arrow

सरकारलाई गोविन्द केसीको नयाँ चेतावनी

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
G-kc-naya-photo.jpg.jpeg

काठमाडौं । डा.गोविन्द केसीले सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै कुनै पनि बेला नयाँ चरणको आन्दोलन सुरु गर्न सक्ने चेतावनी दिएका छन् । केसीले वुधबार प्रेस वक्तव्य जारी गर्दै सरकारलाई आफुसँग भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिएका हुन् ।

हामीसँग गरेका विभिन्न सम्झौता तथा सुधार अभियानको प्रतिकुल हुने गरी पछिल्लो समय भएका विभिन्न गतिविधिहरु तथा सरकारले पछिल्लो सम्झौताका बुँदाहरु कार्यान्वयनमा गरिरहेको आलटालप्रति हाम्रो गम्भीर आपत्ति छ, केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, केसीले मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि आइओएमलाई स्वायत्तता दिने लगायतका बुँदामा सम्झौता गरेको सरकारले सम्झौता कार्यान्वयन गर्नुको साटो प्रतिकुल हुने गरी विद्यार्थी भर्ना र शुल्कसम्बन्धी आइओएम फ्याकल्टी बोर्डको अधिकार खोसेको उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्रिविको कार्यकारी परिषदले चलखेल गर्ने प्रयास गरिरहेको छ । यसअघि नै मेडिकल कलेजलाई सम्बन्धन दिने अधिकार समेत आइओएमबाट खोसेर त्रिविले लिने कोशिस गरेको छ ।’

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल अघि बढाउन, चिकित्सा शिक्षा ऐन माथेमा प्रतिवेदनको मर्म अनुरुप हुने गरी अविलम्ब पारित गर्न, संसदमै रहेको काठमाडौं उपत्यकाभित्रको प्रतिष्ठान सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न तथा पछिल्लो सम्झौताका सबै बुँदा अक्षरशः पालना गर्न, नयाँ संस्थालाई चिकित्सा शिक्षा ऐन नआउन्जेल कुनै पनि अनुमति नदिन हामी जोडदार माग गर्दछौं, केसीले विज्ञप्तिमा भनेका छन् ।

डा. केसीले आफुहरुले दिएको पछिल्लो अल्टिमेटम यही हप्ता सकिएको र काम गर्न सरकारलाई थप केही समय दिन उचित लागेकाले अभियानको नयाँ चरण तत्काल शुरु नभएको प्रष्ट्याएका छन् ।

सम्झौता कार्यान्वयन नगर्ने वा उल्ट्याउने र चिकित्सा शिक्षा ऐन रोक्ने काम गरियो भने हामी कुनै पनि बेला सत्याग्रह लगायतका कार्यक्रमहरुसहित सुधार अभियानको नयाँ चरण शुरु गर्न बाध्य हुने जानकारी गराउँछौँ, केसीले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ