arrow

द्वन्द्वकाल होस् या शान्ति, व्यवसायी सधैं आतंककै भूमरीमा !

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
business_men.png

काठमाडौं । कुनै पनि राजनीतिक दलको भातृ संस्थाको होस् या त अरु राजनीतिक दलसँग सम्बन्धित निर्वाचन नै किन नहोस् । निर्वाचन जब सुरु हुन्छ व्यवसायीहरु आफ्नै कार्यालयमा पनि धैर्यले बस्न पाउँदैनन् । चयनसँग उनीहरुले आफ्नो मोबाईल बोक्न पनि पाउँदैनन् । कारण हो उनीहरुले त्यस्ता राजनीतिक संगठन तथा कतिपय गैर राजनीतिक संगठनको समेत चुनावको लागि आर्थिक जोहो गरिदिनु पर्छ । 

यसरी चन्दा माग्ने काम वास्तवमै भन्ने हो भने कानूनी त होईन । अब कुनैपनि दल या त भातृसंस्थाले आफ्नो आम्दानीको स्रोत नै चन्दा हो भन्ने थालेपछि यसलाई बैधानिक मानियो । जवर्जस्ती गर्न नपाईने भने पनि पैसा जवर्जस्ती दिईन्छ र आफ्नै खुशीले पैसा दिएको बताईने गरेको छ । 

व्यवसायीहरुको लागि सबैभन्दा समस्या चन्दा आतंक बनेको अहिले मात्रै होईन । पूख्र्याैली पेशाको रुपमा रहेको राजनीतिक दलका भातृसंस्थाहरुको चन्दाधन्दाका कारण राजनीतिक दलसँग सम्बन्धित र असम्बन्धित क्षेत्रले पनि व्यवसायीहरुलाई नै आर्थिकोपार्जनको सजिलो स्रोत मान्न थालेका छन् । राजनीतिक दलको चन्दा धन्दाभन्दा अलिकति माथि उठेर सुखले पैसा कमाउन पल्केका अपहरणकारीहरुको गिरोह त व्यवसायीलाई अपहरण नै गरेर फिरौती लिएर छाड्ने गरेका छन् । 

दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा शुक्रवार दाङको तुलसीपुरबाट एकजना प्रतिष्ठित व्यापारी राज कुमार श्रेष्ठ अपहरणमा परेको समाचार आयो । उनको अवस्था तेस्रो दिनसम्म पनि अज्ञात नै रहेको छ । यो अपहरणको घटना राजनीतिक होला या त उनको व्यक्तिगत रिसईबीका कारण भएको होला त्यो भने प्रहरीले नै पुष्टि गर्ला तर, चुनावको मुखमा भएको उनको यो अपहरणको विषय चन्दासँग जोडिएको आकलन धेरैले गरिरहेका छन् । तीन दिनसम्म पनि श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार बिहान आकस्मिक बैठक डाकेर श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धित पक्षसँग अपिल समेत गरेको छ ।  

त्यस्तै, गत चैत १० गते मख्खु गल्लीको डालीज साडी र साडी संसारका संचालक श्यामसुन्दर अग्रवाललाई पनि अपहरण गरेको घटनाबाहिर आएको थियो । सो समयमा अपहरणको घटना भन्दा पनि सोही अपहरणको घटनाको पर्दाफास हुने डरले भक्तपुरका प्रकाश लामिछानेले आफ्नै प्रेमिका राधिका श्रेष्ठको हत्या गरेको घटना बाहिर आएको थियो । हत्याको घटना तुलनात्मक रुपमा ठूलो रहेकोेले यसमा अपहरणको कुरा भने खासै महत्वका साथ आएन । सो अपहरणमा उनीहरुले १० लाख ७० हजार फिरौती लिएर अग्रवाललाई छाडेका थिए । 

त्यस्तै, गत चैत ४ गते नै व्यापारी अपहरण गरेर एक करोड २५ लाख असुल्ने प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका दुई नायब निरीक्षक ९सई० लाई पक्राउ गर्यो । महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नै कार्यालयमा दरबन्दी रहेका संवत् तामाङ र महानगरीय प्रहरी वृत्तमा रहेका सूर्यबहादुर थापालाई पक्राउ गरेको हो।

सुन कारोबारी भन्दै दुवै प्रहरीले सादा पोसाकमा व्यापारी बद्री राईलाई अपहरण गरेर बन्धक बनाई चेक लिएर छाडेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको थियो । त्यतिबेला उनीहरूले दुई लाख रुपैयाँ, एक करोडको चेक र २५ लाखको तमसुक लिएर राईलाई अपहरणमुक्त गरेका थिए।

यसरी राजनीतिक दल भन्दा पनि अपहरणका घटनामा गिरोहको संयन्त्र नै सक्रिय छ । यो संयन्त्रबाट व्यवसायीहरु यसैपनि त्रसित बनिरहेकै हुन्छन् । त्यसैमाथि चुनावको समयमा राजनीतिक दलका भातृसंस्था र स्वसं राजनीतिक दलका नेताहरुले माग्ने चन्दाका कारण पनि व्यवसायीहरु सधैंभरी पीडित हुनेगरेको गुनासो व्यवसायीहरुको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापारीहरुलाई चुनाव आएपनि समस्या द्वन्द्वमा पनि समस्या रहेको भन्दै राज्यले व्यापारीको सुरक्षामा पूरा विश्वास दिलाउन नसकेको गुनासो गरे । उनले द्वन्द्वको समयमा जवर्जस्ती चन्दा दिएर हैरान भएका व्यवसायीहरुमाथिको अपहरणको घटनाले व्यवसायीहरु सधैं आतंकित बन्न पुगेको उनले बताए । तुलसीपुरको घटना कसले र के प्रयोजनको लागि गर्यो भनेर विश्लेषण गर्नुभन्दा पनि व्यापारीहरु किन धेरै अपहरणमा पर्न थाले भन्नेकुरा चिन्ताजनक रहेको उनको बुझाई थियो । सो घटनाबारे महासंघ कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्यक्ष भनावी राणासँग छलफल गर्न लागेको प्रतिक्रिया पनि दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ