arrow

अपाङ्गता भएकालाई मतदानमा प्राथमिकता: तीन ठाउँमा अपाङ्गमैत्री मतदान केन्द्र 

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Kanchanpur_District.png

कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले कञ्चनपुरमा नमुनाका रुपमा तीन ठाउँमा अपाङ्गमैत्री मतदान केन्द्र सञ्चालनमा ल्याइने भएको छ । 

जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार कृष्ण माध्यमिक विद्यालय गुलरिया, महेन्द्र मावि महेन्द्रनगर र शान्ति निकेतन मावि ऐठपुरलाई अपाङ्गमैत्री बनाइएको छ । 

सहजै अपाङ्गता भएका व्यक्तिले ह्विलचेयर गुडाएर मतदान गर्न सक्ने व्यवस्था मिलाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख केशव भण्डारीले बताए । 

“अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी र्याम्प निर्माण गरिने छ” – उनले भने । 

यसअघिको संविधानसभाको निर्वाचनमा समेत यिनै तीनवटा मतदान केन्द्रलाई नमुनाका रुपमा अपाङ्गमैत्री मतदान केन्द्र बनाइएको थियो । 

अन्य मतदान केन्द्रमा समेत अपाङ्गता भएका व्यक्तिहरु, अशक्त, वृद्धवृद्धालगायतलाई समेत मतदान केन्द्रमा लाइनमा नबसी सहजै मतदान गर्न सक्ने विशेष व्यवस्था गरिने अधिकृत भण्डारीले बताए । 

जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या नौ हजार ७० भए पनि चार हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्ति मतदाता रहेका छन् । 

कञ्चनपुरमा १३२ मतदानस्थल र २९३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

स्थानीय तहको दोस्रोचरणको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्नका लागि यहाँ एक हजार ७५० कर्मचारी खटाइने तयारी गरिएको छ । 

प्रत्येक निर्वाचन केन्द्रमा छजनाका दरले कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ