arrow

'असन्तुष्टलाई सम्बोधन गर'

logo
प्रकाशित २०७३ माघ १ शनिबार
puns.jpeg
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी वर्षको माघको पहिलो साताभित्र तीन तहको निर्वाचनको जिम्मेवारी पूरा गर्ने समय र सन्दर्भको हेक्का राखेर काम गर्न राजनीतिक दललाई सुझाव दिएका छन् । 
 
नेपाल मगर सङ्घले माघे सङ्क्रान्तिका अवसरमा खुला मञ्चमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा पुनले संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर यथाशक्य छिटो निष्कर्षमा पुग्न राजनीतिक दलको ध्यानाकर्षण समेत गराए । 
 
उपराष्ट्रपति पुनले भने, “आधुनिक नेपालको निर्माणमा होस् वा राजनीतिक प्रणाली परिवर्तनका लागि भएका आन्दोलनमा मगर समुदायबाट वीरताका साथ लडेर उच्च कोटीको योगदान भएको छ । मुलुकको अहिलेको संविधान र राजनीतिक व्यवस्थाले सबै समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चिता प्रदान गरेको छ ।” 
 
आपसी सद्भाव, भ्रातृत्व, सहिष्णुता र पारस्परिक मिलनको पर्वका रुपमा रहेको माघे सङ्क्रान्ति नेपालीको महान् सांस्कृतिक पर्वका रुपमा स्थापित रहेको बताउँदै उहाँले यस पर्वले सबै शान्तिकामी नेपालीको मुहारमा खुसीयाली ल्याउने विश्वास व्यक्त गरे। उपराष्ट्रपति पुनले मगर समुदायको मौलिक परम्पराअनुरुप तीतेपातीमा ध्वजा बाँधेर, धनुषबाँण हानेर तथा चेलिबेटीलाई पूजा गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । 
 
सो अवसरमा आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत्बहादुर बरामले आदिवासी समुदायको हकअधिकार तथा संस्कार र संस्कृतिको रक्षाका लागि राज्यले आवश्यक ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए । 
 
आयोजक संस्थाका अध्यक्ष नवीन रोक्का मगरले देश र समाजको संरचनाअनुसार राज्यको संरचना हुनका लागि समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ भन्नुभयो । समारोहमा मगर समुदायको मौलिक खानपान र वेषभूषा प्रदर्शन गरिनुका साथै ‘कौरा’, ‘सालेजु’जस्ता गीत सङ्गीत प्रस्तुत गरिएको थियो । 
 
नेपालको पहाडी क्षेत्रका सबै जिल्लामा बसोबास रहेका मगर समुदायको गण्डकी, धौलागिरि र राप्तीमा बाक्लो बसोबास रहेको छ । नेपालको एकीकरणदेखि विगतमा भएको सशस्त्र आन्दोलमा समेत मगर समुदायबाट विशिष्ट योगदान भएको सो अवसरमा जानकारी दिइयो । 
 
नेपालको पहिलो सहिद मगर समुदायका लखन थापालाई मानिँदै आएको छ । आदिवासी जनजातिमध्ये जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो समुदायका रुपमा मगर समुदाय रहेको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ