arrow

ओलीलाई प्रचण्ड वाण : मेची–महाकाली अभियान चलाउनेहरु पराजित हुन्छन्

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
pm_jhapa.jpg

झापा, विर्तिामोड । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापा पुगेर नेपालको राजनीतिक इतिहासमा अहङ्कारीहरुले निर्वाचनमा हार्ने गरेको बताएका छन् । अखिल क्रान्तिकारी र बाइसिएल झापाको संयुक्त सम्मेलनको उद्घाटनमा  दाहालले अहङ्कारीहरुलाई जनताले हराउने गरेको बताएका हुन् ।

जनसभालाई सम्बोधन गर्दै दाहालले भने, ‘मेची–महाकाली अभियान चलाएका कुनै पनि शक्तिले निर्वाचन जितेको इतिहास छैन । गीरिजा बाबूले भन्नुहुन्थ्यो, देशैभरि जितिन्छ जस्तो लागेर मेची महाकाली अभियान चलाइयो । तर, नराम्रोसँग हारियो । माओवादीको पनि त्यस्तै भयो । २०६४ मा हामीमा शक्तिको दम्भ थिएन, चुनाव जित्यौं ।’ दाहालले अगाडि थपे,  ‘२०७० मा हामीमा पनि अहङ्कार पलायो, सबै पार्टीलाई भुसुना देख्न थाल्यौं, देशैभरि जित्ने भनेर मेची–महाकाली अभियान चलायौं । तर, नराम्रोसँग पराजित भयौँ । अहिले केपीजी र एमालेका साथीहरु त्यही मेची–महाकाली अभियान चलाउँदै हुनुहुन्छ ।’ हाम्रो जस्तै हविगत नहोला भन्न सकिँदैन ।

अहिले माओवादीमा अहङ्कार नभएको प्रधानमन्त्री दाहालले बताए । दाहालले भने,  ‘अहिले हामी अहङ्कारमा छैनौं । गम्भीर र जिम्मेवार भएर राजनीतिक निकास र आर्थिक समृद्धिका लागि लागेका छौं । देशमा राजनीतिक परिवर्तन भयो । तर, जनताको जीवनमा परिवर्तन आएन । मेरो नेतृत्वमा सरकार बनेदेखि नै हामी जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई गलत सावित गर्न लाग्यौं र सफल पनि भयौं । दैनिक १८ घण्टा अन्धकार हुने देशमा लोडसेडिङ अन्त्य गरेका छौं । ०.८ प्रतिशतको आर्थिक बृद्धिदरलाई ६.२ प्रतिशतसम्म ल्याएका छौं । विकास आयोजनाहरुको काम तीब्रताका साथ अघि बढिरहेका छन् । फास्ट ट्रयाक हामी आफै बनाइरहेका छौं । छिमेकीहरुसँगको सन्तुलित सम्बन्ध विकास गरेका छौं । विदेशमा रहेका नेपालीहरुको पीडामा मल्हम लगाएका छौं । संविधान कार्यान्वयनका लागि प्रतिवद्ध भएर निर्वाचनमा लागेका छौं । यसले हामीलाई विजयी गराउने छ ।’

वैशाख ३१ गते घोषणा गरिएको निर्वाचन कुनै हालतमा नरोकिने दाहालको जिकिर छ । उनले थपे, ‘कतिपयमा बैशाख ३१ गते निर्वाचन हुँदैन कि भन्ने शंका छ । तर, आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन । निर्वाचन रोक्न विभिन्न चलखेल सुरु भएका छन् । तर, सरकार हरहालतमा बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न लागिपरेको छ । सरकारको निर्वाचन सम्पन्न गर्ने अभियानमा कसैले अवरोध गरे मैले जनतालाई अपील गर्नेछु, सिङ्गो देश त्यसका विरुद्ध उभिनेछ र निर्वाचन सम्पन्न भइछाड्ने छ ।’

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जित्ने दाहालको भनाई छ । उनले भने, ‘वैशाख ३१ गते हुने निर्वाचन गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । गाउँ–गाउँमा सिंहदरबार खडा गर्ने गाउँ सरकारको निर्वाचन हो । निमूखा जनता सिंहदरबार छिरेर आफ्नो अधिकार लिन सक्दैनथे, अब माओवादीले सिंहदरबार जनताको गाउँ–नगरमा ल्याई दिएको छ । माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरबारको नारा लिएर जनतामा जानुस्, त्यसले निर्वाचनको वातावरण थप बलियो बन्नेछ र माओवादी केन्द्र पनि विजयी हुनेछ ।’

निर्वाचनको विरोध गर्ने शक्तिहरु पनि चुनावमा आउनैपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । प्रधानमन्त्री दाहालले भने, ‘माओवादीले नजितोस् । तर, निर्वाचन सम्पन्न हुँदा देशले जित्छ । मैले मधेशी मोर्चाका नेताहरुलाई पनि भनेको छु, तपाईहरु निर्वाचनमा आउनुहोस्, निर्वाचनमा आउनु भएन भने तपाईहरुले ऐतिहासिक गल्ती गर्नुहुनेछ, जुन गल्ती भोलि सच्चाउन असम्भव हुनेछ । जनताबाट अलग भएर राजनीति गर्ने सोंच तपाईहरुकै लागि आत्मघाती हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ