arrow

एक नम्बरमा आफ्नै नामकाे ‘रेडकर्नर नोटिश’ जारी गर्ने इन्टरपोलको सम्मेलन उद्घाटन गरे प्रचण्डले

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
PM-INTWRPOL.jpeg

काठमाडौँ । प्रहरीहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सम्मेलनको उद्घाटन् प्रधानमन्त्री पुष्पकमल दाहालले गरे ।  मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल हुनेछ ।

एसिया क्षेत्रका ५२ सदस्य मुलुक र तीन पर्यवेक्षक मुलुक गरी ५५ राष्ट्रको प्रतिनिधित्व हुने भनिए पनि सम्मेलनमा ३६ राष्ट्रका कानुन कार्यान्वयन गर्ने अधिकारीको प्रतिनिधित्व भएको छ । सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललले मानव बेचबिखनबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलन शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले अन्तरदेशीय र संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताए । प्रधानमन्त्री दाहालले अहिलेको समयमा अन्तरदेशीय अपराध र संगठित अपराध सबैको लागि चुनौति भएको बताए । यसको नियन्त्रण कुनै देश वा क्षेत्र विशेषलेमात्रै गर्न नसक्ने प्रधानमन्त्री दहालको भनाई छ ।

दाहालले भने, ‘कुनै एउटा मात्रै मुलुकको प्रयासले सङ्गठित अपराध र यसका चुनौती रोक्न सकिदैन, यसका लागि राष्ट्र–राष्ट्रबीच सहकार्य गर्दै अघि बढ्न जरुरी छ ।’ एसिया क्षेत्रले आगामी दिनको  सुरक्षा चुनौती सामना गर्न सक्नेगरी निष्कर्ष निकाल्न सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीले आग्रह गरे ।

यस्तै, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग बढ्दै गएको भन्दै यो नयाँ चुनौती सामना गर्न आवश्यक रहेको धारणा राखे । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले अपराधका नयाँ प्रवत्तिलाई निरुत्साहित गर्न आवश्यक रणनीति तय गर्न सम्मेलन सफल हुने विश्वास लिए ।  बहुआयामिक चुनौती रहे पनि त्यसलाई चिर्दै कानुनको कार्यान्वयन गर्न आवश्यक रहेकामा पनि उपप्रधानमन्त्री निधिले जोड दिए ।

इन्टरपोलका अध्यक्ष मेङ हङवेइलले एसिया क्षेत्रको सुरक्षा चुनौती र समाधानका उपायबारे सम्मेलनमा छलफल हुने बताए । प्रहरी महानिरीक्षक अर्यालले सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान, सहयोग, समन्वय र सहकार्य गर्न सम्मेलन आयोजना गरिएको बताए । यसअघि १०औँ क्षेत्रीय सम्मेलन गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गरेको हो ।

प्रचण्डका नाममा पहिलो रेड कर्नर नोटिश
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा अधिकांश माओवादी नेताविरुद्ध प्रहरीहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलले ‘रेडकर्नर नोटिश’ जारी गरेको थियो । तत्कालीन नेपाल प्रहरी र शाही नेपाली सेनाको आग्रहमा इन्टरपोलले माओवादीका शीर्ष नेताको नाममा ‘रेडकर्नर नोटिस जारी’ गरी खोजतलास गरेको थियो ।
रेडकर्नर नोटिशमा परेका माओवादी नेताहरु मध्ये पुष्पकमद दाहालले दुई पटक मुलुकको कार्यकारी पद सम्हालेका छन् । बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भइसकेका छन् । नन्दबहादुर पुन पासाङ अहिले मुलुकको दोस्रो उपराष्ट्रपति बनेका छन् । अपराध नियन्त्रणका लागि अन्तराष्ट्रिय संगठन इन्टरपोलले त्यतिबेला माओवादी नेतालाई जहाँ भेटेपनि पक्राउ गरेर नेपाल प्रहरी र सेनालाई बुझाउनु उर्दी थियो ।  

कमाण्डिङ स्वर भएको‍‍‍‍‍......नोटिश व्यराेहा

Image may contain: 4 people, text
दारी पालेका र जनसेनाको कम्ब्याट लगाएका केही तस्वीरसहित प्रचण्डलाई इन्टर पोलले सूचीको पहिलो नम्बरमा राखेको थियो । उनलाई पुष्पकमल दहाल तथा पार्टीभित्र प्रचण्ड र विश्वास भन्ने गरिएको उल्लेख थियो ।

जनसेनाको कमाण्डर, माओवादी केन्द्रीय समिति अध्यक्ष, स्थायी समिति सदस्य तथा जनमुक्ति सेनाको सुप्रिम कमाण्डर रहेको खुलाइएको थियो । आर्य अनुहार भएको, गहुँगोरो वर्णको, उचाइ करिब ५ फिट ५ इन्च रहेको, बलियो र कमाण्डिङ स्वर भएको भनेर नोटिशमा व्याख्या गरिएको थियो ।

अहिले नोटिश सूचीमा माओवादी कुनै नेताको नाम छैन । सबैको नाम हटिसकेको छ । दोस्रो पटक प्रधानमन्त्री हुनु अघि प्रधानमन्त्री दाहालले द्वन्द्वकालिन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मिलाउनु पर्ने भन्दै कार्यकर्तालाई मुद्दा लाग्ने हकमा तत्कालिन सुप्रिम कमाण्डर रहेको हैसियतले सबै दोष आफु लिन तयार रहेको भनि सार्वजनिक कार्यक्रममै भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ