arrow

विराटनगर महानगरपालिकाको मेयर बन्ने ढुक्क काँग्रेस उम्मेदवार पराजुली

logo
प्रकाशित २०७४ असार ११ आइतबार
Bhim_Parajuli.jpg

विराटनगर । विराटनगरलाई भौतिक पूर्वाधारले सम्पन्न, आधुनिक र विकसित नगरको रुपमा परिणत गर्दै नगरवासीलाई छिटोछरितो, झन्झटमुक्त, सुशासनयुक्त भरपर्दो सेवा सुविधा दिन प्रतिबद्ध नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरका उम्मेद्वारमा अगाडि सारेको छ, युवा नेता भिम पराजुलीलाई ।
नेपाली कांग्रेस विराटनगर नगर समितिको दुईपटकसम्म सभापति भैसकेका पराजुली नेपाली कांग्रेसमा मात्र होइन, नगरवासीहरुबीच पनि चीरपरिचित र लोकप्रिय व्यक्ति हुन् ।
नगर सभापति रहँदा उनी राजनीतिक संयन्त्रमा थिए । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहिन भएपछि यही संयन्त्रमार्फत नगरका योजनाहरुहरुको चयन र कार्यान्वयन गरिन्थ्यो । पराजुलीले यो अवसरलाई खेर जान दिएनन् । 
स्थानीय जनताका आवश्यकताको पहिचान गरी नगर र जिल्ला परिषद्मा पु¥याएर पारित गर्ने र केन्द्रमा रहेका प्रभावशाली नेताहरुको सहयोग लिई ती आयोजनाहरुमा बजेट पार्ने काममा उनको महत्वपूर्ण भूमिका रह्यो ।  
नगर सभापति रहदा नगरपालिका र जिल्ला विकास समिति लगायत जिल्लाका सरकारी कार्यालयमा काम परेका नगरवासी र अन्य नागरिकहरुको काम पनि सक्रियतापूर्वक उनले गरिदिए । 

जिल्ला प्रसाशनदेखि, महानगरपालिका, जिल्ला जनस्वास्थ्य, खानेपानी, सडक, प्रहरी कार्यालयमा स्वयं उपस्थित भएर आम नागरिकको काम गर्दा उहाँमा गज्जबको सन्तोष देखिन्थ्यो । जनताको कामलाई उनले कहिल्यै पनि झन्झटको रुपमा लिएनन् ।
एशियाली विकास बैंकको सहयोगमा बनेका र नेपाल सरकारकै लगानीमा बनेका ठूला साना सबैखाले आयोजनाहरुको अवस्था र गुणस्तरका बारेमा स्थलगत अवलोकन, निरीक्षण र निगरानी गर्दै आएका पराजुलीले विकासप्रेमी  नेताको छवि समेत बनाइसकेका छन् । 
राजनीतिक संलग्नता
भिम पराजुलीको राजनीतिक जीवन निकै रोचक छ । २०४६ सालको जनआन्दोलनका समयमा उनी जम्मा १५ बर्षका थिए । पोखरियामा मसाल जुलुुस निस्केको रहेछ । खाली खुट्टा जुलुसको पछाडि लागेका उनलाई पनि प्रहरीले पक्रेर हिराशतमा राखेछ । त्यस घटनाले उनमा राजनीतिक चेतनाको बीजारोपण गर्‍यो । माध्यमिक तहको अध्ययनकै क्रममा नेपाल विद्यार्र्थी संघको स्कूल एकाई समितिको अध्यक्ष बन्न पुगे ।
निम्न माध्यमिक तहको शिक्षा पोखरीया उच्च माविमा लिएका भिमले माध्यमिक शिक्षा भने जनता उच्च माविमा लिएका थिए । माध्यमिक तहको पढाइ सिलसिलामा उनमा कांग्रेसको राजनीतिक प्रभाव देखिएको हो ।
एसएलसी पास गरेपछि उनी महेन्द्र मोरङ क्याम्पसमा भर्ना भए । विद्यालयमा नै राजनीतिमा लागेका भिम नेपाल विद्यार्थी संघ क्याम्पस एकाइको सदस्य थिए । मरिमेटर काम गर्ने स्वभाव भएका भिम पछि एकाई सचिव र सभापति पनि भए । २०५५ सालमा स्ववियु सदस्य, ०५७ मा कोषाध्यक्ष २०५९ मा सचिव निर्वाचित भएका भिम २०६१ को स्ववियू चुनावमा सभापतिका आकांक्षी थिए । तर केन्द्रले उनीभन्दा कमजोर र विद्यार्थीमाझ कम लोकप्रिय व्यक्तिलाई टिकट दियो । 

पछि उनले आफ्नो अलग्गै समूह गठन गरि चुनाव लडे र आफूसहित सिंगो प्यानल नै विजयी बनाए । स्वतन्त्र विद्यार्थी यूनियन अन्य दलको पोल्टामा जानबाट रोके । यसले पराजुलीको राजनीतिक प्रभाव बढायो र कार्यशैलीमा निखार ल्यायो । तात्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले बधाई दिंदै त्यतिबेला चलिरहेको प्रतिगमन विरोधी आन्दोलनलाई सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्र्देशन दिएका थिए । 
विक्रम सम्बत २०६२÷६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परे । आन्दोलन क्रममा कैयौपटक उनको टाउको, खुट्टा र हातमा चोटपटक लागेर उनी घाइते भएका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए । 
विजयको आधार
विराटनगरमा पार्टीको संगठन सुदृढ बनाएका भिम यो चुनाव जित्नेमा ढुक्क छन् ।  उनी नगर सभापति भएपछि दोस्रो संविधानसभा निर्वाचनमा नगरभित्रका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो । त्यसबेला उपेन्द्र यादवको प्रभावक्षेत्र ५ नम्बरमा अमृत अर्यालले १० हजार मतअन्तरले जिते । 
लोकतान्त्रिक फोरमको प्रभावक्षेत्र ६ मा महेश आचार्य ५ हजार मतान्तरले विजयी भए । ७ नम्बर क्षेत्रमा विजयकुमार गच्छदारलाई साढे तीन हजार मतले डा। शेखर कोइरालाले जिते ।
विराटनगर महानगरमा कांग्रेसको पहिलो भोट छ, दोस्रो फोरम अनि तेस्रोमा मात्र एमाले हो भन्ने आँकडा केलाउनुहुने भिम एमालेसँग कांग्रेसको प्रतिस्पर्धा नै नभएको बताउँछन् । 
भिमको पुर्पुरो  पनि बलियो छ । छ वर्षअघि पहिलोपटक नगर सभापति लड्न खोज्दा उनलाई रोक्ने कसरत भएको थियो । नगर सभापतिमा प्रतिस्पर्धा गरेका भिमले ७ सय मतले जिते । दोस्रोपटक एक हजार मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरे । विराटनगर महानगरको चुनावमा अन्य राजनीतिक दलहरुबीच भएको तालमेलले खास असर नगर्ने उनको निष्कर्ष छ । कांग्रेसले एक्लै चुनाव जित्ने उनको दाबी छ ।
मेयर र सपना
नेपाली  कांग्रेसका संस्थापक वी।पी। कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मभूमि, नेपालको लोकतान्त्रिक आन्दोलनको उद्गमस्थल, नेपालको औद्योगिक नगरी पूर्वाञ्चलको केन्द्र,प्रदेश नं १ को एकमात्र महानगरपालिका र केन्द्रस्थललाई नेपालको नमूना महानगर बनाउने संकल्प लिनुभएका भिम पराजुली जस्तोसुकै अवस्थामा पन चुनौतीको सामना गरी विजय हासिल गर्नसक्ने साहसी युवाको नाम हो । 

उनका सामुन्ने अरु उम्मेद्वारहरु फिका परेका छन् । शान्त,समृद्ध विराटनगर हाम्रो सपनाको महानगर भन्ने नारालाई सार्थक बनाउने मेयर पदमा विराटनगरवासीले अत्यधिक मतले विजयी बनाउनेमा उनी ढुक्क छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ