arrow

काँग्रेसका युवा नेताहरुले गरे मतपत्र च्यातिने चिन्ता

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
congress-youth-leader.jpg

काठमाडौं । नेपाली कांग्रेसका नयाँ पुस्ताका चर्चित नेताहरुले अब चुनावमा पनि मतगणनाका बेला मतपत्र च्यातिन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यस्तो चिन्ता व्यक्त गर्दै सामूहिक अपिल समेत जारी गरेका छन् । 

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारी पाएर पनि टिकट खोसिएका दिनेश कोइराला सहितका नेताहरुले यस्तो अपिल जारी गरेका हुन् । अपिलमा उनीहरुले भनेका छन्, ‘भरतपुर १९ प्रकरणले मतपत्र तथा मतगणना स्थलको सुरक्षा बारे गम्भीरतासाथ पुर्नविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।’

सामूहिक अपिल जारी गर्नेहरुमा धरान उपमहानगरमा कांग्रेसबाट मेयरका टिकटका दावेदार मनिता घिमिरे, टिकापुरबाट मेयरका दावेदार तेजशंकर भट्ट, टोखा नगरपालिकामा कांग्रेसबाट उपमेयर उम्मेदवार बनेकी रजनी थापा र सहिद लखन गाउँपालिकाबाट अध्यक्षका दावेदार जनार्दन अर्याल छन् ।

उनीहरुले भरतपुर १९ मा मतपत्र च्यातिएको घटनाले हाम्रो निर्वाचन प्रणाली र मतपत्रको सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै त्यस विषयको निरुपणमा भने राय राखेका छैनन् । अदालतमा विचाराधीन विषय भएकाले राय नराख्ने उनीहरुले अपिलमा उल्लेख गरेका छन् ।

अपिलमा भनिएको छ, ‘मतदान कार्य र मतगणना एकअर्काका परिपूरक हुन् । मतदान शरीर हो भने मतगणना आत्मा हो । मतदानका लागि पर्याप्त भौतिक तथा अन्य प्रशासकीय व्यवस्था गरिएको भए पनि मतगणनाका लागि भने त्यस्तो व्यवस्था पर्याप्त नगरिएको तथ्यहरुले स्पष्ट पारिसकेको छ । मतगणनालाई पनि मतदान जसरी नै महत्व दिएर आवश्यक व्यवस्था गरिनुपर्छ ।’

‘मतदान जति स्वच्छ र निष्पक्ष हुनुपर्छ, मतगणना पनि त्यति नै विवाद रहित र निष्पक्ष हुनुपर्छ, तबमात्र निर्वाचनप्रति जनविश्वाश आर्जन हुनसक्छ भन्ने शिक्षा सबैले लिन आवश्यक छ’ उनीहरुले अपिलमा लेखेका छन् । 

मतपत्र च्यातिने घटना दोहोरिन नदिन उनीहरुले केही उपाय पनि सुझाएका छन् । मतगणना स्थलमा संचारकर्मीलाई निर्वाध प्रवेश दिनुपर्ने, मतगणना स्थलको भिडियो रेकर्डिङको व्यवस्था गर्नुपर्ने, मतगणना स्थलमा उपस्थित हुने अख्तियार प्राप्त जो कसैले भिडियो र फोटो खिच्न दिइनुपर्ने सुझाव अगाडि सारेका छन्। 

मतगणनामा केके विषयमा विवाद हुन्छ भन्ने अनुभव सबैलाई भइसकेको भन्दै विवाद निरुपणका लागि पहिले नै ठोस विधि तय गर्न उनीहरुले सुझाएका छन् । त्यसैगरी मतदानको बेला कर्मचारीले अभिलेख राख्दा गल्ती गर्नाले पनि मतगणनामा विवाद भएको भन्दै उनीहरुले कर्मचारीले प्रभावकारी काम गर्नुपर्ने बताएका छन् ।

मतपत्रको सुरक्षा राज्यको गम्भीर दायित्व हो भन्दै उनीहरुले निर्वाचन आयोग तथा सरकार सहित सबैको ध्यानाकर्षण गराएका छन् ।

अपिलको पूर्ण पाठ

मतगणनाको विधि र प्रकृयामा सुधार गर्न अपिल

मुलुक स्थानीय तहको दोस्रो चरणको मतदानको संघारमा छ । दोस्रो चरणमा उम्मेदवार बन्नुभएका सबै उम्मेदवारहरुप्रति शुभेच्छा प्रकट गर्दै सम्पूर्ण मतदाताहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न हार्दिक अपिल गर्दछौं । 

पहिलो चरणको निर्वाचनले हामीलाई कैयन प्रकारका गम्भीर शिक्षा दिएको छ । मुख्यत भरतपुर महानगरपालिका वडा नम्बर १९ मा भएको घटनाले हाम्रो निर्वाचन प्रणाली तथा मतपत्रको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । भरतपुर प्रकरण सर्वाेच्च अदालतमा विचाराधीन विषय भएकाले यसमा हामी कुनै राय राख्न चाहँदैनौं तर सो घटनाले पढाएको पाठ सबैको साझा विषयवस्तु बन्न आवश्यक छ । जुन पाठलाई हामीले दोस्रो चरणको मतदान र मतगणनामा व्यवहारमा उतार्न आवश्यक देखिन्छ । भरतपुर १९ प्रकरणले मतपत्र तथा मतगणना स्थलको सुरक्षा बारे गम्भीरतासाथ पुर्नविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । 

मतदान गोप्य कार्य हो तर मतगणना खुल्ला र पारदर्शी विषय हो । भरतपुर घटनापछि निर्वाचन आयोगले मतगणना कार्यमा केही परिमार्जन गरेको छ तर त्यो पर्याप्त नहुन सक्छ । त्यसैले आगामी दिनमा मतगणना स्थलमा भिडियो क्यामरा लगाउन आवश्यक देखिन्छ । त्यसबाहेक मतगणना स्थलमा रहने अख्तियार प्राप्त व्यक्तिहरुलाई फोटो तथा भिडियो खिच्न अनुमति दिइनु आवश्यक छ । मतगणना स्थलमा क्यामरा प्रयोगमा निषेध गर्नुको कुनै औचित्य देखिँदैन बरु यो अत्यावश्यक देखिएको छ । त्यसैगरी मतगणना स्थलमा संचारकर्मीको व्यवस्थित र निर्वाध प्रवेशको व्यवस्था गरिनुपर्छ । यसो गरिएमा पनि मतगणना स्थलमा भरतपुर १९ को जस्तो घटना दोहोरिन सक्ने सम्भावना न्यून हुनसक्छ । कथंकदाचित त्यस्तो घटना भएमा पनि अन्यौलको अवस्था उत्पन्न हुँदैन र सम्बन्धितलाई कारवाहीको दायरामा ल्याउन सजिलो हुनेछ र घटना सम्बन्धमा निर्विवाद निर्णय लिन सक्ने अवस्था पनि हुनेछ । 

मतदान कार्य र मतगणना एकअर्काका परिपूरक हुन् । मतदान शरीर हो भने मतगणना आत्मा हो । मतदानका लागि पर्याप्त भौतिक तथा अन्य प्रशासकीय व्यवस्था गरिएको भए पनि मतगणनाका लागि भने त्यस्तो व्यवस्था पर्याप्त नगरिएको तथ्यहरुले स्पष्ट पारिसकेको छ । मतगणनालाई पनि मतदान जसरी नै महत्व दिएर आवश्यक व्यवस्था गरिनुपर्छ । मतगणना छिटो छरितो र धाँधली रहित गर्नका लागि पर्याप्त जनशक्तिको व्यवस्था गरिनुपर्दछ । त्यसैगरी मतगणना विधिलाई ठोस बनाइनुपर्छ, मतगणनाको क्रममा आउने सम्भावित विवाद केके हुनसक्छन् भन्ने लगभग पहिचान भइसकेका छन् र त्यस्ता विवाद निरुपणका लागि विधि निर्माण गरिनुपर्छ ।

मतपत्रमा हस्ताक्षर गर्दा कर्मचारीले लापर्वाही गर्ने, मुचुल्का तयार गर्दा गल्ती गर्ने, खसेको मत संख्याको अभिलेखमा त्रुटी गर्ने आदि कारणले पनि मतगणनामा विवाद हुने गरेको छ । यस सम्बन्धमा निर्वाचन आयोगले ठोस मापदण्ड र विधि बनाएको छ तर त्यसको पालना नहुँदा समस्या आउने गरेको छ । यस्ता विधि प्रकृया कडाईका साथ लागू गर्न आवश्यक देखिएको छ । मतदान जति स्वच्छ र निष्पक्ष हुनुपर्छ, मतगणना पनि त्यति नै विवाद रहित र निष्पक्ष हुनुपर्छ, तबमात्र निर्वाचनप्रति जनविश्वाश आर्जन हुनसक्छ भन्ने शिक्षा सबैले लिन आवश्यक छ ।

नेपालमा मात्र नभएर विश्वभरी नै निर्वाचन प्रणाली सधैं बहस र विवादको विषय बन्ने गरेको छ । निर्वाचन प्रणालीमा निरन्तर सुधार र परिमार्जनको आवश्यकता हुन्छ भन्ने तथ्य सबैले मनन गर्नुपर्छ । अब हाम्रोमा मतगणना पनि बहसको विषय बनेको छ र यसलाई सामान्य रुपमा लिइनु हुँदैन । निर्वाचनको यो महान घडीमा मतगणनाको विधि र प्रकृया सम्बन्धमा पनि बहस गर्दै सुधारका लागि ठोस काम गर्न आवश्यक देखिएको छ । 

उम्मेदवारहरु तथा राजनीतिक दलहरुलाई चुनावमा हुने हारजितलाई सम्मानका साथ ग्रहण गर्न हामी अपिल गर्दछौं र निर्वाचनको पवित्रतामा आँच आउने कुनै काम नगर्न हार्दिक अपिल गर्दछौं ।

यी विषयहरुका साथै मुख्यत मतपत्रको सुरक्षा राज्यको गम्भीर दायित्व हो र मतपत्रको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन पनि हामी निर्वाचन आयोग, नेपाल सरकार तथा सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं । 
जय नेपाल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ