arrow

राससका बोर्ड सदस्य पराजुलीले दिए राजीनामा

logo
प्रकाशित २०७४ जेठ ११ बिहिबार
gangadgar-parajuli.png

पोखरा । राष्ट्रिय समाचार समिति (रासस) संचालक समितिका सदस्य गंगाधर पराजुलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय समाचार समितिको रिक्त महाप्रवन्धक पदमा मन्त्री परिषदको वैठकले ओपेन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार पराजुलीले सदस्य पदबाट राजीनामा दिएका हुन् ।

महाप्रवन्धक पदका लागि पराजुली समेत आकांक्षी थिए । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीको प्रस्तावमा मन्त्रीपरिषदले ओपेन्द्र शर्मालाई महाप्रवन्धक बनाउने निर्णय गरेको हो । शर्मा नेकपा माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री जनार्दन शर्माका भाइ हुन् ।

पराजुलीले आफ्नो राजीनामा पत्रमा सरकारले महाप्रवन्धक पदमा आफ्नो पक्षमा निर्णय नगरेपछि सदस्य पदमा बसिरहन उपयुक्त नरहेको उल्लेख गरेका छन् । उनले राससको सदस्यमा रहेर काम गर्दा राससको समाचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन, राससमा कार्यरत पत्रकार र कर्मचारीहरुको दक्षता र क्षमता अभिवृद्धिका साथै उनीहरुको कल्याणका लागि रचनात्मक पहल गर्न, राससको आर्थिक, भौतिक लगायत समग्र विकासका लागि समेत पदीय दायित्व अनुसार प्रभावकारी ढङ्गले जिम्मेवारी निर्वाह गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

२०४९ सालमा गोर्खापत्र दैनिकबाट पत्रकारिता शुरु गरेका पराजुली नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन् । काठमाडौं बाहिर रहेर पनि  पत्रकारितामा निरन्तर सक्रिय एवं राष्ट्रियस्तरमा आफ्नो छवि बनाउन सफल पराजुली पोखराबाट प्रकाशन हुने गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक र अध्यक्ष तथा सुनौलो एफ.एम.का कार्यकारी निर्देशक समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ