arrow

मतदानमा ज्येष्ठ नागरिक बढी उत्साही

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
madhab_ghimire.jpg

ललितपुर । बागडोलकी ८८ वर्षीया रत्नकुमारी महत आफूले हालेको मत खेर नजानेमा ढुक्क छन् । ज्येष्ठ नागरिक भएकाले लामवद्ध नभईकन सहजै मतदान गरी घर जाने तर्खरमा रहेकी उनले टन्टलापुर घामकाबीच उत्साही हुँदै भनिन्, “आफ्नो मत दिन पाइयो, रमाइलो लागिरहेको छ ।”

ललितपुर महानगरपालिका–४ धोबीघाटका ७१ वर्षीय विष्णु खत्री दुई दशकपछि स्थानीय निर्वाचनमा भाग लिन पाउँदा धेरै फरक महसुस भएको बताँछिन् ।  “हामीले हाम्रो दायित्व पूरा गरेका छौँ, अब जितेर आउनेले के गर्छन् त्यो हेर्न बाँकी छ”, उनले भनिन् ।

बागडोलकै ६८ वर्षीय केदारमान श्रेष्ठलाई पनि मत हाल्न लाइन बस्नु परेन । सुरक्षित र शान्तिपूर्ण रुपमा मत हाल्न पाएकामा उनी खुसी छ ।  महानगरको वडा नं १३ कुसुन्तीमा मत खसालेका ६८ वर्षीय सत्यनारायण दर्शनधारी बिहानै पहिलो चरणमा मत हाले पनि दिउँसो आफूभन्दा अशक्त र वृद्धवृद्धालाई मत हाल्न सिकाउने स्वयम्सेवी काममा खटिएका छन् । “मतपत्र अलि ठूलो भयो तर त्रुटि गरिएन जस्तो लाग्छ ।” मतदानमा कुनै दल वा व्यक्तिको प्रभाव र दबाब खेप्नुनपरेको, उनले भने ।

महानगरपालिका–१५ सातदोबाटोस्थित महेन्द्र आदर्श मावि केन्द्रमा मत हाल्नुभएका ६६ वर्षीय दानबहादुर कटवालले मतपत्र ठूलो भए पनि छाप लगाउने ठाउँ साँघुरो भएको अनुभव सुनाए ।  महानगर वडा नं १२ मङ्गलबजारमा मत खसालेका ६५ वर्षीय चन्द्र अवालेलाई पनि रमाइलो अनुभूति भयो । उनी भन्छन्,  “मैले मत दिएको दल र उम्मेदवारले जित्छ, जितेन भने जसले जितेको हुन्छ, त्यो मैले मत दिएको मान्छे हुन्छ ।”

मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्ने लोकतान्त्रिक उत्सवको यस अवसरलाई आफ्ना कठिनाइलाई ध्यान नगरी ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्ति उत्साहपूर्वक मतदानमा सहभागि छन् । मतदान केन्द्रमा उनीहरुका लागि लाइन बस्नु नपर्ने र मतदान प्रक्रियामा कुनै अन्योल भएमा सिकाइने प्रबन्धसमेत गरिएको थियो । कतिपय मतदान केन्द्रमा खानेपानी र स्वास्थ्य स्वयम्सेवकको पनि सुविधा पाइएको थियो भने कतिपय केन्द्रमा लामो लाइनका कारण असुविधा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ