arrow

ओलाङचुङगोलामा मोटरबाटो

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
olanchung_ma_bato.PNG

नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङवाट सुरु भएको मोटरबाटो शुक्रबार ओलाङचुङगोलामो आइपुगेको छ । 

ओलाङचुङगोला सिमा प्रहरी चौकी छेउसम्म मोटरवाटोको ट्रयाक खोलिएकोछ । त्यहाँसम्म दुइवटा स्काभेटर, एउटा लोडर र तेल बोक्ने ट्यांकर आइपुगेका छन् । निर्माण सुरु भएको सात महिना नपुग्दै चिनियाँ ड्राइभरले नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको वस्तीसम्मै सडक पुर्याएका हुन् । 
२१ किलोमिटर लामो यो बस्तीको सडक निर्माणको दुइ तिहाई बढी लगानी यही जन्मेर बाहिर बस्दै आएकाहरुले गरेका छन् । ३ करोडको हाराहारीमा खर्च भएको सडकका लागि २ करोड ५० लाख वालुङ समाजले संकलन गरेको हो । गाविस, सांसद विकास कोषको  ५३ लाख खर्च भएको उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङले वताए । यसअघि उत्तर दक्षिण लोकमार्ग आयोजनाले ८ लाख रुपैंयाँ खर्चिएको छ । 

गाउँको दुर्गमतालाइ हटाउन र बसाइसराइ रोक्न वालुङहरुले लगानी गरेको समाजका ताम्ला उक्यावले बताए । यसलाइ बाह्रै महिना चल्ने बनाउन भित्तामा नाली काट्ने, आवश्यक ठाउँमा ढल बनाउने र सडकमा पानी बग्न नदिने योजना उपभोक्ता समितिको छ । ट्रयाक खोलेर ल्याएका यिनै मेशिन अव फेरि सडक मजबुत बनाउदैं फर्कने र त्यसपछि लोडर लगाएर पेल्ने छेतेन बताउँछन ।उपभोक्ता समितिले निर्माणको जिम्मा चिनियाँ ठेकदार कम्पनीलाई दिएको छ । तर यसको नियमित अनुगमन भने चिनियाँ प्रशासनले गरिरहेको छेतेनले बताए । ‘कहीं नराम्रो बनाए र गुणस्तरहिन भए उनीहरुले (तिब्बती प्रशासन) नै सुधार गर्न लगाउँछन, हामीले गुनासो गरेपुग्छ’ छेतेनले भने । 

सडक निर्माणको क्रममा तमोर दनीलाइ दुईठाउँमा तारिएको छ । टिप्तालावाट तमोरको बाँया र गोलावाट दाया किनार पारेर खनिएको सडक मौवाटार छेउमा पुग्दा भासिएपछि र मेशिन समेत चलाउन सक्ने अवस्था नभएपछि नदी तारिएको हो । अहिलेको अवस्थामा नदीमा अव दुइठाउँमा मात्रै पुल हाले हुने भएको छ । मान्छेलेनै बिनापुल तर्न सकिने भएकाले पुल नभएपनि यातायात सञ्चालनमा भने कठिनाइ नहुने स्थानियबासी बताउँछन । 

यसरी भएको थियो सडक निर्माण
सदरमुकाम फुङलिङवाट ओलाङचुङगोला हुँदै टिप्ताला भञ्ज्याङसम्मको सडक २०६६ सालमा सुरु भएको हो । उत्तरी नाका जोड्ने यो सडकलाइ प्राथमिकता दिंदै सरकारले सदरमुकाम फुङलिङमा ‘उत्तर दक्षीण लोकमार्ग ओलाङचुङगोला आयोजना’ को कार्यालयनै स्थापना गर्यो । पहिलो वर्ष ८ करोड रुपैंयाँ बिनियोजन भयो र सुकेटार विमानस्थल छेउवाट निर्माण कार्य सुरु गरियो । तर क्रमिकरुपमा सडकको प्राथमिकता घट्यो । यसका लागि वार्षिक ३ करोड रुपैंयाँ मात्रै बिनियोजन हुनथाल्यो । 


बहुवर्षीय ठेक्का सम्मपनि परेन । कम वजेट र कम प्राथमिकता भएपछि ओलाङचुङगोलामा जन्मेर काठमाण्डौं, अमेरिका, वेलायतलगायतका देशमा रहेका वालुङहरु संगठित भए र चीनको सिमानावाट निर्माण सुरु गर्ने निर्णय गरे । काठमाडौमा बस्दै आएका समाजका एक सदस्य तथा पूर्व प्रशासक ताम्ला उक्यावका अनुसार यस्कालागि तीनवटा बिकल्प तयार पारियो । पहिलो, चीन सरकारलाइ भाडामा मेशिन माग्ने, यसका लागि कुटनीतिक पहल गरिदिन नेपाल सरकारलाइ अनुरोध गर्ने । दोश्रो, सिन्धुपाल्चोकको सडकमार्ग भएर नेपाली मेसिन तिब्बतको रिउ पुर्याउने र आफ्नै देशको मेशिनले सडक खन्ने । तेश्रो, हेलिकप्टरवाट मेशिन ढुवानी गर्ने र सिमानावाट खन्न थाल्ने ।  

सडक निर्माणका लागि सरकारले समुदायलाइ अनुमति दिनुपथ्र्यो । उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमुख कुवेर नेपालीले अनुमतीका लागि आवश्यक प्रकृया पुरामात्रै गरिदिएनन स्टमेटपनि तुरुन्तै बनाइदिए । निर्माणमा खटेका अमेरिकामा ब्यापार गर्ने तेञ्जिङ उक्याव नेतृत्वको टोलीले सांसद डम्वरध्वज तुम्वाहाम्फे मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिलाइ दुई पटक भेटेर निर्माणमा सहयोग गर्न ज्ञापन पत्र वुझाए ।

ओली सरकारले ज्ञापनपत्र बुझेपनि अनुमतिका लागि प्रकृया बढाएन । प्रचण्ड नेतृत्वको सरकारका भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकको निर्णय अनुसार परराष्ट्र मन्त्रालयलाइ सहयोगका लागि पत्र पठाइयो । परराष्ट्र मन्त्रालयले चिनियाँ दुतावासलाइ अनुरोध गर्यो र दुतावासले तुरुन्तै प्रकृया बढाइदियो । परिणामत ताप्लेजुङको एउटा बस्ती चिनसँग सडक सञ्जालले जोडिएको छ । 

सदरमुकाम फुङलिङवाट ओलाङचुङगोला जोड्ने सडक ४१ किलोमिटर ट्रयाक खुलेको छ र फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोक पुगेको छ । अब ३५ किलोमिटर ट्रयाक खुले ओलाङचुङगोलाको बस्तीसम्म पुग्छ । उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीका अनुसार यसका लागि सरकारले यो वर्ष ६० करोड रुपैंया बिनियोजन गरेको छ र बहुवर्षीय ठेक्कामा लगाउने निर्णय गरेको छ । तापेथोक र ओलाङचुङगोला दुईतिरवाट सडक बिस्तारका लागि ठेक्का लगाउनुपर्ने प्रस्ताव स्थानीयले गरेका छन । त्यसरी दुइतिरवाट ठेक्का लगाइए र निर्माण कार्य भए सडकले गति पाउने र केही बर्षमै सदरमुकामसँग जोडिने आयोजनाको समेत बुझाइ रहेको छ । सदरमुकाम फुङलिङ मेची राजमार्गले जोडिएको छ ।  

चारवटा मात्रै लाइन भएको ओलाङचुङगोलामा सुक्रबार दिनभरी टेलिफोन उठेन । मोवाइल नलाग्ने यहाँ बेलुकीपख टेवुल फोन उठाएकी पाशाङकी वालुङले भनिन् ‘हामी त दिनभरी मोटरबाटो खनेको हेरेको हेरेकै भयौं ।,’हर्सले भरिएको आवाजमा थपिन, ‘गाउँलेहरु खुसीले गद्गद् भएका छन् । केटाकेटी देखि बुढाबुढीसम्म सबैजना दिनभरी उतै गयौं । ड्राइभरहरुलाई बेलुका धुञ्ज्याङ गर्ने (सम्मान गर्ने) तयारी गर्दैछौं । (कान्तीपुर दैनीकबाट)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ