arrow

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव : भट्टराई

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
Baburam-bhattrai-stage.jpg.jpeg
रुकुम । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बताएका हुन् । 
 
पार्टी प्रशिक्षणका लागि रुकुम पुगेका भट्टराईले सोमबार काठमाडौँ जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए । अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने कुरामा उनले जोड दिए । 
 
विमानस्थलमा बोल्दै डा भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताए । 
 
शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनको भनाइ थियो । उनले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्ने खाँचो औँल्याए  । 
 
नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुङ्गोमा पुग्ने उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ