन्देही बाँके लगायतबाट पनि बुटवल आएका थिए । उनीहरुले पनि आफूलाई पहाडबाट छुट्टाईएको सिमाङ्कन मान्य नहुने बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ