arrow

विवादले डढेको नेपाली क्रिकेट : खेलाडीले १५ महिनापछि तलब पाउँदै

तलब दिने आइसीसीको निर्णय, कोमार्फत दिने भन्ने यकिन भएन

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
nepali-_ck_toli.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले १५ महिनासम्म नेपाली खेलाडीले पाउन नसकेको पारिश्रमिक एक मुष्ठ दिने निर्णय गरेको छ ।

आइसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको पारिश्रमिक उपलब्ध गराउन आईसीसी डेभलपमेन्ट कमिटीले राखेकाे प्रस्ताव स्वीकृत गरेको हो ।

आइसीसीले पारिश्रमिक मात्रै दिने निर्णय मात्रै गरेको र कोमार्फत कसरी दिने भन्ने विषयमा जानकारी नगराएको नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले हाम्राकुरालाई बताए ।

कप्तान खड्काले आफुहरुले सन् २०१६ को जनवरी देखिको पारिश्रमिक नपाएको जानकारी दिए । उनले भने, ‘हामीले डिसेम्बर २०१५ सम्मको मात्रै पारिश्रमिक लिएका छौँ । कन्ट्रयाकको पारिश्रमिक नपाएको १५ महिना भयो ।’ बाहिर क्रिकेट खेल्न गएको टिकटको रकम समेत नेपाली खेलाडीले पाएका छैनन् ।

लामो समय चलेको विवादले नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडीहरुको पारिश्रमिक र सम्झौता नविकरणमा समस्या भएको छ । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो । आइसीसीले क्यानलाई निलम्बन गरेको अर्को हप्ता एक वर्ष पुग्दैछ ।

आइसीसीले पछिल्लो समय नेपाली क्रिकेटको विवाद मिलाउन सल्लाहकार समूह गठन गरेपनि खेल र खेलाडीबारे आइसीसीले आफैले निर्णय गर्दै आएको छ ।
 

किन ढिला भो खेलाडीको पारिश्रमिकमा ?
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशव कुमार विष्टले भने, ‘सबै आइसीसीले नै हेरिरहेकाले ढिलाई भएको हो । हामीले पारिश्रमिक, टिकट र भत्ताको विवरण समयमै पठाइदिएका थियौँ ।’ सदस्य सचिव विष्टले आफुहरुले पत्राचार गरेपछि मात्रै आइसीसीले यो निर्णय गरेको हो, भने । यद्यपि, खेलाडीलाई को मार्फत पारिश्रमिक दिने भन्ने निर्णय नआएको विष्टले बताए ।
 

सल्लाहकार समूहले के गर्दै छ ?
नेपाली क्रिकेटको विवाद मिलाउन र क्रिकेटको स्वतन्त्र निकाय खडा गर्न बनाइएको सल्लाहकार समूहले विधानको मस्यौदावारे परामर्श गरिरहेको छ । मस्यौदा तयार भई पारित भएपनि निर्वाचनको प्रक्रिया थालनी गर्ने तयारी रहेको सदस्यसचिव विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ