arrow

एमालेको मेची–काली अभियानः दैनिक हाजिरी, मदिरामा बन्देज

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
uml-office-dhumbarahi.jpeg
काठमाडौं । एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काकडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।
 
तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ ।
 
 र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।
 
६ भाषामा प्रचार र सांस्कृतिक अभियानः
 
अभियानमा सहभागी हुन आह्वान गर्दै एमाले कार्यकर्ताले नेपाली, भोजपुरी, मैथली, अवधी, थारू र डोट्याल गरी ६ भाषाको अपिलसहित घरदैलो गरिरहेका छन् ।
 
राष्ट्रिय जनसांस्कृतिक महासंघको अगुवाइमा तराईका मातृभाषाहरूमा देशभक्ति, सामाजिक सदभाव र राष्ट्रिय एकताका पक्षमा सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।
 
दैनिक हाजिरी, मदिरा निषेधः
 
एमालेले अभियानमा सहभागी हुने नेता–कार्यकर्ताका लागि १८ बुँदे तथा स्वयंसेवकका लागि नौबुँदे आचारसंहिता जारी गरेको छ ।
 
उनीहरूले दैनिक हाजिरीपुस्तिकामा हाजिर गर्नुपर्ने, सामूहिक मेस र आवासमा रहनुपर्ने, मदिरा र धूम्रपान सेवन गर्न नपाइनेलगायतका आचारसंहिता पालना गर्नुपर्नेछ ।
 
तराईवासीलाई अपाच्य हुने, बिझाउने या अनुचित लाग्ने कुनै कामकुरा गर्न निषेध गरिएको आचारसंहितामा छ । 
 
प्रवचन, सांस्कृतिक प्रस्तुतिलगायत कुनै वेला पनि कसैको भावनामा ठेस पुग्ने बोलीवचन, आचरण निषेध छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ