arrow

रोल्पाली मतदाताको यस्तो अठोट –‘हाम्रालाई होइन राम्रालाई मतदान गर्छौ’

logo
प्रकाशित २०७४ जेठ २२ सोमबार
rolpa-district.png

लिबाङ । स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–३ धबाङका बलिराम घर्तीमगर र उनकी धर्मपत्नी शशी घर्तीमगरले शिरको भारी थमाउनेलाई भोट दिने बताएका छन् । “बुढाबुढीले एउटै आवाजमा भने शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ ।” 

उमेरले ८० औँ बसन्त पार गरिसकेका बलिराम घर्ती र करिब ७० वर्ष पार गरिसकेकी शशी घर्तीले धेरै पटक चुनावमा भोट हालिसकेका छन् । 

तर आजसम्म उनीहरुको भोटको कदर न कुनै पार्टीले गर्यो न त कुनै उम्मेदवारले । 

त्यसैले यसपालि भने यो जोडीले शिरको भारी थमाउनेलाई भोट दिने निर्णय गरेको बताएको हो । 

“हाम्रो काँध चडी धेरै नेताले शासन सत्ता सम्हाले उनीहरु रातारात परिवर्तन भए । तर हामी भने जहाँका तही छौँ । न हामी फेरियौँ न हाम्रो जीवन शैली फेरियो त्यसैले यसपालि त धेरै सोचेर भोट दिने निधो गरेका छौँ । अब हाम्रालाई होइन राम्रालाई मतदान गर्छौं उनीहरुले भने ।” 

चाउरी परेको अनुहार, सेतै फुलेको कपाल, उस्तै सेता जुँगा, कालो सुरुवाल, सेतो कमिज बाहिर कालो ज्याकेट हातमा लौरी टेक्दै शिरमाथि डोकैडोकाको चाङ, लगाएर डोको बेच्दै लिबाङ आएका घर्तीमगरको हिजोआज एकमात्र सहारा उहाँकी धर्मपत्नी शशी हुन् । 

श्रीमानस्तै उनी पनि फुलिसकेकी छिन् । अनुहारभरि चाउरीका रेखा बसिसकेका छन् । 

बुढ्यौली लागेसँगै अगाडिका दाँत समेत झरिसकेका छन् । तर पनि शिरमा श्रीमानको भन्दा अग्लो डोकाको चाङ लगाएर यो दम्पती डोको बेच्नका लागि सँगसँगै सदरमुकाम लिबाङका गल्लीगल्लीमा पुग्ने गर्छन् । 

“मरौँ भने काल आउँदैन बाँचाँै हात पाखुरा नबजारी पेटभरि खान पुग्दैन । जीविका चलाउन डोको बुन्छु बुढीले सघाउछे अनि पैसाको जोहो गर्न बुढाबुढी सदरमुकाम झर्छौं” बलिरामले भने । 

जीवनमा तीन वटा विवाह गरिसकेका बलिराम हाल तेस्री श्रीमतीसँग दुःखसुख साटिरहेका छन् । 

पहिलो श्रीमती घाँस काट्न गएका बेला भीरबाट लडेर मरेपछि दोस्रो विवाह गरेका घर्तीले दोस्रो श्रीमतीका बारेमा बताएनन् । 

चार बहिनी छोरी विवाह गरेर घरघर गइसके । यौटा छोरा र बुहारी आफैँसँग छन् तर आम्दानीको बाटो छैन । 

घरमा गाईबस्तु छन् छोराबुहारी तीनै गाईबस्तु र घर धन्दा गर्छन् । छोराको जागिर छैन त्यसैले हामी बुढाबुढी सके जति काम गर्छौं उनले भने । 

आफू दश बाह्र वर्षको हुँदादेखि डोको बुन्न सिकेका बलिरामले अझैसम्म पनि यो पेसालाई उत्तिकै सम्मान गर्ने गरेको बताए । 

यौटा डोको ग्राहक भेटिए रु १८० मा बेच्नुपर्ने हो तर ग्राहकले बार्गेनिङ गर्छन् अनि डोको मिलाएर दिन्छौँ उनले भने । 

“मौसम बदलियो ऋतु बदलियो तर गरिबको जीवनस्तर बदलिएन त्यसैले अब जनतालाई प्रत्यक्ष विकासको अनुभूति दिलाउने उम्मेदवार नै हामी चाहन्छौँ । हामीलाई माछा चाहिदैन माछा मार्ने सिप दिएमात्र हामी आत्मनिर्भर बन्नेछौँ बलिरामले भने । 

रोल्पामा सधैँजसो विकासका नाममा आएको बजेट बाटोमै पोखिँदै आएको छ । जसका कारण मानव पुँजीको विकासमा खासै चासो र चिन्ता नदेखिएको रोल्पालीको गुनासो छ । 

जिल्लामा अझै पनि कतै महिला महिला हिंसाको सिकार बनेका छन्, कतै बालबालिका बालअधिकारबाट वञ्चित भएका छन्, हजारौँ युवा बेरोजगार भएर बर्सेनि खाडीमुलुक पस्ने गरेका छन् जसका कारण सबैभन्दा मारमा वृद्धवृद्धा नै प्रताडित हुने गर्छन् त्यसैले उनीहरुको अवस्था अझ दयनीय देखिन्छ तर पनि यस विषयमा सत्ताधारीको न चासो छ न चिन्ता नै । 

त्यसैले यिनै र यस्तै विषयमा चासो र चिन्ता गर्ने नेतालाई मात्र स्थानीय निर्वाचनमा मत दिने रोल्पालीले अठोट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ