arrow

नख्खु जेलमा मानसिक रोगी कैदी बढे, कारागारमै मनोसामाजिक अस्पताल बन्दै

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
nakkhu-jail.png
ललितपुर ।  नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ । पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । 
 
कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ । 
 
अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले बताएको छ । मानसिक अस्पताल लगनखेलमा रहेकाले पनि विभिन्न जिल्लाबाट मानसिक रोगी नख्खु कारागार सरुवा भएर आउने गरेका छन् ।
 
विभिन्न जिल्ला कारागारमा रहेका मानसिक रोगीलाई कारागार व्यवस्था विभागले नख्खु कारागारमा सरुवा गरेर पठाउने गरेको जेलर टेकबहादुर केसीले बताए । 
 
अस्पताल बन्ने प्रक्रियामा भएपनि जिल्लाका कारागार र कैदीबन्दीले अस्पताल बनिसक्यो भन्ने सोचेरसमेत आउने गर्छन् । उनी भँन्छन्, “पाटनमा उपचार हुन्छ भनेर पठाउने त छँदैछ अस्पतालको जग खन्दै भएपनि धेरै कारागारले यहाँभित्रै अस्पताल बनिसक्यो भनेर समेत बिरामी कैदी पठाउँछन् ।” 
 
अस्पताल बनेपछि मानसिक रोगसँगै अरु रोग पनि यहाँबाट उपचार हुने अस्पतालले बताएको छ । कारागारका लेखा अधिकृत मित्रलाल शर्माले अस्पताल बनेपछि बिरामीलाई नियमित लगनखेलस्थित मानसिक अस्पताल पु¥याउनु नपर्ने बताए । 
 
उनले भने, “कैदीबन्दीले यहीँबाट नियमित उपचार पाउन सक्नेछन् ।” कारागारमा मानसिक रोगी धेरैजना भएपछि प्रशासनले दैनिक दुई÷तीन पटक गरेर उपचारका लागि लगनखेल पु¥याउँदै आएको छ । 
 
मानसिक रोगका लागि मानसिक अस्पताल र अरु समस्याका लागि पाटन अस्पताल वा वीर अस्पताल लैजाने गरिएको उनी बताउँछन् । 
 
धेरै खालका समस्या भएका मानसिक रोगी कारागारमा रहेको जेलर केसी बताउँछन् । कतिपय उग्र खालका बिरामीलाई व्यवस्थापन गर्न आन्तरिक प्रशासन (कैदीबन्दीबाट नै बनेको) लाई समेत हम्मेहम्मे पर्ने गर्छ । 
 
प्रशासनले सुरक्षाकर्मी जुनसुकै समयमा तयार राख्ने गरेको छ । आफैँ पटकपटक आत्महत्याको प्रयास गरिसकेका मानसिक बिरामी यहाँ छन् । 
 
उनी भन्छन्, “धेरै उग्र बिरामीले अरुलाई समेत असर पु¥याउँछन् भन्ने डर हुन्छ ।” कतिपय बिरामीलाई नियन्त्रणमा राख्नका लागि धेरै जना लाग्नुपर्छ । 
 
नख्खु कारागारमा आएपछि मानसिक रोगको उपचार पाएर धेरै जना बिरामी निको भएका आन्तरिक प्रशासनका कर्मचारी बताउँछन् । 
 
कारागारबाटै मानसिक अस्पताल पुगेर र कारागारमा नियमित औषधि खाएर बिरामी सामान्य अवस्थामा फर्केको जेलर केसी बताउँछन् ।  
 
कारागारमा शान्त वातावरण र हावापानीले पनि मानसिक रोगी बिरामीलाई निको हुन सघाएको उनको दाबी छ । उनी भन्छन्, “पहिले यहाँ आउँदा कसरी थाम्ने भनिएकाहरु अहिले पूरै निको भएका समेत छन् ।” 
 
सरकारी नियमअनुसार ११५ जना क्षमताको नयाँ भवन गत वर्षदेखि सञ्चालनमा आएपछि कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको छ । कारागारमा २५० जना क्षमताका दुई ब्लकसमेत निर्माण हुने भएको छ । 
 
एकसयजना क्षमताको महिला कारागारको समेत काम अघि बढेको छ । अहिले यहाँ ६५० को हाराहारीमा कैदीबन्दी रहेको कारागारले बताएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ