arrow

सरकारमा बस्ने औचित्य समाप्त भयो, मन्त्रीहरु फिर्ता बोलाइन्छ : प्रकाशचन्द्र लोहनी

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
lohanilai-mala.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकाले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा राप्रपाका राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो पोखे ।

उनले भने, ‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन, त्यसैले सरकारमा रहिरहने कुरा अब स्वीकार गर्न सकिँदैन, यसबारेमा पार्टीभित्रपनि गम्भिर कुरा उठेको छ ।’ लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने बताए । उनले थपे, ‘यो सरकारको तौर–तरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए । लोहनीले थपे, ‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छ्याउने काम हो ।’
उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको जिकिर गरे । लोहनीले थपे, ‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन ।’ उनले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे ।

लोहनीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गर्दै भने, ‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माँग भनेको नै चुनाव हो ।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने समेत जिकिर गरे । उनले थपे, ‘यस्तो प्रस्तावको पक्षमा हामी छैनौं ।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै भने,‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ ।’ फरक प्रसंगमा लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेद्वारी दिने समेत बताए । उनले भने, ‘यो पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा स्थापित् गर्न र खासगरी सम्र्वद्धनवादी दल बनाउनको लागि नेतृत्व गरौं भन्ने मेरो चाहना छ, तर म यसबारेमा दुई–तीन दिनभित्रै निर्णय गर्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ