arrow

सरकारबाट खुट्टा झिक्न छट्पटाउँदै मधेसी मोर्चा

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
morcha-09-03-3.jpg.jpeg

काठमाडौं । संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोपछि थप आन्दोलित भएको मोर्चाले अब सरकारसँग सम्बन्ध तोड्ने गरी आन्तरिक तयारी भइरहेको बताइँदैछ ।

यद्यपि, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सरकारलाई दिएको समर्थनबारे बहस भइरहेको सम्बन्ध तोड्ने वा नतोड्ने निचोडमा पुगिनसकेको बताएका छन् । हाम्रोकुरासँग नेता भण्डारीले भने, ‘समर्थनबारे छलफल भइरहेको हो । आइतबार मोर्चाको बैठक छ । सम्बन्ध राख्ने वा ताड्ने विषयले बैठकमा प्रवेश पाउनेछ ।’

तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले सचिवालयको बैठकमा केही नेताहरु सम्बन्ध तोड्नु पर्ने विषय उठाएपनि मोर्चाको बैठक नबसेकाले अहिले नै यकिन नभएको बताए । उनले भनेका छन्, ‘समसामयिक विषयमा बहस भइरहेका छन् । अर्कोतिर हामी आफ्ना आन्दोलनका कार्यक्रम बनाउनेमा बढी व्यस्त भएका छौं ।’ पछिल्लो समय गैरदलीय निर्वाचनको कुरा उठाएको मोर्चाले चुनाव रोक्ने वा विथोल्ने मध्ये एउटा विकल्प रोज्ने समेत बताइँदैछ ।

मोर्चाभित्र छलफल भइरहेको छ, नेता लालले भने, ‘सम्बन्ध भन्ने कुरा कुनैपनि बेला जोड्न र तोड्न सकिने कुरा हो । अहिलेको सरकारसँग सम्बन्ध तोडेपनि अब आउनेहरुपनि पुरानै अनुहारका भएकाले हामीले आन्दोलनलाई बढी जोड दिएका छौँ । परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित भएको खण्डमा सोच्न सकिने ठाउँ छ ।’

शनिबार तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बसेको सचिवालय बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन सरकार गम्भीर नदेखिएको निष्कर्ष निकाल्यो । स्थानीय तहको संख्या समेत निर्धारण नगरी सरकार निर्वाचनमा गएकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको नेताहरुले बताएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै फागुन ९ गते मोर्चाले तराईका जिल्लामा आउँदो २४ गतेसम्म भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको थियो । मोर्चा अहिले पनि आन्दोलनमा रहेको र आगामी कार्यक्रम तयार भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ