arrow

नेपालको पत्रकारिता चर्चामैत्री : संचारमन्त्री कार्की

पत्रकारहरू नयाँ बानेश्वर, रत्नपार्क, सिंहदरबार वरिपरि भेटिन्छन्, गाउँबस्तीमा पुग्दैनन्

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
Ram-Karki-pictures-6.jpeg

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालमा आम सञ्चार विश्वविद्यालयको खाँचो रहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले आमसञ्चार विश्वविद्यालयको पहलको लागि आयोजना गरेको बृहत्त अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले नेपालको पत्रकारिता चर्चामैत्री भएको भन्दै यस्तो पत्रकारिताले समाजलाई सहि बाटोमा डोर्याउन नसक्ने जिकिर गरे । मन्त्री कार्कीले दुर–दराजका विषयलाई स्थान नदिएर केन्द्रमैत्री समाचार बनाउनमा पत्रकार उद्दत रहेको बताउदै भने,‘एउटा कुनै घटना घट्छ, त्यसको बारेमा पाँच वटा पत्रिकामा फरक–फरक समाचारहरू आउँछन्, कुन समाचार सत्य मान्ने ? अर्कोतर्फ पत्रकारहरू नयाँ बानेश्वर, रत्नपार्क, सिंहदरबार वरिपरि भेटिने गर्छन्, गाउँबस्तिमा पत्रकारहरू पुग्दैनन््, दुःखका साथ भन्छु, नेपालको सूचना क्षेत्र स्वतन्त्र रुपमा चल्न सकेन ।’

फरक प्रसंगमा मन्त्री कार्कीले पत्रकारितामा अथक मेहेनतले आएका बताउदै भने,‘ कनकमणी दिक्षित ऋषि धमलाले पत्रकारिता पढेका होइनन्, उनीहरू अर्गानिक पत्रकार हुन् ।’ कार्यक्रममा प्रमुख सूचना आयूक्त कृष्णहरी बाँस्कोटाले कुनैपनि विश्वविद्यालय स्थापना गर्नुपूर्व अभ्यास गर्नु पर्ने बताए । उनले भने, सही सूचना नपुगेको कारण जनताको अधिकार जनताकोबीचमा पुगेका छैनन्, तर सिंहरबारभित्र मात्रै शालिक बनाएर गर्व गरेका छौँ ।’

त्यस्तै शिक्षाविद् विद्यानाथ कोईरालाले मानित विश्वविद्यालयको स्थापना गर्ने या त खुला विश्वविद्यालयको आवश्यकता हो त्यो छुट्याउनुपर्ने बताएका छन् । शिक्षाविद् कोईरालाले बन र कृषि विश्वविद्यालयको स्थिति अभ्यासको रुपमा रहेको भन्दै आम सञ्चार विश्वविद्यालयको खाँचो भएपनि तत्काल स्थापना अभ्यास बिना सम्भव नरहेको बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेश शर्माले विश्वविद्यालय स्वायत्त हुनपर्नेमा जोड दिए । शर्माले समयको माँग अनुसार विश्वविद्यालयको खाँचो रहेको भन्दै हरेक क्षेत्रमा दक्ष जनशक्ति नभएसम्म कुनै पनि कामको गुणस्तर खोज्नु सान्दर्भिक नहुने बताए ।   
त्रिभुवन विश्वविद्यालयका पूर्व–उपकुलपति केदारभक्त माथेमाले हरेक क्षेत्रमा केन्द्रिकृत प्रक्रिया रहेको र यसलाई तत्काल सबैमा क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड दिए ।    

कार्यक्रममा कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी संस्थापक प्रिन्सिपल मञ्जु मिश्रले नेपालमा स्वतन्त्र पत्रकारिताको लागि पनि आमसञ्चार पत्रकारिता विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘पत्रकारिताको प्राज्ञिक जगतमा यो विश्वविद्यालय स्थापना भए दक्षिण एशियामै नयाँ शैक्षिक हव बन्ने निश्चित छ, हामी त्यो उचाईमा लैजना कृत संकल्पित छौं।’ उनले यसको लागि सरकार, शिक्षक र विद्यार्थीको मेहनत आवश्यक पर्ने बताउँदै आफ्नो तर्फबाट यो संकल्पमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ