arrow

सातौं राष्ट्रिय खेलकुदमा ६७८ पदकको टुंगो, १८५ स्वर्णमा सेनालाई ८३

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
nabita-santu-tt.jpeg
विराटनगर । सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा त्रिभुवन आर्मी क्लवले एकलौटी प्रदर्शन गरिरहेको छ । मंगलबार रातिसम्मका खेलमा ६७८ पदकको टुंगो लागिसक्दा सेनाले १६७ पदक जितेको छ । 
 
१८५ स्वर्णपदकको छिनोफानो भइसक्दा आर्मीले ८३ स्वर्णपदक कुम्ल्याइसकेको छ । त्यस्तै ४८ रजत र ३६ कास्यपदक जम्मा गरेको छ । 
 
दोस्रो स्थानको नेपाल पुलिस क्लव निकै पछाडि छ । पुलिसले ३२ स्वर्ण, २७ रजत तथा ३४ कास्यसहित ९३ पदक बटुलेको छ । 
 
तेस्रो स्थानको सशस्त्र प्रहरीको २८ स्वर्ण, २२ रजत तथा ४२ कास्यपदक जितेको छ । 
 
त्यस्तै २१ स्वर्णसहित मध्यमाञ्चल चौथो स्थानमा छ । ३७ रजत र ४३ कास्य जितेको पूूर्वाञ्चलको पदक संख्यामा भने आर्मीपछि दोस्रो स्थानमा छ । 
 
त्यस्तै मध्यपश्चिमाञ्चल ७ स्वर्णसहित पाँचौं, पूर्वाञ्चल ६ स्वर्णसहित छैटौं, ५ स्वर्णसहित पश्चिमाञ्चल सातौं तथा ३ स्वर्णसहित सुदूरपश्चिमाञ्चल आठौं स्थानमा छ । 
 
टेबलटेनिसमा स्यान्टु र नवितालाई स्वर्णपदक
टेबल टेनिसमा नेपाल पुलिसका स्यान्टु श्रेष्ठ नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । श्रेष्ठले पुरुष एकलको फाइनलमा एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक कब्जा गर्न सफल भए ।
 
च्याम्पियन बनेका श्रेष्ठले सेमिफाइनलमा नेपाल पुलिसका नै तिन पटक च्याम्पिएन भएका दिप साउनलाई पराजित गर्दै फाइनमा आफ्नो ठाउँ सुरक्षित गरेका थिए । 
 
यो जितसँगै सानो उमेरमा पाएको सफलताले आगामी दिनमा खेल्नको लागि अझ हौसला मिलेको श्रेष्ठले बताए ।
 
एपिएफका शिवसुन्दरले रजतमा नै चित्त बुझाए भने आर्मीका मणि कुमार तामाङ र  एपिएफका अम्मरलाल मल्लले कास्य पाएका छन ।  
 
मणिले एपिएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । बज्राचार्य दिप साउन विजेता भएको समयका उपविजेता थिए ।
 
सहिद रङ्गशालाको कर्वड हलमा मंगलबार भएको  टेबल टेनिस अन्तर्गत एकल महिला तर्फ नेपाल पुलिसका नविता महर्जनले स्वर्ण जितेकी छिन । नेपाल पुलिसका नै एलिन महर्जनलाई ११–०, ११–८, १०–१२, ११–४, ९–११, ११–८ ले पराजित गरेकी हुन । 
 
यो जितसँगै नविताले लगातार ६ पटक च्याम्पिएन हुँदै स्वर्णमा नाम लेखाउन सफल भएकी हुन । आफू लगातार सफल भएकोमा खुसी व्यक्त गर्दै नविताले आगामी दिनमा पनि सफल हुन सक्नेमा आफू सक्षम रहेको बताईन ।
 
पुलिसकी एलिना महर्जनले रजतमा चित्त बुझाईन भने नेपाल आर्मीका श्वेच्छा नेवाङ र नेपाल आर्मीका नै रविना महर्जनले कास्य पाए । नेपाल पुलिसले ६ वटा स्वर्ण पाएको छ । नेपाल आर्मीले एक स्वर्ण जितेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ