arrow

परराष्ट्रमन्त्री संसदीय समितिमा हाजिर, राजदूत नियुक्ति तत्काल गर्न समितिको आदेश

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
mahat-g--news-piss.jpeg

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई विभिन्न देशमा रिक्त राजदूत तत्काल नियुक्त गर्न भनेको छ । मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागीलाई बोलाएर समितिले तत्काल राजदूत र आवश्यक ठाउँमा वाणिज्यदूत नियुक्त गर्न भनेको हो ।

बैठकपछि समिति सभापति प्रभु साहले हाम्रोकुरासँग भने, ‘१४ मुलुकमा अझै राजदूत नियुक्त हुन सकेको छैन । हामीले तत्काल राजदूत नियुक्त गर्न भनेका छौं । परराष्ट्रमन्त्री र सचिवले गर्छौं भन्नु भएको छ ।’ अहिले वाणिज्यदूत भएका कतिपय मुलुकमा काम नभएको भन्दै समितिले निष्क्रिय रहेका ठाउँहरुबारे तुरुन्त जानकारी लिन, आवश्यक ठाउँमा तुरुन्त नियुक्त गर्न काम नगरिरहेकाहरुलाई फिर्ता बोलाउन समेत भनेको सभापति साहले बताए ।  

तत्कालिन केपी शर्मा ओली सरकारले पोहोर सिफारिस गरेका २२ देशका राजदूत मध्ये परराष्ट्रसेतर्फका ८ जना राजदूत नियुक्त भए पनि राजनीतिक भागबण्डामा परेका १४ जना नियुक्त हुन सकेनन् । ओली सरकारले सिफारिस गरेका राजदूतलाई वर्तमान माओवादी–काँग्रेस गठनन्धन सरकारले संसदीय सुनुवाई भइरहेकै बेला फिर्ता गरेको थियो ।

छिमेकी दुई मुलुक चीन र भारतमा भने वर्तमान सरकारले राजदूत पठाएको छ । सरकारले भारतमा ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्याय र चीनमा नयाँ सिफारिस लिलामणि पौड्याललाई पठाएको छ ।

बैठकमा समिति सदस्यहरुले नयाँ सरकार गठनको भएको ६ महिनासम्म पनि राजदूत नियुक्त हुन नसक्नु राम्रो नभएको भन्दै राजदूत नहुँदा विभिन्न मुलुकमा नेपालीले हैरानी खेप्नुपरेको भन्दै सरकारको काममाथि प्रश्न उठाए । श्रम सम्झौता नभएका मुलुकमा पनि कामदार पठाइएको, भारतसँगको सम्बन्धलाई बढी प्राथमिकता दिई चीनलाई चिढाइएको, स्पष्ट परराष्ट्र नीति नभएको समेत समिति सदस्यहरुले टिप्पणी गर्न भ्याए ।

छलफलमा मन्त्री महतले सत्ता गठबन्धनमा छलफल टुङ्गो लगाएर चाँडै राजदूत नियुक्तिका लागि आफूले प्रयास गरिरहेको जनाउँदै यथासमयमा नियुक्त हुने बताए ।

मन्त्री महतले छिमेकी मुलुकसित सम्बन्ध विस्तार र वैदेशिक रोजगारीमा रहेका नेपालीको हित र सुरक्षा गर्न आफूहरुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारत वा चीनपरस्त भएर सरकार चलेको भन्ने टिप्पणीमा विश्वास नगर्न आग्रह गरे ।

‘हामी राष्ट्रिय आवश्यकता र हितलाई केन्द्रमा राखेर दुवै मुलुकसँग कूटनीतिक सम्बन्ध विस्तारमा लागेका छौँ । कुनै मुलुकपरस्त होइन, नेपालपरस्त भएर काम गरेका छौं,  ‘मन्त्री महतले भने, ‘कूटनीतिक विषयमा सडकमा कराएर भन्दा टेबलमा बसेर तर्कसङ्गत कुरा गर्दा उपलब्धि हात लाग्छ, परराष्ट्र नीतिबारे देशको साझा धारणा बनाउन मैले सबै दलका नेताहरुलाई आग्रह पनि गरेको छु ।’

परराष्ट्र सचिव शङ्करदास वैरागीले हाल विभिन्न मुलुक र स्थानमा गरी ६४ अवैतनिक महावाणिज्यदूत रहेकामा केहीको कार्यावधि सकिएको र केहीका म्याद थपको प्रक्रियामा रहेको जानकारी दिए । सचिव वैरागीका अनुसार नेपालमा ४१ जना अन्य देशका अवैतनिक महावाणिज्यदूत कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ