arrow

प्रचण्डले भने– आउँदा दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ

फास्ट ट्र्याकको शिलान्यास : पदमा नरहँदा पनि नयाँ आत्मविश्वास जाग्दो रहेछ

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
fast_trak.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले द्रुत मार्गले तराई, पहाड र हिमालको मन र भावना जोड्न ऐतिहासिक भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडौं– तराई– मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को आइतबार बाराको निजगढमा शिलान्यास गर्दै उनले भने, “आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ ।’’

हाम्रा मन, भावना र सम्बन्ध नयाँ उचाइमा जाने मार्गमा कसैले छेक्न र चुँडाउन नसक्ने गरी प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले द्रुत मार्गले काठमाडौँ र तराईबीचको गहिरो सम्बन्धलाई हरहिसाबले बलियो बनाउने छ, भने ।  

मधेस, पहाड र हिमाललाई जोड्ने सन्दर्भमा आफूले अहोरात्र खटेर मधेस केन्द्रित दललाई संविधानको स्वीकार्यतातर्फ लैजाने र राष्ट्रिय एकतालाई मजबुत पार्ने दिशामा केही न केही उपलब्धि हासिल गरेको गौरव प्राप्त भएको बताउँदै प्रधानमन्त्री दाहाल्ले आफ्नो जिम्मेवारीबाट अलग हुँदा समेत नयाँ आत्मविश्वास र एकता पैदा भएको महसुस भएको उल्लेख गरे ।


बहुचर्चित र बहुप्रतीक्षारत द्रुतमार्गको निर्माणका लागि राष्ट्रिय अठोट र राष्ट्रिय सङ्कल्पको खाँचो रहेको बताउँदै प्रधामन्त्री दाहालले भने – “यो मार्गले समय र दूरीका हिसाबले निकै तीव्र गतिमा राजधानी र मधेसलाई जोड्ने काम त गर्ने नै छ, त्यसभन्दा ठूलो काम तराई, पहाड र हिमालको मन र भावनालाई जोड्ने ऐतिहासिक काम गर्ने छ, यस अर्थमा फास्ट ट्र्याकको दूरगामी महत्व छ ।”


द्रुत मार्ग निर्माण सेनाका लागि गौरव र चुनौती हो, यो निर्माणमा गल्ती भयो भने सेनाको पृष्ठभूमि, इतिहास र गौरवमा दाग लाग्ने बताउँदै प्रधानमन्त्री दाहालले भने  “समय सीमाभित्रै गुणस्तरीय निर्माण भयो भने सेनाले नेपाली जनताको आँखामा नबिझाउने गौरव पाउने छ, यो काम सकेपछि सरकारले विशेष सम्मान र पुरस्कार प्रदान गर्ने छ ।”

अहिलेको परिवर्तित सन्दर्भमा पनि नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधिनताका साथै विकास निर्माणका क्षेत्रमा दिइएको जिम्मेवारी पनि समयमै पूरा गर्ने भरपर्दो सङ्गठनका रुपमा नेपाली सेना रहेको जनाउँदै उनले भने “ मैले सु्रक्षा निकाय मूलतः नेपाली सेना र अरुलाई पनि आफ्नातर्फबाट केही न केही गुन लगाउनुपर्छ भन्ने कुरा सुरुदेखि नै लाग्दथ्यो ।”

आफूले सरकारको नेतृत्व सम्हालेपछि राजनीतिक क्षेत्रमा देखिएका बिमतिलाई सहमतिमा ल्याउने, संविधानको स्वीकार्यता बढाउने र आर्थिक विकासलाई गति दिने सङ्कल्प गरेकामा निकै अप्ठेरो र चुनौतिका बीचमा पनि राष्ट्रिय एकता र समृद्धिको पक्षमा देखिने गरी योगदान पुर्‍याएर गौरव र सन्तुष्टिका नयाँ जिम्मेवारीमा जाने अठोट गरेको प्रधानमन्त्री दाहालले बताए ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले द्रुत मार्गको निर्माणले मधेसलाई काठमाडौँसँग छोटो र सुरक्षित सडक सञ्जालमा जोड्ने चाहना पूरा हुने भएकाले नेपाली सेनाले तोकिएको जिम्मेवारी समय सीमाभित्रै पूरा गर्ने विश्वास दिलाए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले मात्र नभएर मनोविज्ञान र राजनीतिक महत्वका रुपमा रहेको दु्रत मार्ग हिमाल, पहाड र तराईलाई जोड्ने नमुना सडकको रुपमा रहने छ, भने ।

उच्च सम्मान भएको महसुस
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारबाट द्रुत मार्ग निर्माणको जिम्मेवारी पाउनुलाई राष्ट्रनिर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको कदर र व्यावसायिकताको उच्च सम्मान भएको महसुस गरेको बताए ।

द्रुत मार्ग निर्माणको सन्दर्भमा नेपाली सेनाले गठन गरेको अधिकारसम्पन्न निर्देशक समितिका संयोजक एवम् बलाध्यक्षरथी पूर्णचन्द्र थापाले राजधानी प्रवेश गर्ने यातायातको चापलाई दृष्टिगत गरी वैकल्पिक राजमार्गका रुपमा अघि बढाइएको राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुत मार्ग निर्माणलाई नेपाली सेनाले गौरव र चुनौती का रुपमा लिएको बताए ।

नेपाली सेनाको द्रुत मार्ग निर्माण आयोजना प्रमुखको जिम्मेवारीमा रहनुभएका उपरथी योगेन्द्र खाँणले ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल, मकवानपुरको इपा–पञ्चकन्या, छतीवन बाराको रतनपरी हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिने ७६‌.२ किमी दूरीको द्रुत मार्ग निर्माणले इन्धनमा बचत, ढुवानीमा सहजता र सवारी साधनको आयु बढाउनाका साथै देशको समग्र आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने छ, भने

भविष्यमा भारत र चीनलाई जोडेर पारवाहन मार्गका रुपमा विकसित हुने द्र्रुत मार्गको महत्वलाई बारामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलले अझ उजागर गर्ने छ । सेनाले उक्त राजमार्ग १० स्थानमा विभाजन गरी काम गर्ने जनाइएको छ ।

चार लेनको उक्त द्रुत मार्गको कुल लागत एक खर्ब १२ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको उक्त आयोजना चार वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ । उक्त सडक ललितपुरमा आठ, काठमाडाँैमा चार, मकवानपुरमा ५६ र बारा जिल्लामा आठ किमी रहने छ । उनान्सय पुल र डेढ किमीको दुईमुखे सुरुङ हुने सो राजमार्ग पार गर्न एक घन्टा समय लाग्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ