arrow

सडक भत्काउने हिल्टन होटललाई एक महिनासम्म कसले काखी च्याप्यो ?

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
Hilton-Hotel.jpeg
काठमाडौं । काठमाडौंको नक्सालमा निर्माणाधीन रहेको हिल्टन होटलको लापरबाहीका कारण भत्किएको नक्साल भगवतीको मन्दिरदेखि वालमन्दिर जाने चोकसम्मको सडक अझै पनि निर्माण गरिएको छैन । गत पौष २४ गते विहान भत्किएको सडकका कारण सो क्षेत्रमा सवारी आवागमन बन्द भएको पनि अबको केही दिनमा महिना दिन पुग्दैछ । तर यस विषयमा सरोकारवाला निकायले निर्माणपक्षलाई कारबाही गर्नको लागि कुनैपनि कदम चालेको छैन । 
 
शंकर ग्रुपको लगानीमा बन्न लागेको पाँचतारे होटल हिल्टनको भवन निर्माणको क्रममा भत्किएको सडकको निर्माण गराउन तर्फ समेत सम्बन्धित निकायको रुपमा रहेको काठमाडौं महानगरपालिकाले चासो नदिँदा त्यस क्षेत्र भएर चल्ने सवारी साधन मात्रै होईन कि त्यस क्षेत्रका स्थानीय समेत समस्यामा परेका छन् । 
 
कुनैपनि भवन निर्माणको लागि काठमाडौं महानगरपालिका क्षेत्रभित्र बन्ने घरका धनीहरुले महानगरपालिकासँग स्वीकृति लिएर मात्रै भवनको जग खन्ने काम सुरु गर्नसक्छ । यो भवन निर्माणको क्रममा पनि हिल्टन होटले महानगरपालिकासँग स्वीकृति लिएको कुरा महानगरका नक्सा विभागका महाशाखाप्रमुख राम थापाले भत्किएकै दिन हाम्राकुरालाई जानकारी गराएका थिए । उनले सोही दिन कम्पनीलाई दोहोरो कारबाही गरिने जानकारी पनि दिएका थिए । तर, भत्किएकै दिन सार्वजनिक रुपमा कारबाही गर्छु भन्ने महानगरले अहिलेसम्म किन कारबाही गर्न सकेन त ? यो प्रश्न महानगरमाथि तेर्सिएको छ । यस विषयमा विभागका विभागीय प्रमुख रविन्द्र पौडेलसँग कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
 
महानगरपालिकाले यो भवन निर्माणको लागि स्वीकृति दिएपछि जग खन्ने बेलामा पनि समयसमयमा गएर त्यसको अनुगमन तथा निगरानी गर्नुपर्ने इन्जिनियरहरु बताउँछन् । तर, महानगरको नक्साशाखाका सम्बन्धित व्यक्तिहरुले भने यसमा चासो नदिएकोकारण गैरकानूनी रुपमा भवन बनाईँदा यसरी सडक भत्किएको विभागका एक अधिकारीले आरोप लगाए । 
 
उता, विभागका उच्च अधिकारीहरुकै मिलेमतोमा हिल्टनले गैरकानूनी रुपमा जग खनेकोले पनि महानगरले अहिलेसम्म ऊ विरुद्ध कुनै कारबाही गर्न नसकेको महानगर स्रोतले जानकारी दिएको छ । अतिरिक्त शुल्क नतिरी कुनैपनि कार्य सम्पादन गर्न सम्भव नरहेको महानगरपालिकाको नक्सा विभागले सोमबारसम्म पनि हिल्टनको उक्त बदमासीको विरुद्ध कुनैपनि कदम चालेको थिएन । तर, सोमबार व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले समेत यसमा चासो देखाएपछि भने सोमबारनै विभागको टोली सडक भत्किएको ठाउँमा अनुगमनमा गएको थियो । 
 
स्रोतका अनुसार विभागका उच्च अधिकारी अहिलेकै अवस्थामा हिल्टन होटलमाथि कारबाही गर्नै पक्षमा रहेको छैन । उनीहरुले नै च्यापेर राखेको हुनाले शंकर ग्रुप पनि अहिले सडक निर्माणको लागि हतारिएको छैन । तर, संसदीय समितिले नै चासो देखाईसकेको अवस्थामा बाध्य भएर कारबाही गर्नुपर्ने अवस्था आयो भने के गर्नै भन्ने विषयमा नक्साका सरोकारवाला व्यक्तिहरुमा भने छटपटी सुरुभएको छ । 
 
महानगरपालिका आफैंले स्वीकृति दिएको घर भत्किएर सडक नै अवरुद्ध बनाउँदा पनि अहिलेसम्म सडक निर्माणको लागि र सम्बन्धित पक्षलाई कारबाहीको सिफारिस नगर्नुले पनि महानगरपालिका उच्च अधिकारीहरु समेत यसमा मिलेमतो भएको आरोपको पुष्टि हुने आधार थपिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ