arrow

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
dahal-new-jel.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन् ।  

व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राखेको–हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान सकिँदैन थियो भन्दै देशको आवश्यकता र संविधान कार्यान्वयनका लागि आफूले यस्तो कदम चालेको स्पष्ट पारे।

केही सांसदले सरकार र नीति तथा कार्यक्रम कामचलाउ भनेको प्रति जवाफ दिँदै भने, “यो नीति कामचलाउ होइन र छलफल पनि काम चलाउ होइन, अझ परिमार्जन गर्न छलफल हो । यो सरकार बहुमत गुमाएको वा अविश्वास दर्ता भएको होइन न त जनताको विरोध भएर राजीनामा गरी कामचलाउ भएको हो । सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन गरिएको महत्वपूर्ण कदम हो ।”

दाहालले भने, “मेरो जोड स्थानीयपछि प्रदेश र सङ्घको निर्वाचनसमेत सम्पन्न गरी सङ्क्रमणकाल अन्त्य गर्नेमा छ ।” भारतसँगको छलफलपछि हुलाकी राजमार्गको करिब ८०० किमी सडक जोडतोडका साथ निर्माण अघि बढेको जानकारी गराउँदै उनले चीनसँगका सम्झौता पनि अघि बढेका छन् भने ।

प्रतिपक्षीलाई आफूले सदैव विश्वासमा लिने क्रमलाई निरन्तरता दिँदै आएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले भने, “म निरन्तर प्रतिपक्षीलगायतसँग संवादमा छु ।” सरकारले थालेको महत्वपूर्ण अभियानअन्तर्गत विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिदर बढेको उल्लेख गरे ।

परराष्ट्र नीति आवेगबाट होइन विवेकबाट हुनुपर्छ भन्ने कुरा आफूले व्यवहारमा कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा छुटेका केही विषयलाई बजेटले समेट्ने आश्वासन पनि दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ