arrow

देउवाको प्रस्ताव मधेसी मोर्चाद्धारा ठाडै अस्वीकार

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
deuba-new.jpeg
काठमाडौं । सरकार गठनपूर्व भएको तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने अडान दोहोर्याएको छ । 
 
सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार भएको भेटवार्तामा मोर्चाका नेता महन्थ ठाकुरले सो अडान राखे ।
 
देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा ठाकुरले परिमार्जनसहित संविधान संशोधन नै मोर्चाको बटमलाइन भएको भन्दै संशोधनविना कुनै पनि निर्वाचनमा सहभागी नहुने प्रस्ट पारे ।
 
भेटमा देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन ठाकुरलाई आग्रह गरेका थिए । देउवाको सो आग्रहलाई ठाकुरले अस्वीकार गरेका छन् ।
 
 ‘देउवाजीले सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गर्नुभयो’, भेटपछि ठाकुरले भने, ‘मैले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभए सरकारलाई समर्थन दिएर बस्न नसक्ने र कुनै पनि निर्वाचनमा भाग नलिने प्रस्ट पारें ।’
 
देउवाले मोर्चा नेता ठाकुरलाई मधेसी मोर्चाकै मागअनुसार तराई–मधेसमा स्थानीय तहको संख्या बढाउन सरकार तयार रहेको समेत बताएका थिए । 
 
देउवाको बारम्बारको आग्रहपछि पनि ठाकुरले स्थानीय तह निर्वाचन स्थगित गरी संविधान संशोधन विधेयक पारित भए मात्र सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका थिए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ