arrow

सशस्त्र प्रहरीलाई पक्राउ पूर्जी जारी गर्ने अनुमति नदिन सुझाव

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
sasastra-prahari.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जी जारी गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी नियमावली संशोधनले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएपछि विवाद उत्पन्न भएको थियो । 
 
समितिले डेढ वर्ष लामो अध्ययनपछि तत्काल अधिकार नदिन सुझाव दिएको हो । २०७२ भदौ ५ गते राज्य व्यवस्था उपसमिति बनाएर अध्ययन थालिएको थियो । उपसमितिले आइतबार समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो ।
 
त्यस प्रतिवेदनलाई समितिले आइतवार नै पारित गरेको छ । उपसमिति संयोजक सांसद् मानप्रसाद खत्रीले तत्काललाई हालकै व्यवस्थाअनुसार काम गर्न सुझाव दिइएको बताए ।
 
‘पक्राउ पुर्जी प्रहरीभन्दा पनि नागरिकको अधिकार हो, नियमावली संशोधनकै भरमा पक्राउ पुर्जी दिन सकिन्न, अधिकार दिने नै भएमा मन्त्रालयगत समन्वय गरी ऐनको व्यवस्था परिमार्जन गर्न सुझाव हाम्रो छ,’ खत्रीले भने, ‘हाललाई भने प्रचलित व्यवस्थाअनुसार अधिकार क्षेत्र उपयोग गर्न सुझाव दिएका छौँ ।’
 
सशस्त्रलाई कस्तो अधिकार दिने भन्ने विषय नियमावलीमा नभई ऐनमा नै व्यवस्था गर्न समितिले सरकारलाई सुझाव दिएको छ । 
 
यस्तै, दुई प्रहरी सङ्गठनबीच समन्वयात्मक भूमिका स्थापना गर्न पनि सुझाव दिएको छ ।
 
समितिले सशस्त्र प्रहरी बलको अधिकार सरकारी मुद्दासम्बन्धी ऐनको व्यवस्थामा प्रतिकूल नहुने गरी व्यवस्था गर्न पनि सुझाव दिएको छ । 
 
समितिबाट पारित प्रतिवेदनले अधिकार क्षेत्र विवाद हुँदा सार्वजनिक सुरक्षामा नै असर पर्ने भएकाले समन्वयात्मक भूमिका खेल्न सरकारलाई सुझाव दिएको छ ।
 
सशस्त्र प्रहरी बलको गठन अनुसारको अधिकार क्षेत्रमा रहन समितिले सरकारलाई सचेत गराएको छ । 
 
पारित प्रतिवेदनमा भनिएको छ, ‘जुन उद्देश्यका साथ सशस्त्र प्रहरी बल गठन भएको हो, सशस्त्र प्रहरी बलको अधिकार क्षेत्र पनि सोही अनुरूप हुनुपर्दछ ।’ (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ