arrow

डा. केसीलाई प्रधानमन्त्रीको धम्की

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
dr-kc.jpg.jpeg
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत सञ्चालित मनमोहन मेडिकल कलेजलाई चिकित्सा विज्ञान पढाउन अनुमति दिन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रियामा बाधक नबन्न वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई दबाब दिएका छन् ।
 
चिकित्सा शिक्षासम्बन्धी नीति, ऐन र आयोग गठन सम्बन्धी पूर्वसम्झौता पन्छाउँदै यससम्बन्धी विधेयक संसद्मा लगिएको भन्दै सातदिने अल्टिमेटम दिएका डा. केसीलाई सोमबार साँझ बालुवाटारस्थित निवासमै बोलाएर ओलीले यस्तो दबाब दिएका हुन् । 
 
डा. केसीका माग र उनले थालेको चिकित्सा शिक्षा सुधार अभियानप्रति प्रधानमन्त्री हुनुअघिदेखि नै अति अनुदार रहेका ओलीले उनले उठाएका माग 'जायज' भन्दै मनमोहन प्रतिष्ठानलाई अनुमति दिनेबाहेक अन्य माग पूरा गर्ने आश्वासन दिएका थिए।
 
२ घन्टा ३५ मिनेट लामो छलफलमा डा. केसीलाई ओलीले आठौंपटक अनशन नबस्न आग्रह गरेका थिए।
 
पटकपटक तनाबमा आउँदै, फेरि सामान्य हुँदै कुरा गरेका ओलीले मनमोहन प्रतिष्ठान ल्याइछाड्ने अडान लिए भने डा. केसीले नीति नबनी कुनै पनि नाममा कलेज ल्याए अनशन बस्ने चेतावनी दोहोर्यामइरहे।
 
छलफलक्रममा डा. केसीले चिकित्सा शिक्षासम्बन्धी विभिन्न प्रतिवेदनको प्रसंग उठाउँदा ओलीले प्रतिवेदनका सबै कुरा कार्यान्वयन हुन नसक्ने स्मरण गराएका थिए।
 
बैठकमा सहभागी चिकित्सक अभिषेकराज सिंहका अनुसार ओलीले चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदन आधार भए पनि सबैथोक नभएको भन्दै 'प्रतिवेदन र अनशन' ले संसदको गतिविधि प्रभावित नपार्ने बताएका थिए। कुराकानीमा ओलीका केही स्वकीय सचिव, प्रधानमन्त्रीकी चिकित्सक डा. दिव्यासिंह शाह, डा. श्रीकृष्ण गिरी, डा. अभिषेकराज सिंह, डा. सविन थपलिया र चिकित्साशास्त्रका विद्यार्थी बद्री अर्याल उपस्थित थिए।
 
सहकारीद्वारा सञ्चालित मनमोहन मेडिकल कलेजलाई निजी प्रतिष्ठानका रुपमा चलाउनेसम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले संसदमा लगेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदले आइतबार पारित गरेको थियो। लगत्तै डा. केसीले त्यसविरुद्ध सातदिने अल्टिमेटम दिएकामा बुधबार सकिँदैछ। विधेयकअनुसार यसअघिका सरकारी प्रतिवेदनविपरीत हुनेगरी प्रतिष्ठानका रुपमा सम्बन्धन दिने तयारी सरकारको छ।
 
भेटमा सहभागी अर्का एक चिकित्सकका अनुसार प्रधानमन्त्रीसँग डा. केसीले मनमोहन आफ्नो पनि आदर्श व्यक्तित्व रहेको भन्दै बदनाम व्यक्तिले उनको नामलाई कमाउने भाँडो बनाउन खोजेको भन्दै त्यसलाई रोक्न आग्रह गरेका थिए। डा. केसीले सरकारले सात वर्षअघि सुदूरपश्चिममा गेटा मेडिकल कलेज खोल्ने भने पनि कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै त्यही कलेजलाई मनमोहन अधिकारीका नाममा खोल्न सुझाव दिएका थिए। 'मनमोहनका नाममा त्यहाँ कलेज खुल्यो भने त्यहाँका गरिब बिरामीले आशीर्वाद दिन्छन् र कसैले विरोध पनि गर्दैन,' डा. केसीले प्रधानमन्त्रीलाई भनेका थिए।
 
डा. केसीले प्रधानमन्त्री ओलीलाई मनमोहनका लगानीकर्ता राजेन्द्र पाण्डे र वंशीधर मिश्रले आफूले मनमोहनका नाममा कलेज खोल्न नदिएको तर बिपीका नाममा खोल्दा केही नबोलेको भन्दै आरोप लगाउने गरेको सुनाए। त्यसपछि वातावरण चर्काचर्कीसमेत भएको थियो। 'बिपीका नाममा सरकारी प्रतिष्ठान खुलेको हो, मनमोहनका नाममा पनि सरकारी खोल्नुस्, राजधानीमै खोले पनि केही छैन,' डा. केसीलाई उद्धृत गर्दै भेटमा सहभागी अर्का चिकित्सकले भने। बैठकमा सहभागी चिकित्सकले मध्यमार्गी प्रस्तावका रुपमा नीति बनेपछि मात्रै विधेयक लाने गरी सम्झौता गर्नुपर्ने आग्रह गर्दा भने ओलीले सुनेनन्।
 
ओलीले भने 'मनमोहनलाई स्यालुट गर्नेले मनमोहन मेडिकल कलेजलाई स्यालुट गर्नुपर्दैन' भन्दै दुई विषयलाई नजोड्न आग्रह गरेका थिए।
 
छलफलमा चिकित्सा शिक्षा आयोगको संरचना, नीति एवं ऐन मस्यौदा तयार गर्न गठित पुरानो समितिमा राजनीतिक भागबन्डाका आधारमा ल्याइएका व्यक्ति हटाएर विज्ञ राख्ने विषयमा भने ओलीले निर्देशन दिने प्रतिबद्धता जनाएका थिए।
 
बैठकमा सहभागी एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले मनमोहनमा दसौं करोडको लगानी भएको भन्दै त्यसलाई डुब्न नदिने अडान लिएका थिए। त्यसको जवाफमा डा. केसीले करोडौं नेपालीको स्वास्थ्यका लागि आफू ज्यान दिन तयार दोहोर्यानए। डा. केसीलाई ओलीले 'कुरो नबुझेको' आरोप लगाएपछि उनले लगानी र विद्यार्थी भर्नाको अवस्थाबारे विस्तृत रुपमा राखेका थिए।
 
ओली यस वर्ष पनि १ हजार २ सय विद्यार्थी एमबिबिएस पढ्न विदेश गएको तर्क गरेका थिए। डा. केसीले अहिलेको अवस्थामा नेपालका कलेजमा शुल्क बढी लिइने, मेरिटमा भर्ना नलिइने, नेपालमा पढ्न नसकेका विद्यार्थी मात्र बाहिर गइरहेका भन्दै प्रधानमन्त्रीलाई 'कन्भिन्स' गर्न खोजेका थिए।
 
त्यस क्रममा अन्य सहभागीले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद निर्णयविपरीत काठमाडौं युनिभर्सिटीले मनपर्दी भर्ना गरिरहेको प्रसंग उठाउँदा प्रधानमन्त्रीले यसबारे कुरा बुझेर जवाफ दिने बताएका थिए।
 
६ बजेर ५० मिनेटमा बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्नासाथ डा. केसीले सुरुमै 'म डा. गोविन्द केसी' भन्दै परिचय दिएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री ओलीले फोटो हेर्दाहेर्दै चिनिहाल्छु नि भन्दै ठट्टा गरेका थिए।
 
ओलीले डा. केसीलाई सम्बोधन गर्दै यसअघि तपार्इंले सबै प्रधानमन्त्रीको टाउको दुखाइदिनुभयो, म तपाईसँग जोरी खोज्ने पक्षमा छैन' भनेका थिए। उनले अहिले अनशन बस्नुपर्ने कारण नभएको भन्दै आफ्नो कार्यकालमा त्रिविअन्तर्गत कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रतिबद्धता जनाएका थिए। 'तपाईंले गरेको सुधार टुप्पोबाट भयो, म जराबाट गर्छु,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटमा सहभागी डा. अभिषेकराजले भने, 'म तपार्इंलाई भावनात्मक रुपमा सम्मान गर्छु, अनशनले मात्र समस्या समाधान हुन।' सुरुमै डा. केसीले नागरिक स्वास्थ्य र शिक्षित नभई देश समृद्ध हुन नसक्ने, शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै माथेमा प्रतिवेदन, पुराना सम्झौता कार्यान्वयन अवस्था, पछिल्लोपटक आफूले घोषणा गरेको अनशनबारे प्रकाश पारेका थिए।
 
ओलीले डा. केसीलाई ढुक्क हुन आग्रह गरेका थिए। 'तपाईं ढुक्क हुनुस्, म सबै कुरा पूरा गर्न प्रतिबद्ध हुन प्रेसरमा आएर काम गर्ने मेरो आदत छैन।' ओलीले कुराकानीका क्रममा ५० वर्षअघिको ज्ञान याद आएको भन्दै 'सत्य, श्ाास्वत र सबल हुन्छ, सत्य क्षणिक हुँदैन, शक्ति क्षणिक हुन्छ' भन्दै थपे, 'म शक्तिमा छु तर यसको घमण्ड गर्दिनँ तर सत्यको पक्ष लिन्छु। तपाईं–हामी मिलेर सुधारौं अनशन नबसौ'। ओलीले दुई वर्षभित्र सातै प्रदेशमा एक मेडिकल कलेज खोल्ने गरी काम गर्ने योजना रहेको समेत सुनाए।
 
'यसअघिका हरेक प्रधानमन्त्रीले हरेकपटक 'तपाईंसँग छलछाम गरे, म गर्दिनँ,' ओलीले भनेका थिए। ओलीले कुनै बेला विराटनगरका एक प्रधानमन्त्रीले सुरेशराज शर्मालाई दबाब दिएर उतैतिरको कलेजलाई सम्बन्धन र १ सय ५० सिट दिलाएको भन्दै तर उनले आफूले राजनीतिक दबाब नदिने सुनाएका थिए। ओलीले अहिले कलेजहरुले नक्कली फ्याकल्टी देखाएका भरमा कलेज चलाएको बारेसमेत आफू जानकार रहेको सुनाएका थिए।
 
ओलीले आफू चितवनको एउटा मेडिकल कलेज जाँदा फ्याकल्टी र बिरामीसमेत भरतपुरस्थित तालिमकेन्द्रबाट प्रहरी ल्याएर कलेज चलाएको त्यहाँका सञ्चालकले नै सुनाएको डा. केसीसँग अनुभव बाँडेका थिए। उनले मेडिकल क्षेत्रमा विकृति रहेको भन्दै डा. केसीलाई लिडरसिप लिएर एउटा आयोग बनाउन र सुधार थाल्न प्रस्ताव गरेका थिए। 'मेरो टाइममा म जे सम्झौता गर्छु, त्यो कार्यान्वयन पनि गर्छु,' ओलीको प्रस्तावलाई डा. केसीले आफू आयोगमा नबस्ने भन्दै विज्ञ राख्न सुझाव दिएका थिए। 'वरिष्ठ विज्ञ भनेर मात्रै हुन्न,' ओलीले भने, 'जाँगरिला युवा पनि राख्नुपर्छ।'
 
नागरिक दैनिकमा दिपक दाहाल लेख्छन् - लामो छलफलपछि ओलीले आफू यति लामो समयसम्म कुनै औपचारिक कार्यक्रममा समेत नबसेको भन्दै 'डाक्टरसाप अब छुट्टिऊँ' भन्दै बिदा मागेका थिए। उनले अन्त्यमा अनशन रोक्न आग्रह गरेपछि डा. केसीले आफू दुई दिन पर्खने भन्दै त्यसपछि आफ्नो घोषणाप्रति प्रतिबद्ध भएको जवाफ दिएका थिए।
 
भेटबारे प्रतिक्रिया दिँदै डा. केसीले प्रधानमन्त्रीको कुराबाट आफू पूर्ण आशावादी बन्न नसकेको टिप्पणी गरे। 'म के गर्न सक्छु र गर्छु भन्ने स्पष्ट रुपमा भनिदिएँ,' उनले भने, 'म आफ्नो घोषणामा अडिग छु।'
 
यसअघि डा. केसीसँगकै सम्झौताअनुसार गठन भएको चिकित्सा शिक्षासम्बन्धी त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमा कार्यदलले प्रतिवेदन बुझाउने समारोहमा प्रमुख दलका सबै शीर्ष नेता उपस्थिति हुँदा ओली भने गएका थिएनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ