arrow

म्याग्दीका सबै स्थानीय सरकारले पाए पूर्णता, कुनपार्टीले कहाँ कहाँ जिते ?( विवरण सहित) 

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Myagdi_District.png

म्याग्दी । म्याग्दीका नगर र गाउँ कार्यपालिकाले बिहीबार पूर्णता पाएको छ । वैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालिकामा दलित, अल्पसङ्ख्यक र महिला सदस्य चुनेका हुन् । 

म्याग्दीको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नै नगर र गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । गाउँ तथा नगर कार्यपालिका गठनमा बेनी नगरपालिकामा एमाले र राप्रपाका उम्मेदवार विजयी भएका छन् भने रघुगङ्गामा काँग्रेसका उम्मेदवार निर्विरोध विजयी भएका छन् । 

त्यसैगरी मङ्गला र धौलागिरिमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने अन्नपूर्णमा काँग्रेस र माओवादीका उम्मेदवार विजयी भएका छन् । त्यसैगरी मालिका गाउँ कार्यपालिकामा भने तीनवटै पार्टी र स्वतन्त्रबाट समेत गरी सहमतिमै गाउँ कार्यपालिकाको गठन गरिएको छ । 

बेनीमा एमाले र राप्रपाका उम्मेदवार विजयी 

बेनी नगर कार्यपालिका सदस्यमा दलित अल्पसङ्ख्यकतर्फ एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचन निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर, दुर्गा कार्की बानियाँ र टकसरा राना निर्वाचित भएका छन् । दस वडा रहेको बेनी नगरपालिकामा काँग्रेसले प्रमुखसहित एक वडा, एमालेले आठ वडा र स्वतन्त्रले एउटा वडामा विजयी भएका थिए भने उपप्रमुखमा राप्रपा विजयी भएको थियो । 

अन्नपूर्ण गाउँ कार्यपालिकामा काँग्रेस–माओवादी विजयी 

अन्नपूर्ण गाउँ कार्यपालिका गठन भएको छ । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरु विजयी भएका हुन् । दुई दलित वा अल्पसङ्ख्यक र चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा काँग्रेस र माओवादीले तालमेल गरेका थिए । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट नेपाली काँग्रेसका आत्मा तुलाचन र नेकपा (माओवादी केन्द्र)का थमबहादुर विक रहेका छन् ।  

त्यसैगरी, महिला सदस्यमा नेपाली काँग्रेसकी दिर्जु रञ्जिता, पवित्रा खड्का र माओवादी केन्द्रका टेकमायाँ तिलिजा र विष्णुकुमारी दमै विजयी भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। 

आठवटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित चारवटा वडा काँग्रेसले तीनवटा वडा एमाले र एउटा वडामा माओवादी केन्द्र विजयी भएका थिए । 

मालिकामा सहमतिमा गाउँ कार्यपालिका गठन 

मालिका गाउँपालिकाको गाउँ कार्यपालिकाको दलित सदस्यमा काँग्रेसका कुलमान पटेल र अल्पसङ्ख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्विरोध छनोट भएका छन् । महिला सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपार्इं र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनीत भएका छन् । मालिकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमति गरेर निर्विरोध रुपमा कार्यपालिका सदस्य चयन गरेका हुन् । 

धौलागिरिको गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध 

धौलागिरि गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । दलित अल्पसङ्ख्यकतर्फ रामबहादुर विक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी विक र तिलकुमारी केसी चयन हुनुभएको छ । निर्वाचित कार्यपालिका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । सातवटा वडा रहेको धौलागिरिमा प्रमुख र उपप्रमुखसहित ६ वडामा एमाले र एक÷एक वडामा माओवादी केन्द्र र काँग्रेस विजयी भएका थिए । 

मङ्गला गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार सर्वसम्मत 

म्याग्दीको मङ्गला गाउँपालिकामा गाउँ कार्यपालिकाका सदस्यहरुमा एमालेका उम्मेदवारहरु सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचनमा दलित तथा अल्पसङ्ख्यकतर्फ रत्न विक र सरदेवी भट्टचन सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी चारजना महिला सदस्यहरुमा शशिकला फगामी, दिलमाया विक, सरस्वती उपाध्याय र दिलकुमारी खत्री निर्वाचित भएका छन् । पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा प्रमुख उपप्रमुखसहित चारवटा वडामा एमाले विजयी भएको थियो भने एक वडामा माओवादी केन्द्र विजयी भएको थियो । 

रघुगङ्गा गाउँपालिकामा काँग्रेसका उम्मेदवार निर्विरोध 

रघुगङ्गा गाउँपालिकामा गाउँ कार्यपालिका गठनको निर्वाचनमा काँग्रेस सर्वसम्मत रुपमा बिजयी भएको छ । गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेसका उम्मेदवारहरुको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । 

दुई दलित वा अल्पसङ्ख्यकतर्फ धनमायाँ घताने गोतामे र तोरण दर्जी तथा चार जना महिला सदस्यमा सम्झना परियरा, विष्णुमती पुन, रामकुमारी गोतामे घर्ति र रिति थजाली निर्विरोध बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित ७ वटा वडामा काँग्रेस बिजयी भएको थियो भने एक वटा वडामा माओवादी केन्द्र र एमालेको प्यानल बिजयी भएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ