arrow

कांग्रेसको जीतबाट आतिएका ओलीले भने - सय तह जित्नु अचम्म !

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
Kp-oli-speaking-11017716.jpeg

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्‍यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै सिद्धान्त नभएको कांग्रेसले यत्रो सीट ल्याउँदा आफू अचम्मित भएको बताए।‘कुनै सिद्धान्त नभएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा कसरी यत्तिका सीट ल्यायो, म आफै अचम्मित भएको छु’, उनले भने। अध्यक्ष ओलीले निर्वाचन ताका बुथ कब्जा गरेको र अहिले एमाले जित्ने महानगर र नगरपालिकामा बखेडा झिकिरहेको आरोपसमेत लगाए ।

‘एमालेले जित्ने निश्चित भएपछि पोखरा महानगरपालिका र अन्य नगरपालिकामा कांग्रेस र माओवादीले एमालेविरुद्ध भ्रम छर्ने काम गरेका छन्’, उनले भने, ‘कांग्रेस र माओवादीले जुनसुकै बल गरे पनि दोस्रो चरणमा निर्वाचनमा पनि एमालेले बहुमतसहित सानदार जीत निकाल्नेछ।’ एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव भएको अध्यक्ष ओलीको दावी थियो।

‘एमालेले दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारहरु तोकिसकेको छ’, उनले थपे, ‘ती उम्मेदवारहरुले पनि राम्रो मत ल्याएर जीत हासिल गर्नुहुनेछ।’
अध्यक्ष ओलीले यसपाली सूर्यविनायक नगरपालिका वडा नं २ मा मतदान गरेका थिए ।  तर उनले मतदान गरेको वडामा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन्। (अन्नपूर्ण पोष्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ