arrow

'फलिफाप हुनुछ भने एमालेसँग मिल्नुस, सर्वनास हुनुछ भने अन्तै जानुस्'

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
manpower_dele.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन नेकपा माओवादी केन्द्रका नेताहरुलाई प्रस्ताव राखेका छन् । नेपाली जनता बामपन्थी पक्षधर रहेपनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढ्न नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्ने प्रस्ताव राखेका हुन् ।

‘म माओवादी केन्द्रका नेताहरुलाई भन्छु, चुनाव जित्नुछ भने एमालेसँग मिल्नोस, अव सती नै जानु छ, सर्वनास नै हुनु छ भने त के गर्नु ? सती गएर कसैले जित्दैन, सर्वनाश होइन्छ, केही कमजोरी भएको छ, तर ढिला नै त भइसकेको छैन, अब सोचेर अघि बढनोस, चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस,’ नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित पदाधिकारीलाई आफ्नै निवास बोकोटमा बोलाएर बधाई तथा शुभकामना दिँदै ओलीले भने ।

उनले एमाले र माओवादी केन्द्र मिलेर जाँदा नै मुलक र जनताले लाभ प्राप्त गर्ने बताए । ‘अव एमाले र माओवादी सवैतिर मिलेर बामपन्थीमय बनाउनु पर्छ नेपाल, मिलिन्छ भने मिलेर बनाउनु पर्छ, मिलिदैन भने एमाले एक्लैले बामपन्थीमय बनाउँछ नेपाललाई,’ ओलीले भने, ‘एमाले माओवादीसँग मिलेर नै मुलुकलाई बामपन्थीमय बनाउन चाहन्छ । कांग्रेसले यो देशलाई धेरै दुख दिइसकेको यथार्थ बुझन अव माओवादीले ढिलाइ गर्न हुन्न ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अव जहाँ चुनाव भएपनि एमाले र एमालेसँग सहकार्य गर्ने, मिलेर चुनावमा जाने शक्ति बिजयी हुने ठोकुवा गरे । ‘अव एमाले जहाँ जहाँ चुनाव लडछ, जित्छ, एमालेसँग जो मिलेर चुनावमा जान्छ, उस्ले पनि जित्छ । जस्ले सहकार्य गर्छ, बिजयी हुन्छ, जस्ले एमाले छाडेर अरुतिर सहकार्य गर्छ, चुनावमा ऊ हार्छ,’ ओलीले भने । उनले संघमा एमाले र माओवादी केन्द्रबीचको सहकार्यलाई राम्रो कामको थालनीको संज्ञा दिए ।

अब यहाँ (संघ) मात्रै होइन, सवैतिर एमाले र माओवादी मिल्नुपर्छ, जित्नुपर्छ अनि देशलाई कांग्रेसको कलंकित काम र दुःखबाट मुक्त गराउनु पर्छ,’ ओलीले भने । उनले चुनाव सकिएपछि पछुताउने काम नगर्न माओवादी केन्द्रलाई सुझाव दिए । 

ओलीले स्थानीय तह निर्वाचनमा कांग्रेसले यति धेरै स्थानमा जित्नुको पछाडि जनतालाई भ्रम चिर्न आफुहरुले नसकेको परिणाम रहेको बताउनु भयो । ‘स्थानीय तहको दुई चरणको निर्वाचनमा एमाले प्रमुख पार्टी त भयो तर आश्चर्य, कांग्रेसलाई यत्रोबिघ्न भोट कसरी आयो ? यस्को अर्थ हो, एमालेले जनतालाई भ्रमबाट मुक्तगर्त अझै धेरै काम गर्नुपर्छ,’ ओलीले भने ।

ओलीले अवको नेपाल बामपन्थीकै हातमा हुने ठोकुवा पनि गरे। ‘आजको नेपालको यथार्थ र भोलिको नेपालको यथार्थ भनेको बामपन्थी शक्ति नै हो । अहिले देशमा एउटा हावा चलेको छ, बामपन्थी तर नामवाला बामपन्थी मात्रै । नामवाला बामपन्थीको जनसमर्थन, मत, उनीहरुको हैसियत बहुत सुदृढ छ नेपालमा । तर त्यसलाई दुनियाभरीकै प्रतिक्रियावादी शक्तिहरु, नेपाल बिरोधी शक्तिहरु, नेपालका प्रगतिबिरोधी शक्तिहरु तिनलाई फुटाउने, छिन्नभिन्न बनाउने मिल्न नदिने काम गरिरहेका छन, अहिले त्यस्तै भइरहेको छ, यस्तो बेलामा तपाईहरु मिल्नुभयो । बामपन्थी शक्तिहरुको एकताको औचित्य र आवश्यकता पुष्टि गर्नुभयो । यो निकै महत्वपुर्ण छ,’ ओलीले भने । 

ओलीले अव कांग्रेसको कुनै कु प्रचारतिर नलागी बामपन्थी शक्तिहरुले आफ्नो हैसियतअनुसार मुलुकलाई उन्नतीको दिशामा लैजानु पर्ने बताउनु भयो । ‘अवको नेपालमा देशभक्ति भनेको बामपन्थी आन्दोलन हो, लोकतन्त्र भनेको आन्दोलन बामपन्थी आन्दोलन हो, सामाजिक न्याय, र समानता भनेको बामपन्थी आन्दोलन हो, सामाजिक सदभाव र राष्ट्रिय एकता भनेको बामपन्थी आन्दोलन हो र अव संमृद्धिको नेतृत्व गर्ने भनेको बामपन्थी आन्दोलनले हो । जग जाहेर छ । एमालेले यस मामिलामा बिशेष ध्यान दिन्छ, नेतृत्व गर्छ,’ ओलीको भनाई थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ