arrow

पुनः श्रम स्वीकृति दिएको आरोपमा ७ जनामाथि छानबिन

logo
प्रकाशित २०७३ माघ २ आइतबार
rojgar.jpg.jpeg
काठमाडौँ ।  पहिलो पटक विदेश जान लागेकी महिलालाई पुनः श्रम स्वीकृति दिएको आरोपमा छानबिनमा परेका कर्मचारीले सेवाग्राहीको भीडका कारण त्रुटि भएको स्पष्टीकरण दिएका छन् ।  
 
श्रम तथा रोजगार मन्त्रालयले गठन गरेको छानबिन समितिलाई लिखित स्पष्टीकरण दिँदै छानबिनमा परेका कर्मचारीले आफूबाट जानाजान गल्ती नभई भीडभाडका कारण भूलवश भएको दाबी गरेको समितिले जनाएको छ । 
 
गएको साता पहिलो पटक वैदेशिक रोजगारमा जान लागेकी महिलाको कागजातमा ‘रिइन्ट्री’ को स्टिकर भेटिएपछि अध्यागमन विभागले छानबिन गर्न मन्त्रालयलाई पत्र पठाएको थियो ।  
 
अध्यागमन विभागले विमानस्थलमा जाँच्ने क्रममा पहिलो पटक विदेश जान लागेको बताउने महिलालाई पुनः श्रम स्वीकृति दिएको पाइएपछि छानबिन गर्न मन्त्रालयलाई पत्र पठाएको थियो ।  
 
उक्त घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै मन्त्रालयले उपसचिव श्यामराज अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो  ।  
 
उक्त समितिले आउँदो सोमबारसम्म मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 
 
लापरबाहीमा संलग्न रहेको आशङ्कामा विभाग मातहतको ताहचलस्थित श्रम कार्यालयमा कार्यरत सात जना कर्मचारीलाई मन्त्रालय तानेर छानबिन सुरु गरिएको छ ।  
 
छानबिनका लागि मन्त्रालय तानिएका कर्मचारीमा शाखा अधिकृत निर्वाणकुमार भट्टराई, मोहनकुमार थापा, हरिप्रसाद देवकोटा, डिकप्रसाद दाहाल र इन्द्रबहादुर साखकर्मी, कम्प्युटर अपरेटर वेदनाथ खतिवडा र केशवराज ढुङ्गाना हुन् ।  
 
सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतार लगायत मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ तर विभागका ती कर्मचारीले कुवेत जाँदै नगएकी दोलखा मागापौवा गाविसकी कुमारी तामाङलाई पुस ७ गते पुनः श्रम स्वीकृति दिएको छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ