arrow

कमल थापालाई निर्वाचन आयोगको चेतावनी 

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
kamal-thapa-new.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचन आयोगले चेतावनी दिएको छ । आयोगले आफ्नो विधानबाट हिन्दूराष्ट्रको एजेण्डा हटाएको विषयमा आयोगप्रति लगाईएको लान्छना तथा आयोगका निर्णयहरु जलाईएको प्रति ध्यानाकर्षण गर्दै आयोगले यस्ता गतिबिधि नदोहोर्याउन पनि भनेको छ । 

नेपालको संविधानले व्यवस्था गरेअनुसार निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व स्वतन्त्ररूपमा निर्वाह गरिरहेको छ र आयोग २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटेको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा भनिएको छ ‘आयोगले गरेको कार्य सम्पादनलाई लिएर सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहनुभएका सो दलका नेताबाट व्यक्त भएका भनी आमसञ्चार माध्यमबाट प्रकाशित भएका विचार र उहाँको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सो पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउने तथा सो व्यहोराको विज्ञप्ति जारी गर्नेसम्मका क्रियाकलाप भएको र मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलको तर्फबाट भएका त्यस प्रकारका विज्ञप्ति र क्रियाकलापबाट आयोग मर्माहत भएको आयोजले जनाएको छ । 

नेपालको संविधान र कानून अनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानून अनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन आयोगले ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ