arrow

लगानी सम्मेलन : उद्घाटन सत्रमा कसले के भने ?

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
InvestMent_Summit_2017.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समृद्धिका प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन मुलुक एकमत रहेको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन’ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले सरकार बैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको बताए ।
 
शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले सम्मेलन नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउन आयोजना गरिएको उल्लेख गरे । राजनीतिक स्थायित्व र राजनीतिक दलबीचमा सहज अवस्था भएमात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने बताउँदै उनले नीति तथा नियम एवम् वातावरणलाई उपुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।  
 
उद्योग मन्त्रालय र लगानी वोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि यहाँ सुरु भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्ने नेपालमा लगानी गर्न आह्वान गर्दै अन्तर्राष्टिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताए । 
 
नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने बताउँदै उहाँले त्यसका सरकारले पहल गर्ने बताए । नेपाल अन्तर्राष्टिय लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै उनले संविधान जारी भएपछि नेपाल लगानीका लागि उपयुक्त अवसर भएको विश्वास दिलाए । सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने उनको विश्वास थियो । 
 
दोस्रो चरणको आर्थिक रुपान्तरणलाई अगाडि बढाएर आर्थिक लगानी र पूँजीलाई सुरक्षित गर्न सकिने बताउँदै सभापति देउवाले निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको जानकारी गराए । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउनका लागि आफूहरु प्रतिवद्ध रहेको बताए । उनले प्रमुख विपक्षी दलका नेताका रुपमा आफूले मुलुकको आर्थिक समृद्धिका लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने बताए । उनले मुलुकको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक छ भने । 
 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले सरकारले लगानीका लागि सबै वातावरण बनाउने उल्लेख गर्दै निरन्तर ऊर्जाको व्यवस्था गर्ने र नीतिगत व्यवस्था गर्ने आस्वस्त पारे । सरकारले परियोजना बैंक बनाएर लगानीका छनौट गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे । अर्थमन्त्री महराले नेपालमा लगानी गरेर फाइदा लिन पनि सहभागीलाई आग्रह गरे ।
 
कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौं युवाका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भन्ने सपना गर्ने लक्ष्य पूरा गर्नुपर्ने बताए । सम्मेलनका सहभागीलाई स्वागत गर्दै उनले नेपाल लगानीका लागि थुप्रै सम्भावना रहेको उल्लेख गर्दै उनले जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लागनी गरी तुलनात्मक लाभ लिन आह्वान गरे ।
 
लगानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार गरेको उल्लेख गर्दै उद्योग मन्त्री जोशीले लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना तथा खारेजीको वातावरण बनाउने बताए । आगामी १० वर्षमा नेपाली युवा रोजगारीका लागि विदेशीने अवस्था नदिनका लागि नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने उल्लेख गर्दै त्यसका लागि नेपाल लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने उल्लेख गरे ।
 
पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालमा प्रजातन्त्रको पुनःस्थापनासँगै अर्थतन्त्रमा उदारता अपनाउँदै गइएको उल्लेख गर्दै उदार राजनीतिक व्यवस्थासँगै मुलुकका सबै क्षेत्रको रुपान्तरण भएको बताए । उनले प्रजातन्त्रको स्थापनासँगै शिक्षा, स्वास्थ्य, समाजिक क्षेत्र, पूर्वाधार विकासमा लगानी वृद्धि हुनु र गरिबी निवारणका कार्यक्रमलाई अगाडि बढाइएको र त्यसले जनताको जीवनस्तर सुधार हुँदै आर्थिक गतिविधिमा सुधार आएको बताए ।
 
पूर्व अर्थमन्त्री डा महतले संविधान जारीसँगै नेपालमा विश्वकै उपयुक्त लगानीका लागि उपयुक्त अवसर भएकाले यहाँका विविध क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले ऊर्जा, कृषि, पर्यटलगायतका क्षेत्रमा अपार सम्भावना रहेकाले वैदेशिक लगानीका लागि नेपाल खुला रहेको बताए । 
 
राजनीतिक द्घन्द्वका कारण विकास तथा आर्थिक समृद्धिको गतिलाई केही समय अवरोध भएपनि सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको र वैदेशिक लगानीमा अवरोध भएको उल्लेख गरे । विकास तथा अर्थतन्त्रमा गरिएको पहिलो रिफर्मले मुलुकमा सामाजिक तथा विकास क्रममा सुधार ल्याएको भएपनि अब दोस्रो चरणको रिफर्म गर्ने अवस्था आएको उल्लेख गर्दै त्यसका लागि अन्तर्राष्ट्रिय मान्यताअनुसार अगाडि बढ्नुपर्ने बताए । 
 
उनले भने, निजी क्षेत्रको लगानीका लागि नेपाल खुला छ, मुलुकमा भएको मानव संशाधनलाई सदुपयोग गर्नुपर्छ, कडा परिश्रमी नेपाली जनशक्तिलाई न्युनतम श्रममा उपलब्ध छन्, लगानीका अवसर प्रयोग गर्न सकिन्छ । नेपालमा जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटलगायतका विविध क्षेत्रमा लगानी गर्न सकिने बताउँदै डा महतले नेपालको कार्बनमुक्त बजारलाई सदुपयोग गरेर अगाडि बढ्न सकिने उल्लेख गरे ।
 
सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक(आइआइबी)का अध्यक्ष जिन लिक्विनले विश्वव्यापिकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास आएको उल्लेख गरे । सामाजिक एवम् वातावरणीय रुपमा अगाडि बढाउन आइआइबी स्थापना भएको भन्दै आर्थिक समाजिक क्षेत्रमा लगानी गरेर अगाडि बढ्ने बताउँदै जनताको चाहनाअनुसार विकासलाई अगाडि बढाउने उल्लेख गरे । 
 
सरकार र जनतासँग नीति अनुसार छिटो, छरितो र कष्ट इफेक्टीभरुमा लागनी गरेर अगाडि बढ्ने बताउँदै त्यसका लागि नेपालको ऊर्जा एवम् प्रकृतिक क्षेत्रमा लगानी गर्ने बताए ।  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुकको सबै क्षेत्रले लगानीका लागि प्रतिवद्धता व्यक्त भएकाले यसले मुलुकमा वैदेशिक लगानीका लागि उपयुक्त अवसर भएको बताए । 
 
सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् । सम्मेलनलाई सम्बोधन गर्न भारतका अर्थमन्त्री अरुण जेट्ली बिहीबार अपराह्न नेपाल आउँदैछन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्राउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ