arrow

अन्योलकाबीच प्रचण्डको चीन भ्रमण : उनकै सल्लाहकार भन्छन्–चीनमा तयारी छैन

सदभावना भ्रमण कि घुमफिर ?

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
PM-dahal-news.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल हाइनान प्रान्तको बोआओमा चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिने गरी साताव्यापी चीन भ्रमणमा निस्कँदै छन् । विहिबार राति प्रधानमन्त्री दाहाल त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । उनको निजी सचिवालयका अनुसार प्रधानमन्त्री दाहाल बोआओ सम्मेलनमा मात्र सहभागि हुने छैनन्, चीनको औपचारिक भ्रमण गर्ने छन् ।

बोआओ सम्मेलन भन्दा प्रधानमन्त्री दाहालको प्राथमिकता उच्चस्तरीय भेटघाटमा हुनेछ । दाहाल प्रधानमन्त्री भएपछि चीनको औपचारिक भ्रमण गरेका थिएनन् । यसै मौकालाई उनले औपचारिक भ्रमणमा रुपान्तरण गर्दै छन् । भ्रमणलाई औपचारिकतामा ढालेपछि मात्रै बोआओ सम्मेलनमा सहभागि हुने तयारी रहेको प्रधानमन्त्रीका मुख्य प्रशासनिक सल्लाहकार नारायण प्रसाद दाहालले हाम्राकुरालाई जानकारी दिए ।

उनका अनुसार भ्रमण औपचारिक नै हुनेछ । यद्यपि, उनि आफैले भनेका छन्, ‘चिनियाँ पक्षबाट खासै तयारी भएको छैन । नेपालको तर्फबाट विशेषतः यसअघिको सरकारले गरेका सम्झौताको कार्यान्वयनका विषयमा छलफल हुनेछ । दुई देशको सम्बन्धबारे प्रष्ट्याउने कुरा छ । आर्थिक र व्यापारिक साझेदारीबारे उच्चस्तरमा कुरा हुनेछ ।’ यो सदभावना भ्रमण हो । प्रधानमन्त्री दाहालले समेत पूर्वप्रधानमन्त्री र विज्ञहरुसँगको भेटमा आफु सदभावना भ्रमण गर्न लागेको बताएका छन् ।

प्रधानमन्त्रीले सद्भावना भ्रमण भनेपनि विज्ञहरुले भने यसलाई औपचारिकता निभाउने जुक्ति मात्रै भनेका छन् । प्रधानमन्त्री दाहाललको प्रशासनिक सल्लाहकारको भनाईले भ्रमण एजेण्डा विहिन रहेको र दाहाल दिमागी बोझ घटाउन एवं मन शान्त पार्न मात्रै चीन जान लागेको संकेत गरेको छ । सल्लाहकार दाहालले नै भनेका छन्, ‘हाम्रो प्रधानमन्त्री चाइना बस्दा चिनियाँ प्रधानमन्त्री भियतनामको भ्रमणमा हुने छन् । त्यो पूर्व निर्धारित कार्यक्रम थियो । राष्ट्रपति सी जिन पीङसँग मात्रै भेट हुनेछ । चीनमा खासै तयारी छैन ।’
भेटमा के–के हुन्छ ?
प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा कुनै सम्झौता नहुने बताइएको छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी जीन पीङसँग राजधानी बेइजिङमा शनिबार छोटो समयका लागि भेटको वातावरण मिलाइएको छ । यद्यपि, प्रधानमन्त्रीको भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र विदेश मन्त्री चीनमा नरहने भएकाले नेपालका तर्फबाट सबै तयारी गरिएपनि कुनै औपचारिक सम्झौता नहुने बताइएको छ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपाल भ्रमणबारे कुरा गर्ने उनका प्रशासनिक सल्लाहकारले बताए । यस्तै, भेटका क्रममा मुख्य गरी केरुङ–काठमाडौँ– पोखरा–लुम्बिनी रेलमार्गबारे छलफल हुने सल्लाहकार दाहालले बताएका छन् । तातोपानी नाका खोल्नेबारे चैँ केही कुरा हुँदैन ? उनले भने, ‘तातोपानी नाका खोल्नेबारे चीन सकारात्मक नै छ भन्ने कुरा आएको छ । नेपालकोतर्फबाट पनि कुरा राखिन्छ ।’ भ्रमण टोलीमा आफु नजाने बताएका दाहालले परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार, परराष्ट्र सचिवसहित १५ जना जाने जानकारी दिए । प्रधानमन्त्रीको टोलीमा सुरक्षा निकायका अधिकारी र व्यापारी पनि रहनेछन् ।

आचारसंहिता कुल्चेर भ्रमण गर्नुको पछाडी के छ ?
देशको कार्यकारीको भ्रमण त्यतिकै हुँदैन, सल्लाहकार दाहालले भने, ‘बोआओ सम्मेलन पनि परेको छ । प्रधानमन्त्री एक पल्ट गएर फेरि यो छुट्यो त्यो छुट्यो भनेर जाने कुरा भएन । ता कि व्यावारीले जस्तो सम्मेलनमा फलानोसँग भेट भएन फेरि भेटेर आउँ भन्न मिल्दैन । सम्मेलनकै सन्दर्भलाई मिलाएर औपचारिक भेटघाटको कार्यक्रम मिलाइएको हो । दुई देशको सम्बन्धको कुरा छ ।’ भ्रमणलाई अनावश्यक भन्नु भएन । यो भ्रमण आवश्यक नै थियो ।

चिनियाँ राष्ट्रपतिको भ्रमण गराउनु छ, उनले थपे, ‘त्यसको वातावरण बनाउनु छ । पहिलेको सरकारले गरेका सम्झौताहरुबारे छलफल गर्नु छ । कार्यान्वयनका पक्षमा परामर्श गर्ने कुरा छ ।’ निर्वाचन आचारसंहितालाई प्रधानमन्त्री आफैले कुल्चिएपछि अरुले के गर्लान् ? जवाफमा उनले भने, ‘देशको कार्यकारीलाई नै बाहिर जान रोक्ने हो भने देश कसरी चल्छ ? । चीनमा गएर उहाँ चुनावी प्रचार गर्ने त होइन नि ! त्यहाँ गएर भोट माग्ने होइन । कुनै उद्घाटन गर्ने पनि होइन । आचारसंहिता लाग्ने भनेको चुनावी प्रचार प्रसार हुने गरी कतै शक्तिको दुरुपयोग हुन्छ कि भन्ने हो । चीनमा गएर उहाँले चिनियाँ नागरिकलाई मेरो पार्टीलाई भोट हाल्नुस् भन्ने होइन नि । यो विरोधी भावना जोगाउने कुरा मात्रै हो । विदेशमा आचारसंहिता कुल्चिने के काम हुन्छ ? कुनै सन्धि सम्झौता नहुने भनिएकै छ । खाली भेटघाट हुन्छ ।’

देश लथालिङ्ग छ, चुनाव नगर्ने हाे ?
मधेसी मोर्चासँग कुरा भइरहेकै छ । आइजीपी नियुक्त गर्ने कुरा गृहमन्त्रालयको काम हो । उसले गृहकार्य गरिरहेको छ । केही परे परामर्श लिन टेलिफोन सुविधा छ,–विस्तारमा उनले भने । भएका विषयलाई उचाल्नु भ्रमणको विरोध गर्नु हो, उनले थपे, ‘यसमा सकारको जिम्मेवारीको कुरा आउँछ । विदेश नजा भने भन्न मिल्दैन ।’ तर, एजेण्डा विनाको भ्रमणको अर्थ के ? जवाफमा उनले भने, ‘देशको कार्यकारी जस्तो व्यक्ति अर्थ नभई बाहरि जाँदैन । त्यो पनि विभिन्न चुनौतीका बाबजुद ।

अर्को कुरा प्रधानमन्त्री बारम्बार जाने कुरा पनि हुँदैन ।’ प्रधानमन्त्रीले भ्रमण आफै स्वीकृत गरेकोबारे कुरा गर्दै प्रशासनिक सल्लाहकार दाहालले भने, ‘क्याविनेट बस्न मन्त्रीहरु आएपनि वुधबार प्रधानमन्त्री छलफलमै व्यस्त भएकाले बैठक बसेन । भ्रमण स्वीकृत भएन ।’

एजेण्डाविहिन भ्रमण
प्रधानमन्त्री दाहाललको भ्रमण एजेण्डाविहिन देखिएको छ । कुटनीतिक रुपमा पूर्व तयारी नगरी प्रधानमन्त्री दाहालले हचुवा तालमा औपचारिक भ्रमण गर्दैछन् । परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा कुनै सम्झौता नहुने स्पष्ट पारिसकेका छन् । भ्रमणका क्रममा सम्झौता नभएपनि भूकम्पपछि बन्द भएको कोदारी नाका खोल्नेबारे प्रधानमन्त्री दाहालले कुटनीतिक रुपमा पहिल्यै चीनलाई कुनै जानकारी गएका छैनन् ।

भेटमा प्रधानमन्त्रीले हात जोडेर नाका खोलिदिनुस् भन्ने बाहेक खासै तयारी नगरेको बताइँदैछ । प्रधानमन्त्री दाहाल विना तयारी यसअघिका सम्झौताबारे छलफल गर्ने सुरमा रहेकाले यसले चीनले दाहालमाथि गरेको शंका समेत नमेटिने एक जना विज्ञले हाम्राकुरालाई बताएका छन् । उनले भनेका छन्, ‘यसअघि भएका सम्झौता कार्यान्वयन गर्न सक्छ कि सक्दैन भनेर चीनले नेपाललाई शंका गरिरहेको छ । त्यो शंकाको घेरामा प्रधानमन्त्री दाहाल परेका छन् । तयारी नभएको हेर्दा उहाँले त्यही शंका मेटाउन मात्र जान लाग्नु भएको जस्तो छ । खाली मुखले बोलेर केही उपलब्धि हुनेवाला छैन ।

छलफल मात्रै भएपनि र सम्बन्ध सुधार्ने कुरा भएपनि एक महिना अघि देखिनै कुटनीतिक तवरले कुरा हुनु पथ्र्यो । त्यो भएको जस्तो लाग्दैन ।’ खाली राजदूत लिलामणि जीलाई मलाई भेट्ने वातावरण मिलाउनुस् भनेर भ्रमण तय गरेको जस्तो लाग्यो । याे त फुर्सदमा घुमफिर जस्ताे देखियाे, उनले भनेका छन् ।

परराष्ट्रमन्त्री भन्छन् यस्तो तयारी थियो
नेपालकातर्फबाट कनेक्टीभिटी, रेल–वे, सडक निर्माण, ट्रान्समिसन लाइन, पारवहन र वान बेल्ट वान रोड लगायतका विषयमा सम्झौताका लागि सबै तयारी पूरा भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताएका छन् । यद्यपि, महतले चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्रीको पूर्वनिर्धारित कार्यक्रमले चिनियाँ पक्षको तयारी नभएको जानकारी दिए । प्रधानमन्त्री दाहालसँग मन्त्री महत पनि जाँदै छन् ।  शनिबार चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्रीले १२ गते शनिबारै बोआओ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ