arrow

सरकारको काम: भूकम्पले क्षति पुगेका एक हजार बढी विद्यालय पुनःनिर्माण

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
school-new-lalitpur.JPG.jpeg

काठमाडौँ । सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी दिए ।

शिक्षा पत्रकार सञ्जालले विहिबार गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उनले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनःनिर्माण गरिएको बताए । तीमध्ये जापानी सहयोग नियोक (जाइका)ले ६  जिल्ला र एसियाली विकास बैंक आठ जिल्ला गरी १०२ तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् ।

सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले रु चार अर्ब बजेट विनियोजन गरेको बताए । भूकम्पबाट क्षति भएका जाइकाले २८३, एसियाली विकास बैंकको सहयोगमा १७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ ।

सरकारको विभिन्न दातृ निकायबाट दुई हजार ८०२ विद्यालय बनाउने लक्ष्य रहेको छ । दातृ निकायबाट एक खर्ब ८० अर्ब विद्यालय निर्माणका लागि कुरा भए पनि अहिलेसम्म ५५ अर्बको स्रोत पहिचान भएको बताए । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा चार हजार ४१० कक्षाकोठा बनाउने बताए ।

उनले देशभरि नै दुई लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राखे । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले सरकारले विद्यालय पुनःनिर्माणका लागि पर्याप्तमात्रामा बजेट नछुट्याएकाले सुस्त गतिमा काम भइरहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ