arrow

भारतीय प्रहरीको कुटाइले थलिएका टीकाराम उपचारकालागि मन्त्री गगनलाई गुहार्दै

खर्च अभावमा अस्पतालबाट फर्किए घर

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७३ चैत ८ मंगलबार
chapagai_kanchanpur.jpeg
कञ्चनपुर । दुई साता अघि नेपाल भारत सीमामा पर्ने कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको कुटाईबाट गम्भीर घाईते भएका टीकाराम चापागाईँ मंगलबार उपचारको लागि आर्थिक अभाव भएपछि अस्पतालबाट घर फर्किएका छन् । सोही घटनामा ज्यान गुमाएका शहीद गोविन्द गौतमको मंगलबार नै १३ औं पुण्य तिथि सम्पन्न भएको छ । सोही दिन देशको लागि लडेर पनि पर्दा पछाडि परेका टीकाराम चापागाईँ भने १३ दिनसम्म अस्पतालमा बसेर अस्पताललाई तिर्ने शुल्क नभएपछि घर फर्किएको उनको परिवारले जानकारी दिएको छ । 
 
चापागाईँको शरीरमा दुखाईको मात्रा बढी रहेको उनका परिवारहरुले जानकारी दिए । अहिले उनी हिँडडुल गर्न त परैको कुरा आफैं शौचालय जान पनि सक्दैनन् । यस्तो अवस्थामा राज्यले पनि उनको बेवास्ता गर्नुले राज्य प्रशासनले जिम्मेवारीबोध नगरेकोमात्रै होईन कि घटनाले सीमामा बस्ने आम नेपालीलाई नै हतोत्साहित बनाएको स्थानीयहरुले गुनासो गरेका छन् । 
 
शहीद गौतमको परिवारलाई मेची महाकाली अभियानको क्रममा सुदूर पश्चिम पुगेका एमाले नेताहरुले ५ लाख रुपैयाँ दिए । उनका नावालक छोरीहरुलाई ल्यापटप पनि दिए । तर, पैसाको अभावमा दुई दिन पछि अस्पतलाबाट बाहिरिन बाध्य भएका चापागाईँलाई न त एमालेका नेताहरुको नजर गयो न त अन्य कुनै दाताको नै । उनको उपचारमा पैसाको अभावले चरम रुप लिन थालेपछि स्थानीयले अहिले स्थानीय स्तरमा नै चन्दा उठाएर सहयोग संकलन गर्न थालेका छन् । सीमारक्षाको लागि लड्दा घाईते भएकाको उपचार एकएक रुपैयाँ संकलन गरेर गर्नुपर्दा आम पुनर्वासबासीहरु भने निराश बन्न पुगेका छन् । 
 
त्यसो त १३ औं दिनको पुण्य तिथिको दिन नै सरकारका कृषि मन्त्री गौरी शंकर चौधरीले पुनर्वास पुगेर शहीद गौतमको परिवारलाई नेकपा माओबादी केन्द्रको तर्फबाट ६ लाख रुपैयाँ दिने घोषणा गरे । तर, उनले पनि विरामीको उपचारको लागि सहयोग दिने वचनसम्म दिन सकेनन् । उनी बाटो पारेर विरामीलाई भेट्न त गए । तर, त्यो नित्तान्त भेटमा मात्रै सीमित भयो । 
 
पीडितको भरोसा स्वास्थ्यमन्त्री माथि 
उता, उपचारको लागि आर्थिक अभावमा अस्पतालको शैयाबाट घरको विस्तारामा विस्थापित हुन पुगेका चापागाईँमा भने अझै पनि आशाको दियो मरेको छैन । उनले अहिलेका स्वास्थ्य मन्त्री गगन थापा माथि भरोसा देखाएर आफू उपचारको अभावमा जीवनभरी नै अपांग बन्ने अवस्था नआउने विश्वास लिएका छन् । उनले स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो अवस्थाको बारेमा जानकारी लिएको पनि हुनसक्ने विश्वास व्यक्त गर्दै उपचारमा सहयोग गर्न आफ्नो सन्देश मन्त्री थापा समक्ष पुर्याईदिन समेत आग्रह गरे ।  
 
के भन्छन् प्रमुख जिल्ला अधिकारी 
उता, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले भने घाईते चापागाईंको उपचारमा लाग्ने खर्च माग गरि मन्त्रालयलाई पत्र पठाएको जनाएका छन् । मंगलबार हाम्राकुरासँग कुराकानी गर्दै खनालले मन्त्रालयले पैसा निकाशा नगरुन्ज्यालसम्मको लागि भनेर स्थानीय नगरपालिकालाई उपचार खर्च दिनको लागि निर्देशन समेत दिईसकिएको जानकारी दिए । 
 
खनालले उनको उपचारको लागि सम्पूर्ण खर्च भने सरकारले नै बेहोर्ने तर रकम निकाशा नभएकोले उनलाई पैसा दिन नसकिएको स्वीकारे । नगरपालिकालाई १५ हजार दिनको लागि प्रशासनले निर्देशन दिएको भएपनि नगरपालिकाबाट समेत सो रकम हालसम्म पनि प्राप्नत नभईसकेको घाईतेका पसरवारले जनाएका छन् । उनको उपचारपछिको क्षतिपूर्तिको बारेमा भने स्थानीयले केही पनि माग नगरेकोले आफूहरुले मन्त्रालयमा लेखी नपठाएको स्वीकार्दै स्थानीयले माग गरेको खण्डमा उनको उपचारबाहेक पनि थप क्षतिपूर्ति रकम दिन सकिने जानकारी दिए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ