arrow

डडेल्धुरामा कहिल्यै चुनाव हारेका छैनन् देउवा, यसपटक.......

logo
प्रकाशित २०७४ असार ११ आइतबार
deuba.JPG

डडेल्धुरा । हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरूलाई हँसिया–हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् ।

यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्‍याइरहन त्यत्ति सजिलो छैन । देउवाको गृहजिल्ला हो डडेल्धुरा ।

अरू पार्टीको आक्रामक चुनावी अभियानले त कांग्रेसका झन्डा जेलिइसकेका छन् । 

त्यसमा पनि अझ कांग्रेसभित्र चुलिएर सतहमै पोखिएको असन्तुष्टिले देउवाको राजनीतिक साखमै चुनौती थपिदिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणका बेला डडेल्धुरा कांग्रेसभित्र असन्तुष्टि चुलिएर सडकमै पोखियो ।

अरू पार्टीभन्दा करिब एक महिना ढिला गरी उम्मेदवारको घोषणा त गरियो तर कांग्रेसका जिल्ला सभापति नै सडकमा देउवाविरुद्ध नाराबाजीमा उत्रिए । त्यसको परिणाम अझ मनोनयन दर्ताका बेला देखियो ।

अहिले पनि डडेल्धुराका विभिन्न गाउँपालिकाका अध्यक्षसहित वडासमेत बागी उम्मेदवारको चाङ छ ।

विभिन्न ठाउँमा १० जनाभन्दा कांग्रेसकै उम्मेदवारले ‘स्वतन्त्र’को लेपमा बागी उम्मेदवारी दिएका छन् ।

राजनीतिमा पाइला राखेदेखि भएका कुनै पनि चुनावमा देउवाले चुनाव हारेका छैनन् ।

०४८ सालको आमचुनावदेखि अनवरत चुनाव जित्दै आएका देउवाको त्यो साख स्थानीय निकायको चुनावी परिणामले थेग्न सक्छ कि सक्दैन ? भन्ने बहस अहिले जिल्लाभरि फैलिएको छ ।

जिल्लाकै सदरमुकाम रहेको अमरगढी किल्लाको आफ्नै इतिहास छ ।

अंग्रेजसँग लडिएको अमरगढी किल्ला, यस क्षेत्रका पहिलो प्रशासक अमरसिंह थापाको सम्झनामा ०५३ सालमा अमरगढी नगरपालिका स्थापना भएको हो ।

डडेल्धुराको यो इतिहाससँगै देशमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको इतिहास पनि जोडिएको छ ।

अहिलेसम्म कुनै पनि चुनावमा डडेल्धुराबाट कांग्रेस अनि देउवाले हार्नुपरेको छैन ।

र, अहिले देशको सबैभन्दा ठूलो पार्टी र प्रधानमन्त्रीकै जिल्ला भएका कारण पनि डडेल्धुरामा सबैको नजर परेको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ