arrow

चुनावमा सेना परिचालन गर्ने प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न गरेको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । चैत २९ को मन्त्रिपरिषदले सेना परिचालनको स्वीकृति लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले गरेको सिफारिस राष्ट्रपतिले विहिबार स्वीकृति गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीले जारी गरेको प्रेस नाेटमा उल्लेख छ । नेपाली सेनाको परामाधिपति राष्ट्रपति हुन् ।

रक्षा मन्त्रालयका अनुसार अब सेना निर्वाचन सुरक्षा प्रयोजनका लागि ब्यारेक बाहिर निस्कनेछ । सेनाले निर्वाचन सुरक्षाको बाहिरी घेरा र सम्वेदनशील स्थानहरुको सुरक्षा जिम्मेवारी लिनेछ ।
गृह मन्त्रालयले बनाएको सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीमा रहेका कार्यालयको सुरक्षा जिम्मा पनि निर्वाचन अवधिभर सेनाले पाउने बताइएको छ । यस्तै, सेनाले देशभरका निर्वाचन क्षेत्रदेखि मतदान केन्द्रसम्म बाहिरी घेरा सहित नियमित पैदल गस्ती गर्नेछ ।

निर्वाचनका लागि आवश्यक सामाग्रीको हवाई ढुवानी र ओसारपसारको जिम्मेवारी पनि सेनाले पाएको छ । दोस्रो संविधानसभा निर्वाचनकै सुरक्षा योजना अनुसार विकट हिमाली जिल्लाका लागि निर्वाचन आयोगको आवश्यकता अनुसार सैन्य विमान प्रयोग हुने बताइएको छ ।
यस्तै, सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित निर्वाचन विरोधी गतिविधी रोक्न सेनाको विशेष फौज सक्रिय हुनेछ ।

राष्ट्रपति कार्यालयकाे जानकारी
सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली सेनाको परिचालनको लागि स्वीकृति प्रदान
१४ बैशाख २०७४, बिहीबार १७:२९    

आज मिति २०७४ साल बैशाख १४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७३/१२/९ को निर्णय, मन्त्रिपरिषद्को मिति २०७३/१२/२९ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७३/१२/२९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ