arrow

कार्यकाल सकिनु दुई महिनाअघि स्थानीय निर्वाचन

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
samsad-bhawan.jpeg
काठमाडौँ ।  स्थानीय तहमा जनप्रतिनिधिको व्यवस्था गर्न अब निर्वाचित कार्यसमितिको कार्यकाल पूरा हुनु दुई महिनाअगावै निर्वाचन हुने भएको छ ।  कार्यकाल पूरा हुनु दुई महिनाअगाडि नै निर्वाचन गर्ने गरी कानुनमा व्यवस्था हुन लागेको यो पहिलोपटक हो ।  
 
निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ ।  पाँच वर्षे कार्यकाल पूरा भएपछि मात्र नयाँ निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्नेछ ।   
 
संसद्को राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमा सहमति गर्दै यस्तो व्यवस्था गरेको हो ।  
 
उपसमितिले पारित गरेको विधेयक बुधबार समितिमा पेस हुनेछ ।  समितिले बुधबार नै छलफलपछि पारित गरे सम्भवतः उक्त विधेयक बुधबारको संसद् बैठकमा पेस हुनेछ ।
 
उपसमिति सदस्य रेखा शर्माले अविछिन्न रूपमा जनप्रतिनिधिको व्यवस्थाका लागि दुई महिनाअघि निर्वाचन गर्ने व्यवस्थामा सहमति भएको जानकारी दिइन् ।  शर्माले भनिन्, “जनप्रतिनिधिविहीन अवस्था नहोस् भनेर कानुनमा नै निर्वाचनबारे स्पष्ट व्यवस्था गरिएको हो ।  उपसमितिले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । ”
 
संविधानले स्थानीय तहमा आवधिक निर्वाचनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भएको बढीमा छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । 
 
तर, स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकले भने कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था पारित गरेको हो ।  स्थानीय निकाय विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन छन् । 
 
यसैगरी स्थानीय निकायमा राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूले दलीय आकारका आधारमा चुनाव चिह्न प्राप्त गर्नेछन् ।  
 
राष्ट्रिय दलको मान्यता पाउने आवश्यक मत सीमा (थ्रेसहोल्ड) बारे राजनीतिक दलसम्बन्धी कानुनमा व्यवस्था हुनेछ ।  
 
तोकिएको मत सीमा कटाउने दलहरूले स्थानीय निर्वाचनमा आकार अनुसार अर्डरमा चुनाव चिह्न पाउनेछन् ।  
 
राष्ट्रिय दलको मान्यता पाउन नसकेका दलहरूले भने स्वतन्त्रको हैसियतमा चुनाव चिह्न पाउने व्यवस्था उपसमितिले पारित गरेको छ ।  
 
यो व्यवस्था अनुसार समितिमा पनि सहमति भए राष्ट्रिय दल मान्यता पाउनेको आकारको अर्डरमा र स्वतन्त्रले उम्मेदवारी दर्ता अनुसारको रोलक्रममा चुनाव चिह्न पाउनेछन् ।  
 
तर, अब हुने एकपटकको निर्वाचनमा भने अहिले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्याको आधार अनुसार नै चिह्न पाउनेछन् ।  (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ