arrow

जलविद्युत्‌मा आन्तरिक उत्पादन बढ्यो

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
Hydro-Power.jpg.jpeg
काठमाडौँ । सरकारले चालु आवमा २०० मेगावाट विद्युत् थप गर्ने लक्ष्यका साथ अगाडि बढाएको कार्ययोजनाअनुसार हालसम्म ११२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 
 
आन्तरिक उत्पादनलाई बढावा दिने र सङ्कट टार्नका लागि मात्रै तत्काल भारतबाट विद्युत् आयात गरिएको भन्दै सरकारले निर्माणका क्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नसमेत आग्रह गरेको छ । 
 
ऊर्जा मन्त्रालयले अगाडि सारेको ३७ बुँदे कार्ययोजनामा निर्माणका क्रममा रहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न गरेको आग्रहअनुसार उनीहरुलाई थप सहजीकरणसमेत गरिरहेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माले निर्माणका क्रममा रहेका सबै आयोजनालाई तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न गराउन मन्त्रालयका तर्फबाट सहयोग गरिएका कारण सरकारको लक्ष्य पूरा हुने बताए । 
 
चालु आवमा निजी लगानीबाट कुल १५ आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १४२ मेगावाट बिजुली थप हुने क्रममा रहेको छ । पछिल्लो पटक पाँचथरमा आयोजनास्थल रहेको हेवा ‘ए’ आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि चालु आवको हालसम्म मात्रै ११२ मेगावाट प्राधिकरणले केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ती सबै आयोजना सम्पन्न भएपछि आन्तरिक रुपमा विद्युत्‌को जडित क्षमता ९९० मेगावाट पुग्नेछ । 
 
पछिल्लो १० वर्षमा उत्पादन हुन नसकेको विद्युत् चालु आवमा उत्पादन हुने भएपछि त्यसले मुलुकको ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । १४४ मेगावाट क्षमताको मध्य मस्र्याङ्दी निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा सबैभन्दा ठूलो आयोजनाका रुपमा माथिल्लो मस्र्याङ्दी ५० मेगावाट जोडिएको छ । 
 
विद्युत् माग एक हजार २६० मेगावाट 
 
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हाल मुलुकभरको विद्युत् माग एक हजार २६० मेगावाट रहेको छ । 
 
हिउँदको समयमा बढी विद्युत् माग हुने भए पनि नियमित रुपमा विद्युत् उपलब्ध गराइएका कारण माग सोचेभन्दा कम मात्रै बढेको प्राधिकरणको विश्वास छ । प्रणालीमा ३७५ मेगावाट अपुग रहेको छ । औद्योगिक करिडोरमा साँझको समयमा विद्युत्‌भार कटौती गर्नुपरेको छ । भारतबाट आयात गरिएको विद्युत् खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत काठमाडौँ आयात गरिएका कारण काठमाडौँ उपत्यकाको ‘लोड’ व्यवस्थापनका लागि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । 
 
माग र आपूर्तिमा ३८० मेगावाट अपुग भए पनि सरकारले आधारभूत रुपमा मुलुकभर नै विद्युत्‌भार कटौती अन्त्य गरेको छ । प्राधिकरणका आयोजनाबाट ३५०, निजी ऊर्जा उत्पादकबाट १८० र भारतबाट ३५५ मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । यही माघको १७ गतेबाट भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएपछि आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गर्न थप सहज हुने प्राधिकरणको विश्वास छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ