arrow

निर्वाचनका लागि आयोगका सचिव मैनालीले देखेका ५ चुनौतीहरु

सरकारले बाटो फुकाईदिए १८ घण्टा खटेर पनि निर्वाचन गराउने प्रतिवद्धता

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ फागुन ११ बुधबार
Gopmainalielectioncommition.jpeg
काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको समयमा निर्वाचन गराउन आफूहरु सक्षम रहेको दोहोर्याएको छ । सरकारले आयोगले माग गरेका पूर्वाधारहरु तयार पारिदिने हो भने आयोगका कर्मचारी तथा आयुक्तहरु रात दिन खटेर भएपनि निर्वाचन सफल बनाउन लागिपर्ने आयोगले जनाएको हाे । 
 
आयोगका सचिव गोपीनाथ मैनालीले सरकारले आफ्नो तर्फबाट आवश्यक पूर्वाधारहरु तयार पारिदिने हो भने आयोग जसरी पनि तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सक्षम रहेको जानकारी दिए । बुधबार हाम्राकुरा डटकमसँगको कुराकानीमा मैनालीले कर्मचारीहरु १८ घण्टा काममा खटिएर भएपनि तोकिएको मितिमा निर्वाचन गर्न सक्षम रहेको र सोको लागि काम सुरु भईसकेको जानकारी दिए।
 
सचिव मैनालीले अहिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारबाट प्राप्त गर्नुपर्ने स्थानीय तहको सीमा र संख्याको विवरण सहितको प्रतिवेदनदेखि मतदानमा प्रयोग गरिने मसीसम्म जुटाउन चुनौती रहेको जानकारी दिए । यद्यपि सरकार र राजनीतिक दलले सुल्झाउनुपर्ने समस्या सुल्झाएको खण्डमा अन्य चुनौती चिर्दै तोकिएको समयमा निर्वाचन गर्न अायोग तयार रहेको उनले स्पष्ट पारे । 
 
आयोगको मंगलबार बसेको बैठकले पनि सरकारसँग शीघ्रातीशीघ्र सो प्रतिवेदन आयोग समक्ष पठाउन आग्रह गरेको थियो । त्यस्तै सरकारले आवश्यक पूर्वाधार जुटाईदिएको खण्डमा आयोग तोकिएको मितिमा निर्वाचन गर्न सक्षम रहेको जानकारी पनि आयोगले सरकारलाई गराएको छ । 
 
मैनालीका अनुसार निर्वाचनको लागि दोस्रो चुनौतीको रुपमा आयोगको कार्इक्षेत्रभित्र नपर्ने राजनीतिक भागवण्डाको विषय रहेको छ । यसमा सरकारले यथासक्य चाँडो सहमति गरी आयोगलाई जानकारी दिने विश्वासमा अायाेग रहेकाे छ ।  
 
त्यस्तै, सरकारले तयार पारेर पठाउनु पर्ने ऐन कानूनहरु पनि स्थानीय निकायको निर्वाचनमा चुनौतीको रुपमा उभिएको छ । अहिले राजनीतिक दल सम्बन्धि विधेयक व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको उपसमितिमा नै अलपत्र परिरहेको छ । सो विधेयक निर्वाचनको लागि सबैभन्दा महत्वपूर्ण विधेयक हो । जसमा राख्न लागिएको थ्रेसहोल्ड लगायत केही विषयमा अझै सहमति हुन सकिरहेको छैन । 
 
त्यस्तै, स्थानीय निर्वाचनको चौथो चुनौती मतपेटिका व्यवस्थापनमा देखिएको छ । मैनालीका अनुसार अहिले तत्कालको लागि सरकारले ८० लिटरको २५ हजार मतपेटिका व्यवस्थापन गराईदिए बाँकी मतपेटिका पुरानैबाट काम चलाउने पक्षमा आयोग रहेको छ । तर, तत्काल सरकारले सो मतपेटिका आयोगलाई उपलब्ध नगराउने हो भने यो पनि निर्वाचनको चुनौती बन्ने उनले बताए । यससँगै निर्वाचनको पाँचौं चुनौतीको रुपमा सेक्युरिटी सिलहरुका कुरा रहेका छन् । 
 
आयोग अहिले कार्यतालिका तयार पार्न सक्रिय रहेको भन्दै प्रमुख आयुक्तले भनेजस्तै यसै साताभित्र निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आफूहरु रहेको मैनालीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ