arrow

राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमानै कीर्तिमान 

कुन खेलमा के के भयो ?

logo
प्रकाशित २०७४ असार २४ शनिबार
running_shield.jpg

काठमाडौं । नवौं राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान कायम भएको छ । तीनै कीर्तिमान छात्रतर्फ सम्भव भए । 

पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका अजितकुमार यादवले ३ हजार मिटर दौड र मध्यमाञ्चलकै भुवन महतोले लङजम्पमा कीर्तिमान रचे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशान गुरुङले १५.०१ मिटर टाढा फाल्दै गत संस्करणमा मध्यपश्चिमाञ्चलका तिलक नेपालीले बनाएको १४.५४ मिटरको कीर्तिमान तोडे । प्रतियोगिताको पहिलो दिन शनिबार १ हजार ५ सय मिटर दौडमा पनि कीर्तिमान रचेका अजितले ३ हजार मिटर दूरी ८ मिनेट ५६.१७ सेकेन्डमा पूरा गर्दै गत संस्करणमा आफैले स्थापित गरेको ९ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरे । 

त्यस्तै भुवन महतोले ६.५३ मिटर जम्प लगाउदै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए । उक्त कीर्तिमान २०४४ सालमा तत्कालीन वीरेन्द्र सिल्ड प्रतियोगितामा धनवीर चौधरीको नाममा थियो । त्यसबेला धनीवरले ६.४१ मिटरको कीर्तिमान बनाएका थिए ।

छात्रा सटपुरमा पश्चिमाञ्चलकी अस्मिता शेर्पाली पहिलो भइन् । अस्मिताले ८.९० मिटर फालिन् । छात्रा ३ हजार मिटर दौडमा राममाया बुढा पहिलो भइन् । निर्धारित दूरी राममायाले ११ मिनेट २३.९ सेकेन्डमा सिध्याइन् । छात्रा लङजम्पमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन् । जयरानीले ४.७२ मिटर हामफालिन् ।

छात्र ८ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवार पहिलो भए । उनले २ मिनेट ००.६७ सेकेन्डमा दौड सकाए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी सुष्मा सिंहले निर्धारित दूरी २ मिनेट ३४.८८ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थान कब्जा गरिन् ।

छात्र १ सय मिटर दौडमा मध्यचमाञ्चलका आशिष खत्री पहिलो भए । उनले ११.०५ सेकेन्ड समय खर्चे । त्यसै स्पर्धाको छात्रामा १३.४९ सेकेन्डमा दूरी तय गरेकी मध्यमाञ्चलकै लुजःला अमात्य पहिलो भइन् । छात्रा २ सय मिटर दौड पनि आशिष पहिलो भए । उनले २३.२९ सेकेन्ड समय लगाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो र पश्चिमाञ्चल तेश्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चल पहिलो, मध्यमाञ्चल दोश्रो र पूर्वाञ्चल तेश्रो बने ।

कराँते: पश्चिमाञ्चल च्याम्पियन

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेमा पश्चिमाञ्चल टिम च्याम्पियन बनेको छ । पश्चिमाञ्चलले ४ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ मध्यमाञ्चल दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमाञ्चलले १ स्वर्ण र २ कांस्य जित्यो ।

कराँतेको अन्तिम दिन छात्रा ४५ केजीमा पश्चिमाञ्चलकी मोनु तामाङ, छात्र ५२ केजीमा पश्चिमाञ्चलका अंकित गुरुङ, छात्र एकल कातामा पश्चिमाञ्चलका बुद्ध लामा, छात्रा एकल कातामा पश्चिमाञ्चलकी रश्मि पाण्डे तथा छात्रा ५० केजीमा सुदूरपश्चिमाञ्चलकी लक्ष्मी विष्टले स्वर्ण जिते ।

उसु:  एलिशा सर्वोत्कृष्ट

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिमाञ्चलकी एलिशा खाती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

उसुको अन्तिम दिन नान छ्वानको छात्रमा अजय तामाङ र छात्रामा रसु तामाङले स्वर्ण जिते । थाइची छ्वानको छात्रमा मनीष बुढाथोकी र छात्रामा ज्योति तामाङले पहिलो स्थान हात पारे । विजेता चारै मध्यमाञ्चलका हुन् ।

तेक्वान्दो: मध्यमाञ्चललाई उपाधि

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको तेक्वान्दोमा मध्यमाचल ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको छ । १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मध्यपश्चिमाञ्चल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पार्‍यो ।

छात्रको ४५ केजीमा मध्यमाञ्चलका पुजन खड्का, ४८ केजीमा मध्यपश्चिमाञ्चलका लक्ष्मण गुरुङ र ५१ केजीमा मध्यमाञ्चलका सैलेश गिरी पहिलो भए । त्यस्तै छात्राको ४२ केजीमा मध्यमाञ्चलकी अस्मिता महर्जन, ४४ केजीमा पश्चिमाञ्चलकी पूजा पुराहा र ४६ केजीमा मध्यमाञ्चलकी योगमाया श्रेष्ठले स्वर्ण जिते ।

भलिबल:

नवौ राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगिता अन्र्तगत भलिबलमा मध्यमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चलका महिला र पुरुषका दुवै टोलीले आ–आफ्नो खेल जितेका हुन् । शुक्रबार भएको पुरुष तर्फको खेलमा पश्चिमाले सुदुर पश्चिमाञ्चललाई २५–१३, २५–२२, मध्यमाञ्चलले पुर्वाञ्चललाई २३–२५, २५–१३ र २५–२१, मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–२० र २५–२१ तथा पूर्वाञ्चलले सुदूरपश्चिमाञ्चललाई २८–२६ र २५–१९ को सेटमा पराजित गरेको हो ।

यस्तै, शुक्रबार नै भएको महिला तर्फको पहिलो खेलमा पश्चिमाञ्चलले सुदूर पश्चिमाञ्चललाई २५–१४ र २५–१० को सोझो सेटमा पराजित गरेको छ । यस्तै, मध्यमाञ्चलले पूर्वाञ्चललाई  २५–१६ र २५–४, मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई २५–१३ र २५–२२ तथा पूर्वाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१४, २०–२५ र २५–१० को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा शनिबार महिला तर्फ पूर्वाञ्चल र पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल बीच खेल हुनेछ । उता पुरुष तर्फ भने पश्चिमाञ्चलले पूर्वाञ्चलको सामना गर्दा अर्को खेलमा मध्यपश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चल सँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा शीर्ष टोलिलाई पहिलो, दोस्रो र तेस्रो घोषण गरिनेछ ।

क्रिकेट:

नवौ राष्ट्रपति रनिङ सिल्डको क्रिकेटमा पूर्वाञ्चल फाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चललाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मध्यमाञ्चचले निर्धारित ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र ९६ रन जोडेको थियो । ९७ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले प्रस्तुत लक्ष्य मात्र ५ विकेटको क्षतिमा भेटाउँदा ५ विकेटले विजयी भएको हो । पूर्वाञ्चलका लागि अमित यादवले सर्वाधिक ३० रन जोडे भने बलिङ तर्फ मध्यमाञ्चलका गौतम केसीले २ विकेट हात पारे ।

यस्तै, शुक्रबार नै भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल लाई २४ रनले पराजितग गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सुदुर पश्चिमाञ्चलले निर्धारित २० ओभरको समाप्तिमा १ सय ४० रनज जोड्न सफल भएको थियो । खेलमा सुदुर पश्चिमाञ्चलका लागि गजेन्द्र बोहोराले सर्वाधिक ४२ रन जोडेका थिए । जवाफी ब्याटिङमा मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय १६ रन जोडेको थियो । मध्यपश्चिमाञ्चलका लागि प्रविन बमले सर्वाधिक १६ रन जोडेका थिए ।

फुटबल: मध्यपश्चिमाञ्चल फाइनलमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नकआउट फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल फाइलनमा प्रवेश गरेको छ । मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो । फाइनलमा मध्यपश्चिमाञ्चलको भेट मध्यमाञ्चलसंग हुनेछ ।

छात्रामा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै फाइलनमा स्थान सुरक्षित ग¥यो । निर्धारित ६० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । उपाधिका लागि मध्यमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ । दुवै फाइनल शनिबार हुनेछ ।

कबड्डी: पश्चिमाञ्चल शीर्ष स्थानमा

कीर्तिपुरमा भइरहेको छात्र कबड्डीमा पश्चिमाञ्चल शीर्ष स्थानमा छ । पाँच टिम सहभागी राउन्ड रोविन लिगको प्रतिस्पर्धामा पश्चिमाञ्चलले सर्वाधिक ९ अंक जोडेको छ । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समान ६–६ अंकसाथ दोश्रो स्थानमा छन् ।

छात्रातर्फ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समान ९–९ अंकसाथ संयुक्त रुपमा पहिलो स्थानमा रहेका छन् । दोश्रो स्थानमा रहेको पश्चिमाञ्चलले ६ अंक जोडेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ