arrow

काठमाडौँका मतदान केन्द्रमा जे देखियो ?

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
ele_-_Kiriyaputri.jpg

काठमाडौँ । “अन्ततः भोट हाल्ने दिन आयो । भोट हाल्न आउने बेलासम्म पनि मनमा एक खालको डर थियो, ” ७० वर्षीया भीमादेवी सापकोटाले भन् ।

काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजु माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान ६ बजे नै लाइन बसेकी सापकोटाले मतदान गरेपछि ढुक्क लागेको बताइन् ।

पहिलोपटक निर्वाचनमा सहभागी हुन पाउँदाको अनुभव सुनाउँदै मनमैँजुकी २१ वर्षीया कमला पाठकले मतदान गर्दा अलमल भएको सुनाइन्  । राजनीतिक अस्थिरताका कारण झन्डै दुई दशक प्रतिनिधिविहीन भएका स्थानीय तहमा यो निर्वाचनले विकासका नयाँ आशा र विश्वास जगाएको मतदान केन्द्रमा पुगेका मतदाताले उत्साहपूर्वक व्यक्त गरे ।

स्थानीय निर्वाचनमा मतदान गर्न आएका धेरै मानिस निकै खुसी र उत्साहित देखिएका थिए । ठाउँठाउँमा मानिस भेला भएर चुनावबारे छलफल गरिरहेका थिए भने मतदान गरेर बाहिर आएकालाई मतदान गर्न जानेले कसरी मतदान गर्ने भन्ने जिज्ञासा राखिरहेको पनि देखियो ।

यस्तै, काठमाडौँ महानगरपालिकाको गल्कोपाखास्थित एभरेस्ट माविमा मतदान गरेपछि सुनीलकुमार घिमिरेले निर्वाचनले सबै नेपाली जनतामा उत्साह छाएको बताए ।

“जनताले व्यग्र प्रतीक्षा गरेकाले पनि आज शान्तिपूर्णरुपमा लामबद्ध भएर रमाएर मत हालिरहेका छन्, स्थानीय तहको निर्वाचन हरेक पाँच वर्षको अन्तरालमा भइरहोस् भन्ने कामना छ ।” उनले भने । अहिले देखिएको मतपत्रबारे अन्योल हरेक समयमा निर्वाचन भइरहेमा हटेर जाने उनको विश्वास छ ।

काठमाडौं जिल्लामा काठमाडौँ महानगरपालिकासहित नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, तारकेश्वर, दक्षिणकाली, कागेश्वरी मनोहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बूढानीलकण्ठ गरी १० नगरपालिकामा मतदान भएको थियो ।

त्यसैगरी, वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र, कोटेश्वरबाट मतदान गरे । काठमाडौँका विभिन्न मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला पनि खुसी व्यक्त गर्दैै मतदान गरे ।

जनतामा मतदानका लागि कति प्रतिक्षा थियो भन्ने कुरा मध्य बानेश्वरस्थित रत्नराज्य माविमा मतदानका लागि छोराको सहयोगमा अक्सिजन लगाई उपचारमा रहनुभएका ७५ वर्षीय ज्येष्ठ नागरिकबाट मतदान भएकोबाट पनि पुष्टि हुन्छ ।

कोटेश्वर, नयाँ बानेश्वर, अनामनगरलगायतका मतदान केन्द्रमा मतदाता बिहानै ५–६ बजेदेखि नै लाइनमा बसेका थिए । मतदान बिहान ७ बजेदेखि सुरु भएको थियो । बूढानीलकण्ठ–१० कपन चाटर बालुवाखानीका थरेन्द्र बरालले आफ्नो एउटै परिवारको मतदाता नामावली फरकफरक केन्द्रमा परेकाले समस्या भएको गुनासो गरे ।

कामपा–३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र, कोटेश्वरबाट मतदान गरेका छन् ।  कोटेश्वरमा २२ वर्षीया श्रद्धा, कुसुम र अञ्जलि सिंहले मतदान गरेका हुन् ।

काठमाडौँ जिल्लामा ६८७ मतदान केन्द्र छन् । त्यसमध्ये महानगरका ३२ वडामा मात्रै ३४० मतदान केन्द्र रहेका छन् । जिल्लामा पाँच लाख ५९ हजार ४०० मतदाता छन् भने महानगरपालिकामा दुई लाख ७९ हजार ३१६ जना मतदाता थिए । कामपामा १५९ पदका लागि कुल ८६४ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाबाट कुल ७१२ जना निर्वाचित हुनेछन् ।

पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशभित्र पर्ने मुलुकका ३४ जिल्लामा आज निर्वाचन भएको हो । अन्य जिल्लाको तुलनामा काठमाडौँमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न भएको देखियो ।

निर्वाचन आयोगका निर्वाचन हुने जिल्लामा सवारीसाधन चलाउन रोक लगाएपछि सधैँ घन्टौँसम्म जाम हुने काठमाडौँ भने सडक खाली र सुनसान देखियो । अरु समयमा बाटोमा निस्कन डराउने बालबालिका भने सडकमा रमाएर साइकल कुदाइरहेका र खेलिरहेका देखिन्थे ।

सडकमा फाटृफुटृ प्रेस, प्रहरी, पर्यवेक्षक र अस्पतालका गाडी तथा मोटरसाइकलबाहेक अन्य निजि तथा सार्वजनिक गाडी गुडेको देखिएन । आज मतदानको दिन सवारीसाधन चलाउन नपाइने नियम मिचेर चलाइएका करिब दुई हजार सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले समेत निकै रुचिपूर्वक अवलोकन गरेको पाइयो ।

निर्वाचन हुँदाको अवस्था, निष्पक्ष, धाँधलीरहित भए–नभएकोबारे अनुगमन गर्ने, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवतीलगायतका मतदाताले सहज ढङ्गबाट मतदान गर्न पाए–नपाएको अनुगमन गर्न खटिएका पर्यवेक्षक भने सबै निर्वाचन केन्द्रमा खटिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ