arrow

मन्त्रालयपिच्छे युवाको फरक उमेर समूह

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
youth.png
काठमाडौं । कति वर्ष उमेर समूहकालाई युवा भन्ने विषयमा मन्त्रालयपिच्छे भिन्न–भिन्न परिभाषा छ । राष्ट्रिय युवा नीतिविपरीत केही मन्त्रालयले युवाको उमेरलाई आ–आफ्नै ढंगले व्याख्या गरेर कार्यक्रम सञ्चालन गरेका छन् ।
 
समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका तथा उनीहरूमा अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउने लक्ष्यसहित राष्ट्रिय युवा नीति ०७२ ल्याएको थियो । 
 
राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनेको छ । राष्ट्रिय युवा परिषद् ऐनले पनि १६ देखि ४० वर्ष उमेरलाई युवा भनेको छ ।
 
तर, अर्थ र कृषि मन्त्रालयले १८ देखि ५० वर्ष उमेर समूहलाई युवा मानेका छन् । अर्थ मन्त्रालयअन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रमले १८ देखि ५० वर्ष उमेर समूहलाई युवा मानेर विनाधितो कर्जा दिने गरेको छ ।
 
कृषि मन्त्रालयले बनाएको राष्ट्रिय कृषिनीति २०६१ कार्यान्वयनमा छ । कृषिनीतिले १८ देखि ५० वर्षसमूहलाई युवा किसान मानेर अनुदान दिने गरेको छ । 
 
शिक्षित बेरोजगार युवालाई कृषि पेसामा आकर्षित गर्न कृषि व्यवसाय तथा सञ्चालन तालिमको व्यवस्था छ । 
 
व्यवसायका लागि लागत सहभागिताका आधारमा ४० हजारदेखि चार लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ । कृषि मन्त्रालयले एकदेखि ५१ दिनसम्मका तालिम निःशुल्क दिन्छ ।
 
ऐनविपरीतका नीति सच्चाउनुपर्छ
महेन्द्र पौडेल, उपसचिव, युवा मन्त्रालय
संसद्ले पास गरेर बनेको ऐनविपरीत भएका नीतिहरू नसच्याउँदा राम्रो सन्देश जाँदैन । संसद्ले पास गरेको ऐनले समेत १६ देखि ४० वर्षसमूहकालाई युवा मानेको छ । 
 
यो पनि अन्य देशको तुलनामा उमेरसमूह बढी नै देखिन्छ । ५० वर्षसम्मकालाई युवा मान्दा धेरै अवसर ४० वर्षभन्दा माथिकालाई जान्छ ।
 
कति छन् युवा ?
राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेकामा एक करोड ६ लाख ८९ हजार आठ सय ४२ युवा छन् । 
 
त्यसमध्ये ५४।५ प्रतिशत महिला र ४५।५ प्रतिशत पुरुष छन् । १६ देखि ४० वर्षका युवाको साक्षरतादर ७१ प्रतिशत मात्र छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ